1. तिमीहरूलाई ठेस नलागोस् भनेर मैले यी कुरा तिमीहरूलाई भनेको छु ।
2. तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट निकालिदिनेछन्। साँच्चै, यस्तो समय आउँदै छ, तिमीहरूलाई मार्नेहरूले परमेश्वरको सेवा गरिरहेको छु भनी ठान्नेछन्।
3. अनि तिनीहरूले यी काम गर्नेछन्, किनकि तिनीहरूले न त पितालाई, न मलाई चिनेका छन्।
4. मैले यी कुरा तिमीहरूलाई यसैकारण बताएको छु कि जब त्यो समय आउँछ, तब मैले तिमीहरूलाई चेताउनी दिएको थिएँ भनी तिमीहरूले स्मरण गर्नेछौ। यी कुरा मैले तिमीहरूलाई शुरुमा नै भनिनँ, किनकि म तिमीहरूसँग थिएँ।
5. तर अब मलाई पठाउनुहुनेकहाँ म जाँदै छु र तिमीहरूमध्ये कसैले पनि ‘तपाईं कहाँ जानुहुन्छ?’ भनी सोध्दैनौ।
6. तर मैले यी कुरा तिमीहरूलाई भनेको हुनाले तिमीहरूको हृदय शोकले भरिएको छ।
7. तापनि म तिमीहरूलाई साँचो भन्दछु, म जानुमा नै तिमीहरूको निम्ति भलाइ छ, किनकि म गइनँ भने सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन। तर यदि म गएँ भने उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु।
8. अनि जब उहाँ आउनुहुनेछ तब संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोषी ठहराउनुहुनेछ।
9. पापको विषयमा, किनकि तिनीहरूले मलाई विश्वास गर्दैनन्,
10. धार्मिकताको विषयमा, किनकि म पिताकहाँ जान्छु र तिमीहरूले मलाई फेरि कहिल्यै देख्दैनौ,
11. न्यायको विषयमा, किनकि यस संसारको शासकको न्याय अघि नै भइसकेको छ।
12. मैले तिमीहरूलाई भन्नुपर्ने कुरा अझ धेरै छन्। तर तिमीहरूले अहिले तिनलाई सहन सक्दैनौ।
13. सत्यका आत्मा जब आउनुहुन्छ, उहाँले नै तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ। उहाँले आफ्नैतर्फबाट बोल्नुहुनेछैन तर जे जे उहाँले सुन्नुहुनेछ त्यही बोल्नुहुनेछ । उहाँले नै तिमीहरूलाई पछि हुनआउने कुरा बताउनुहुनेछ।
14. जे मेरा हुन्, त्यसबाट लिएर त्यो तिमीहरूलाई प्रकट गरिदिएर उहाँले मेरो महिमा गर्नुहुनेछ।
15. पितासँग भएका सबै कुरा मेरा हुन्। त्यसैकारण जे मेरा हुन्, त्यसबाट लिएर आत्माले त्यो तिमीहरूलाई प्रकट गरिदिनुहुनेछ भनी मैले भनेको हुँ।
16. केही क्षणपछि तिमीहरूले मलाई देख्नेछैनौ र केही क्षणपछि तिमीहरूले मलाई फेरि देख्नेछौ।’’
17. उहाँका केही चेलाहरूले आपसमा भने, यो के हो, जो उहाँले हामीलाई भन्नुहुन्छ : ‘‘केही क्षणपछि तिमीहरूले मलाई देख्नेछैनौ र केही क्षणपछि तिमीहरूले मलाई फेरि देख्नेछौ किनकि म पिताकहाँ जान्छु।’’
18. त्यसकारण तिनीहरूले भने, ‘‘उहाँले ‘केही क्षणपछि’ भन्नुभएको अर्थ के हो? उहाँ के भन्दै हुनुहुन्छ हामी बुझ्दैनौं ।’’
19. तिनीहरूले उहाँलाई सोध्ने इच्छा गर्दै छन् भन्ने थाहा पाएर येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘ ‘केही क्षणपछि तिमीहरूले मलाई देख्नेछैनौ र केही क्षणपछि तिमीहरूले मलाई फेरि देख्नेछौ’ भनी मैले भनेको विषयमा के तिमीहरूले सोधपुछ गर्दै छौ?
20. साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ तर संसार रमाउनेछ । तिमीहरू शोकाकुल हुनेछौ तर तिमीहरूको शोक आनन्दमा बद्लिनेछ।
21. स्त्री सुत्केरी हुँदा कष्टमा पर्छे, किनकि त्यसले शिशु जन्माउने समय आएको हुन्छ तर शिशु जन्मिएपछि संसारमा एउटा मानिसको जन्म भयो भन्ने खुशीको कारण त्यसले त्यस कष्टलाई बिर्सन्छे।
22. यसरी नै तिमीहरूलाई अहिले दु:ख हुन्छ तर म फेरि तिमीहरूलाई भेट्नेछु र तिमीहरूको हृदय आनन्दित हुनेछ र तिमीहरूको आनन्द कसैले तिमीहरूबाट खोसेर लानेछैन,
23. अनि त्यस दिन तिमीहरूले मलाई केही सोध्नेछैनौ। साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरूले पितासँग जे मागौला, उहाँले मेरो नाउँमा तिमीहरूलाई दिनुहुनेछ।
24. अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ। माग र तिमीहरूले पाउनेछौ, अनि तिमीहरूको आनन्द पूर्ण हुनेछ।
25. यी कुरा मैले तिमीहरूलाई दृष्टान्तहरूमा भनेको छु जब त्यो समय आउँछ, तब म तिमीहरूलाई फेरि दृष्टान्तहरूमा भन्नेछैनँ तर पिताको विषयमा तिमीहरूलाई स्पष्टसँग बताउनेछु।
26. त्यो दिन तिमीहरूले मेरो नाउँमा माग्नेछौ र ‘म तिमीहरूका निम्ति पितालाई विन्ती गर्नेछु’ भनी तिमीहरूलाई भन्दिनँ।
27. किनभने पिता आफैले तिमीहरूलाई प्रेम गर्नुहुन्छ, किनकि तिमीहरूले मलाई प्रेम गरेका छौ र म परमेश्वरतर्फबाट आएको हुँ भनी विश्वास गरेका छौ।
28. म पिताबाट संसारमा आएँ र फेरि म संसारलाई छोडेर पिताकहाँ जाँदै छु।’’
29. तब उहाँका चेलाहरूले भने, ‘‘हेर्नुहोस्, तपाईं अहिले स्पष्टसँग बोल्दै हुनुहुन्छ र दृष्टान्तहरूमा होइन।
30. तपाईं सबै कुरा जान्नुहुन्छ र कसैले तपाईंलाई सोध्न आवश्यक छैन भनी अब हामी जान्दछौं, यसैमा तपाईं परमेश्वरतर्फबाट निस्किएर आउनुभएको हो भनी हामी विश्वास गर्दछौं।’’
31. येशूले तिनीहरूलाई जवाफ दिनुभयो, ‘‘के तिमीहरू अब विश्वास गर्दछौ?
32. हेर, बेला आउँदै छ र आएकै छ, तिमीहरू हरेक आ-आफ्नै ठाउँमा तितरबितर हुनेछौ र मलाई एकलै छोड्नेछौ। तापनि म एकलै छैन, किनभने पिता मसँग हुनुहुन्छ।
33. ममा तिमीहरूलाई शान्ति होस् भनेर मैले यी कुरा तिमीहरूलाई भनेको छु। संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर ढाडस गर ! मैले संसारलाई जितेको छु।’’
|