1. तिमीहरू त आफ्ना पाप र अपराधहरूमा मरेका थियौ।
2. विगतमा तिमीहरू यस संसारको रीति, आकाशको शक्तिको राजकुमार र अहिले अनाज्ञाकारिताका सन्तानमा काम गर्ने आत्माअनुसार चल्दथियौ।
3. तिनीहरूमध्ये हामी पनि शरीर र मनको इच्छा पूरा गरेर आफ्नै शरीरको लालसामा चल्दथ्यौं र स्वभावैले अरुहरूजस्तै क्रोधका सन्तान थियौं।
4. तर असीम कृपाका परमेश्वरले उहाँको महान् प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो।
5. हामी अपराधमा मरेकै भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो(तिमीहरूले अनुग्रहद्वारा मुक्ति पाएका छौ)।
6. अनि उहाँसँग हामीलाई जीवित पार्नुभयो र स्वर्गका स्थानहरूमा हामीलाई बसाल्नुभयो।
7. यसैले कि हामीप्रति आउँदो युगमा ख्रीष्ट येशूमा भएको दयाको असीम अनुग्रह देखाउनलाई हो।
8. किनकि तिमीहरूले विश्वासद्वारा अनुग्रहबाट मुक्ति पाएका छौ र यो त तिमीहरू आफैद्वारा होइन, यो परमेश्वरको वरदान हो।
9. यो कर्मको प्रतिफल होइन, कसैले घमण्ड नगरोस्।
10. किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका, उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँडौं भन्ने विचारले परमेश्वरले अघिबाटै ती तयार गर्नुभएको थियो।
11. यसकारण याद राख, शरीरमा हातबाट खतना भएकाहरूले अघि एकपल्ट तिमीहरू, शरीरमा अयहूदीछँदा बेखतने भन्दथे।
12. तिमीहरू त्यसबेला ख्रीष्टविहीन, इस्राएलको नागरिक हकदेखि वञ्चित, प्रतिज्ञाका करारहरूबाट बिराना, आशा नभएका र यस संसारमा परमेश्वररहित भएका थियौ।
13. तर अब ख्रीष्ट येशूमा तिमीहरू जो अघि एक समय टाढा थियौ, ख्रीष्टको रगतद्वारा नजिक भएका छौ।
14. किनकि उहाँ स्वयम् नै हाम्रो शान्ति हुनुहुन्छ, जसले दुवैलाई एक बनाएर हामी बीचको बाधा ल्याउने पर्खाललाई भत्काइदिनुभएको छ।
15. उहाँले व्यवस्थालाई त्यसका आज्ञाहरू र धार्मिक-विधानहरूसमेत आफ्नै शरीरमा खारिज गरेर दुई मानिसलाई एक नयाँ मानिस बनाएर शान्ति स्थापना गर्नुभयो।
16. उहाँले क्रूसद्वारा हामी दुवैलाई एउटै शरीरमा परमेश्वरसँग मिलाप गराएर शत्रुतालाई नाश पार्नुभयो।
17. उहाँले आएर तिमी टाढा भएका र नजिक भएकाहरूलाई मिलापको सुसमाचार सुनाउनुभयो।
18. किनकि उहाँद्वारा नै हामी दुवैले एउटै पवित्र आत्मामा पिताकहाँ प्रवेश पाएका छौं।
19. यसरी अब तिमीहरू फेरि बिराना र विदेशी छैनौ, तर पवित्रजनसँग तिमीहरू सङ्गी-नागरिक र परमेश्वरका घरानाका मानिसहरू भएका छौ।
20. हामी, प्रेरित र अगमवक्ताहरूको जगमाथि निर्माण गरिएकाहरू हौं, येशू आफै मुख्य कुनेढुङ्गो हुनुहुन्छ,
21. जसमा पूरै घर एकसाथ जोडिएको छ र प्रभुमा पवित्र मन्दिर हुनलाई बढ्दै जान्छ।
22. जसमा तिमीहरू पनि आत्मामा परमेश्वरको वासस्थान हुनलाई एकसाथ निर्माण भइरहेका छौ।
|