1. भाइहरू हो, तिमीहरूकहाँ हाम्रो प्रवेश व्यर्थ नभएको तिमीहरू आफै जान्दछौ।
2. तर फिलिप्पीमा हामीले कस्तो नराम्रो प्रकारले दु:ख भोग्यौं भन्ने कुरा पनि तिमीहरू जान्दछौ। परमेश्वरमा हामी घोर विरोधमा पनि तिमीहरूकहाँ परमेश्वरको सुसमाचारको घोषणा गर्न साहसी भयौं।
3. किनकि हाम्रो अर्ती-उपदेश गल्ती वा अशुद्धता वा छलकपटद्वारा भएको होइन।
4. तर जसरी सुसमाचार हाम्रो जिम्मामा सुम्पनका निम्ति परमेश्वरले हामीलाई योग्य ठान्नुभयो, मानिसलाई होइन तर हाम्रो हृदयको जाँच गर्नुहुने परमेश्वरलाई खुशी तुल्याउनलाई नै हामी बोल्दछौं।
5. तिमीहरूलाई थाहै छ कि हामीले कहिल्यै चिप्लोघस्ने कुरा गरेनौं, न त लोभले बहाना नै गर्यौं, परमेश्वर यसको साक्षी हुनुहुन्छ ।
6. हामी ख्रीष्टका प्रेरितहरू भएकोले तिमीहरूमाथि बोझ बन्न सक्थ्यौं तर हामीले मानिसहरूबाट आदर खोजेनौं, न तिमीहरूबाट न त अरुहरूबाट नै।
7. आफ्ना बालकहरूको स्याहारसुसार गर्ने आमाझैँ हामी तिमीहरूका बीचमा कोमल भयौं।
8. हामीले तिमीहरूलाई यतिसम्म प्रेम गर्यौं कि परमेश्वरको सुसमाचार मात्र होइन तर तिमीहरू हाम्रो निम्ति प्रिय भएकोले तिमीहरूको खातिर आफ्नै जीवन पनि दिएका थियौं।
9. किनकि भाइ हो, हाम्रो कष्ट र परिश्रमको सम्झना तिमीहरूलाई छ। तिमीहरू कसैलाई बोझ नबोकाऔं भनेर दिनरात काम गर्दै हामीले परमेश्वरको सुसमाचार तिमीहरूलाई सुनायौं।
10. सबै विश्वासीहरूका अघि हाम्रो व्यवहार पवित्र, ठीक, निस्खोट थियो भन्ने कुराको तिमीहरू साक्षी छौ र परमेश्वर पनि हुनुहुन्छ।
11. बुबाले आफ्ना छोराछोरीहरूसित व्यवहार गरेझैँ हामीले तिमीहरूलाई कसरी अर्ती, उत्साह र आदेश दिँदै तिमीहरूसँग व्यवहार गर्यौं।
12. यस हेतुले कि तिमीहरूको चाल परमेश्वरको योग्यको होस्, जसले तिमीहरूलाई उहाँको आफ्नै राज्य र महिमामा बोलाउनुहुन्छ।
13. यसकारण यसको निम्ति हामी पनि परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछौं कि तिमीहरूले हामीबाट सुनेको वचन, जो वास्तवमा परमेश्वरको वचन हो, सो तिमीहरूले मानिसको वचनजस्तै होइन तर परमेश्वरको वचनजस्तै ग्रहण गर्यौ, जुन वचनले तिमी विश्वासीहरूमा काम गर्दछ।
14. किनकि भाइ हो, ख्रीष्ट येशूमा यहूदियामा भएका परमेश्वरको मण्डलीको देखासिकी गर्ने तिमीहरू भयौ, किनकि तिमीहरूका आफ्नै भाइहरूले भोगेका दु:ख तिमीहरूले पनि भोग्यौ, जो तिनीहरूले यहूदीहरूबाट भोगेका थिए।
15. जसले प्रभु येशू ख्रीष्टलाई र अगमवक्ताहरूलाई मारे र हामीलाई पनि बाहिर खेदे, तिनीहरूले परमेश्वरलाई अप्रसन्न तुल्याउँछन् र सबै मानिसहरूको विरोध गर्छन्।
16. अयहूदीहरूको मुक्ति हुन्छ भनेर तिनीहरूले हामीलाई उनीहरूसँग बोल्न मनाही गरेका छन्, यसरी तिनीहरूले आफ्नो पापमाथि पाप थपेका छन् तर अन्त्यमा परमेश्वरको क्रोध तिनीहरूमाथि परेको छ।
17. तर भाइ हो, थोरै समयका निम्ति तिमीहरूबाट हृदयमा होइन तर शरीरमा अलग पारिएकोमा हामीले बडो लालसासाथ तिमीहरूको अनुहार देख्नका निम्ति झन् बेसी प्रयत्न गर्यौं।
18. किनकि हामीले तिमीहरूकहाँ आउने इच्छा गरेका थियौं, विशेष गरी म, पावलले बारम्बार इच्छा गरेको थिएँ तर शैतानले हामीलाई रोकिदियो ।
19. हाम्रो आशा वा आनन्द वा रमाहटको मुकुट के हो? हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा उहाँको सामु के तिमीहरू नै होइनौ र?
20. किनकि तिमीहरू हाम्रो गौरव र आनन्द हौ।
|