1. प्रेमको पछि लाग, तापनि आत्मिक वरदानहरूका निम्ति उत्कट इच्छा गर, विशेषगरी अगमवाणी बोल्नलाई।
2. किनकि अन्यभाषामा बोल्नेले मानिसहरूसित होइन तर परमेश्वरसित बोल्दछ। उसले बोलेको कसैले बुझ्दैन, किनभने उसले आत्मामा रहस्यका कुरा बोल्दछ ।
3. तर जसले अगमवाणी बोल्दछ, उसले मानिसहरूको आत्मिक वृद्धि, उत्साह र सान्त्वनाको निम्ति बोल्दछ।
4. अन्यभाषामा बोल्नेले आफ्नै सुधार गर्छ तर अगमवाणी बोल्नेले मण्डलीको सुधार गर्छ।
5. तिमीहरू सबै अन्यभाषा बोल भन्ने म चाहन्छु, तर त्यसभन्दा अझ बढी तिमीहरूले अगमवाणीको वचन ल्याएको म चाहन्छु, किनकि अन्यभाषामा बोल्नेले मण्डलीको सुधारको निम्ति त्यसको अर्थ खोलेन भने अगमवाणी गर्ने नै अन्यभाषा बोल्नेभन्दा श्रेष्ठ हुन्छ।
6. प्रिय भाइहरू हो, यदि म तिमीहरूकहाँ आउँदा अन्यभाषा बोल्दै आएँ, तर प्रकाशद्वारा वा ज्ञानद्वारा वा अगमवाणीद्वारा वा शिक्षाद्वारा तिमीहरूलाई मैले केही बताइनँ भने मबाट तिमीहरूलाई के फाइदा हुनेछ र?
7. बाँसुरी वा वीणाजस्ता निर्जीव वस्तुहरूका पनि त सुर हुन्छन् तर यदि ती वस्तुहरूका सुरमा भिन्नता भएन भने के बजाएको हो भनी सुन्नेले कसरी बुझ्ने?
8. किनकि तुरहीले स्पष्ट आवाज निकालेन भने लडाइँका निम्ति कसले आफैलाई तयार पार्दछ र?
9. तिमीहरूसँग पनि यस्तै हुन्छ। यदि बुझ्नै नसकिने शब्द तिमीहरू आफ्नो जिब्रोले बोल्दछौ भने तिमीहरूले के भनिरहेछौ सो कसले बुझ्ने? तिमीहरू त हावामा बोलिरहेझैँ हुनेछौ।
10. संसारमा सायद अनेकौं भाषाहरू छन् र ती कुनै पनि अर्थहीन छैनन्।
11. यदि बोलेको भाषाको अर्थ मैले बुझिनँ भने त बोल्नेको निम्ति म विदेशी हुन्छु र त्यो बोल्ने मेरोनिम्ति विदेशी हुनेछ।
12. यसरी नै तिमीहरू पनि आत्मिक वरदानहरूका निम्ति उत्सुक भएका हुनाले मण्डलीको निर्माणको काममा श्रेष्ठता हासिल गर्ने कोशिश गर।
13. यसकारण अन्यभाषामा बोल्नेले त्यसको अर्थ खोल्ने शक्तिको निम्ति प्रार्थना गरोस्।
14. किनकि मैले अन्यभाषामा प्रार्थना गर्दा मेरो आत्माले प्रार्थना गर्दछ, तर मैले बोलेका कुरा म आफै बुझ्दिनँ।
15. त्यसो भए म के गरुँ? म आत्मामा प्रार्थना गर्नेछु र समझले पनि प्रार्थना गर्नेछु। आत्मामा स्तुति गाउनेछु र समझले पनि स्तुति गर्नेछु।
16. यदि तिमीले आत्मामा मात्र परमेश्वरको प्रशंसा गर्दा कुरा नबुझ्नेले तिमीसितै कसरी ‘‘आमेन्’’ भन्ला? तिमीले के भन्दैछौ सो नबुझ्नेले परमेश्वरलाई कसरी धन्यवाद चढाउने त?
17. तिमीले त राम्ररी धन्यवाद दिइरहेका हुन्छौ, तर अरु मानिसहरूको जीवनमा त्यसले आत्मिक वृद्धि गर्दैन।
18. म परमेश्वरलाई धन्यवाद चढाउँछु। म तिमीहरू सबैले भन्दा बढी अन्यभाषामा बोल्दछु ।
19. तापनि मण्डलीमा सङ्गति हुँदा अन्यभाषामा दश हजार शब्द बोल्नुभन्दा त बरु बुझ्न सकिने पाँचवटा शब्द म बोल्दछु, यसैले कि म अरुहरूलाई शिक्षा दिनसकूँ।
20. प्रिय भाइहरू हो, सोचविचारमा बालकझैँ नबन। खराबीको कुरामा बालकजस्तै बन, तर सोचविचारमा वयस्क बन।
21. व्यवस्थामा यो लेखिएको छ, ‘‘अनौठो भाषा बोल्ने मानिसहरूबाट र विदेशीका ओठबाट यी मानिसहरूसँग म बोल्नेछु तर पनि तिनीहरूले मेरो कुरा सुन्नेछैनन्,’’ परमप्रभु भन्नुहुन्छ।
22. यसकारण अन्यभाषा विश्वासीहरूको निम्ति होइन तर विश्वास नगर्नेहरूका निम्ति चिन्ह हो। त्यसरी नै अगमवाणी विश्वासीहरूको लागि हो, विश्वास नगर्नेहरूका लागि होइन।
23. यदि सम्पूर्ण मण्डली जम्मा भएर अन्यभाषामा बोले भने अनि विश्वास नगर्ने र नबुझ्ने मानिसहरू त्यहाँ आए भने के तिनीहरूले तिमीहरूलाई बौलाहा भन्नेछैनन् र?
24. तर सबैले अगमवाणी बोलिरहेका बेला कोही विश्वास नगर्ने वा कुरा नबुझ्ने त्यहाँ आयो भने, ऊ सबैद्वारा पापको कायल हुनेछ र सबैद्वारा जाँचिनेछ,
25. उसका हृदयका गुप्त कुरा प्रकट गरिनेछ र घोप्टो परेर उसले परमेश्वरलाई पुज्नेछ अनि उसले ‘परमेश्वर तिमीहरूका माझमा हुनुहुन्छ’ भनी घोषणा गर्नेछ।
26. भाइहरू हो, अब हामी के भनौं त? तिमीहरू एकसाथ जम्मा हुँदा, हरेकसँग भजन वा शिक्षा, प्रकाश, अन्यभाषा वा अर्थ खोलाइ हुन्छ तर हरेक कुरा आत्मिक निर्माणको निम्ति गरियोस्।
27. यदि कोही अन्यभाषामा बोल्छ भने दुई वा बढीमा तीन जना पालैपालो गरी बोलोस् र एक जनाले त्यसको अर्थ खोलिदेओस्।
28. तर यदि अर्थ खोल्ने कोही नभए, बोल्ने मानिस मण्डलीको सभामा चुप रहोस् र ऊ आफैसँग र परमेश्वरसँग बोलोस्।
29. अनि अगमवाणी बोल्ने दुई अथवा तीन जना होऊन् र अरुले, तिनीहरूले बोलेका कुरा राम्ररी जाँच गरून्।
30. तर त्यहाँ बस्ने कुनै एक जनालाई प्रकाश आयो भने पहिले बोल्ने चुप लागोस्।
31. यसरी तिमीहरू सबैले एकपछि अर्को गर्दै अगमवाणी बोल्नसक्छौ र यसरी नै सबैले सिक्न र उत्साह पाउन सक्छन्।
32. अगमवक्ताहरूका आत्मा अगमवक्ताहरूकै अधीनमा हुन्छन्।
33. किनकि उहाँ गोलमालका परमेश्वर हुनुहुन्न तर उहाँ शान्तिका परमेश्वर हुनुहुन्छ, जसरी पवित्रजनका सबै मण्डलीहरूमा छ।
34. स्त्रीहरू मण्डलीको सभामा चुपचाप रहून्। तिनीहरूलाई बोल्ने अनुमति छैन तर व्यवस्थाले भनेझैँ तिनीहरू अधीनमा रहून्।
35. यदि तिनीहरूले केही कुरा सोध्न परे आ-आफ्ना पतिलाई घरमा पुगेर सोधून्, किनभने मण्डलीमा स्त्रीहरू बोल्नु शर्मको कुरा हो।
36. अथवा के परमेश्वरको वचन तिमीहरूबाट निस्क्यो? कि के तिमीहरूकहाँ मात्र आयो?
37. यदि कसैले आफूलाई अगमवक्ता अथवा आत्मिक मानिस सम्झन्छ भने मैले लेखेको कुरा प्रभुको आज्ञा हो भन्ने उसले स्वीकार गरोस्।
38. यदि कसैले यसको वास्ता गर्दैन भने, त्यसको पनि वास्ता गरिनेछैन।
39. यसकारण मेरा भाइहरू हो, अगमवाणी बोल्नलाई उत्कट इच्छा राख र अन्यभाषा बोल्नेहरूलाई मनाही नगर।
40. तर सबै काम शिष्टतापूर्वक र सुव्यवस्थित ढङ्गले हुनुपर्छ।
|