1. परमप्रभुको स्तुति गर। सोझा जनको सभा र समुदायमा म मेरो सम्पूर्ण हृदयले परमप्रभुको प्रशंसा गर्नेछु।
2. परमप्रभुका कामहरू महान् छन्, तिनमा प्रसन्न हुनेहरू सबैले तिनको मनन गर्छन्।
3. उहाँको काम आदरयोग्य र महिमापूर्ण छ अनि उहाँको धार्मिकता सदासर्वदा रहिरहन्छ।
4. उहाँले आफ्ना अचम्मका कामहरूलाई स्मरणीय तुल्याउनुभएको छ; परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ।
5. उहाँको भय मान्नेहरूलाई उहाँले भोजन दिनुभएको छ; उहाँले सदाकाल आफ्नो करारको सम्झना गर्नुहुनेछ।
6. उहाँले आफ्नो प्रजालाई अरू जातिको हकको सम्पत्ति दिनका निम्ति उनीहरूलाई आफ्ना कामहरूको सामर्थ्य देखाउनुभएको छ।
7. उहाँका हातका कामहरू सत्य र न्याय हुन्; उहाँका सबै आज्ञा विश्वसनीय हुन्छन्।
8. ती सदासर्वदा स्थिर रहन्छन्, ती सत्यता र इमानदारितामा गरिएका छन्।
9. उहाँले आफ्नो निज प्रजाकहाँ छुटकारा पठाउनुभयो; उहाँले आफ्नो करारलाई सदाकालको निम्ति स्थापित गर्नुभएको छ; उहाँको नाम पवित्र र भययोग्य छ।
10. परमप्रभुको भय मान्नु नै बुद्धिको सुरु हो; उहाँका आज्ञापालन गर्ने सबैसँग असल समझ हुन्छ; उहाँको स्तुति सदाकाल रहिरहन्छ।
|