Bible Study: FrontPage




 

भजनसंग्रह, Chapter 119

Bible Study - भजनसंग्रह 119 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. धन्य हुन् उनीहरू, जसको चाल निर्दोष छ, जो परमप्रभुको व्यवस्थामा हिँड्दछन्।
  
2. धन्य हुन् उनीहरू, जसले उहाँका साक्षीवचन पालन गर्दछन्, जसले उहाँलाई सम्पूर्ण हृदयले खोज्दछन्।
  
3. उनीहरूले कुनै अधर्म पनि गर्दैनन्; उनीहरू उहाँका मार्गमा हिँड्दछन्।
  
4. तपाईंले हामीलाई तपाईंका आदेशहरू यत्नपूर्वक पालन गर्नू भनी आज्ञा गर्नुभएको छ।
  
5. तपाईंका नियमहरू पालन गर्नको निम्ति मेरा चाल स्थिर भइदिए त !
  
6. जब म तपाईंका सबै आज्ञालाई आदर गरूँला, तब म सर्ममा पर्नेछैन।
  
7. जब म तपाईंका धार्मिक नियमहरू सिकेको हुनेछु, तब म हृदयको सोझोपनमा तपाईंको प्रशंसा गर्नेछु।
  
8. तपाईंका नियमहरू म पालन गर्नेछु; मलाई पूर्णरूपले नत्याग्नुहोस्।
  
9. जवान मानिसले आफ्नो चाल कसरी शुद्ध राख्न सक्छ? तपाईंको वचनअनुसार त्यसमा ध्यान दिएर नै हो।
  
10. मेरो सम्पूर्ण हृदयले तपाईंलाई खोजेको छु; तपाईंका आज्ञाहरूबाट मलाई भड्केर जान नदिनुहोस्।
  
11. तपाईंको विरुद्धमा पाप नगरूँ भनेर मैले तपाईंको वचन आफ्नो हृदयमा सुरक्षित राखेको छु।
  
12. हे परमप्रभु, तपाईं धन्यको हुनुहुन्छ; तपाईंका नियमहरू मलाई सिकाउनुहोस्।
  
13. मैले मेरा ओठले तपाईंको मुखका सबै न्यायको वर्णन गरेको छु।
  
14. सारा धनसम्पत्तिमा रमाएझैँ तपाईंका साक्षी-वचनको मार्गमा म रमाएको छु।
  
15. म तपाईंका आदेशहरूमाथि मनन गर्नेछुर तपाईंका मार्गमा ध्यान दिनेछु।
  
16. म तपाईंका नियमहरूमा प्रसन्न हुनेछु; म तपाईंको वचन बिर्सनेछैनँ।
  
17. आफ्नो दासको उपकार गर्नुहोस्, जसले गर्दा म बाँच्न सकूँ र तपाईंका वचन पालन गर्न सकूँ।
  
18. मेरा आँखा खोलिदिनुहोस् र म तपाईंका व्यवस्थाबाट अद्भुत कुरा देख्न सकूँ।
  
19. म पृथ्वीमा एक परदेशी हुँ; तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस्।
  
20. तपाईंका न्यायका चाहनाले गर्दा मेरो प्राण हरघडी चूर्ण हुन्छ।
  
21. तपाईंले घमन्डीहरूलाई हप्काउनुभएको छ-जो श्रापित छन्, जो तपाईंका आज्ञाहरूबाट भड्केर जान्छन्।
  
22. मबाट निन्दा र अपमान हटाइदिनुहोस्, किनभने मैले तपाईंका साक्षी-वचन पालन गरेको छु।
  
23. राजकुमारहरूले पनि बसेर मेरो विरुद्धमा कुरा गरे, तर तपाईंको दासले तपाईंकै नियमहरूमा मनन गर्यो।
  
24. तपाईंका साक्षी-वचन मेरा आनन्द हुन् र ती मेरा सल्लाहकार हुन्।
  
25. मेरो प्राण धुलोमा टाँसिएको छ; तपाईंको वचनअनुसार मलाई पुनर्जीवित पार्नुहोस्।
  
26. मैले मेरा चाल तपाईंलाई बताएको छु र तपाईंले मलाई जवाफ दिनुभयो; तपाईंका नियमहरू मलाई सिकाउनुहोस्।
  
27. तपाईंका आदेशहरूको मार्ग मलाई बुझाइदिनुहोस् र म तपाईंका अचम्मका काममा मनन गर्नेछु।
  
28. शोकले गर्दा मेरो प्राण क्षीण हुन्छ; तपाईंको वचनअनुसार मलाई बलियो पार्नुहोस्।
  
29. मबाट झुट बोल्ने चाल हटाउनुहोस् र मलाई अनुग्रहसाथ तपाईंको व्यवस्था दिनुहोस्।
  
30. मैले सत्यको मार्ग रोजेको छु; तपाईंका न्याय मैले आफ्नो सामु राखेको छु।
  
31. म तपाईंका साक्षी-वचनमा टाँसिएको छु; हे परमप्रभु, मलाई सर्ममा पर्न नदिनुहोस्।
  
32. जब तपाईंले मेरो हृदय चौडा पार्नुहुनेछ, तब म तपाईंका आज्ञाहरूका मार्गमा दगुर्नेछु।
  
33. हे परमप्रभु, तपाईंका नियमहरूका मार्ग मलाई सिकाउनुहोस् र अन्तसम्म म त्यो पालन गर्नेछु।
  
34. मलाई समझ दिनुहोस् र म तपाईंको व्यवस्था पालन गर्नेछु; अँ, सम्पूर्ण हृदयले म त्यो पालन गर्नेछु।
  
35. तपाईंका आज्ञाहरूको मार्गमा मलाई हिँडाउनुहोस्; किनकि यसैमा म प्रसन्न हुन्छु।
  
36. मेरो हृदय लोभतिर होइन तर तपाईंका साक्षी-वचनतिर लगाउनुहोस्।
  
37. मेरा आँखा व्यर्थका कुरा हेर्नदेखि फर्काइदिनुहोस्; अनि तपाईंको मार्गमा मलाई पुनर्जीवित पार्नुहोस्।
  
38. तपाईंको डर मान्ने तपाईंका दासका निम्ति आफ्नो वचन पक्का गर्नुहोस्।
  
39. म जुन निन्दादेखि डराउँछु, त्यो निन्दा हटाइदिनुहोस्; किनभने तपाईंका न्यायहरू असल छन्।
  
40. हेर्नुहोस्, तपाईंका आदेशहरू मैले चाह गरेको छु; तपाईंको धार्मिकतामा मलाई फेरि पुनर्जीवित पार्नुहोस्।
  
41. हे परमप्रभु, तपाईंका कृपा मकहाँ आऊन्; तपाईंको वचनअनुसार तपाईंको उद्धार पनि मकहाँ आऊन्।
  
42. तब मेरो निन्दा गर्नेलाई जवाफ दिनको निम्ति मसँग केही कुरा हुनेछ; किनकि म तपाईंको वचनमाथि भरोसा राख्छु।
  
43. मेरो मुखबाट सत्यको वचन पूर्णरूपले नलैजानुहोस्; किनभने मैले तपाईंका न्यायमा आशा राखेको छु।
  
44. तब म तपाईंको व्यवस्था सदासर्वदै पालन गरिरहनेछु।
  
45. म स्वतन्त्रतासाथ हिँड्नेछु; किनकि म तपाईंका आदेशहरू खोज्दछु।
  
46. म तपाईंका साक्षी-वचनको बारेमा राजाहरूको सामु पनि बोल्नेछु र सर्माउनेछैनँ।
  
47. म तपाईंका आज्ञाहरूमा प्रसन्न हुनेछु, जसलाई मैले प्रेम गरेको छु।
  
48. मैले प्रेम गरेका तपाईंका आज्ञाहरूतिर म आफ्ना हात पनि उठाउनेछु र म तपाईंका नियमहरूमा मनन गर्नेछु।
  
49. तपाईंका दासको निम्ति वचनको सम्झना गर्नुहोस्, जुन वचनमा तपाईंले मलाई आशा राख्ने तुल्याउनुभएको छ।
  
50. मेरो सङ्कष्टमा मेरो सान्त्वना यही हो, किनभने तपाईंकै वचनले मलाई पुनर्जीवित पारेको छ।
  
51. घमन्डीहरूले मलाई ज्यादै खिसी गरेका छन्; तैपनि तपाईंको व्यवस्थाबाट म पछि हटेको छैनँ।
  
52. हे परमप्रभु, मैले तपाईंका प्राचीनकालका न्यायहरू सम्झेँ र आफैलाई सान्त्वना दिएँ।
  
53. दुष्टहरूले तपाईंको व्यवस्थालाई त्यागेका हुनाले तातो रिसले मलाई पक्रेको छ।
  
54. मेरो जीवन-यात्राको घरमा तपाईंका नियमहरू नै मेरा गीतहरू भएका छन्।
  
55. हे परमप्रभु, मैले रातको समयमा तपाईंको नामको सम्झना गरेको छु, अनि तपाईंको व्यवस्था पालन गरेको छु।
  
56. यो कुरा मलाई भयो; किनभने मैले तपाईंका आदेशहरू पालन गरेको छु।
  
57. हे परमप्रभु, तपाईं मेरो भाग हुनुहुन्छ; तपाईंका वचन पालन गर्नेछु भनी मैले भनेको छु।
  
58. मैले तपाईंको निगाहका निम्ति सम्पूर्ण हृदयले विन्ती चढाएँ; तपाईंको वचनअनुसार मप्रति कृपालु हुनुहोस्।
  
59. मैले मेरा चाल विचार गरेँ र तपाईंका साक्षी-वचनतिर आफ्नो कदम बढाएँ।
  
60. मैले तपाईंका आज्ञापालन गर्न हतार गरेँ र ढिलो गरिनँ।
  
61. दुष्टहरूका डोरीले मलाई घेरेका छन् तर मैले तपाईंको व्यवस्था बिर्सेको छैनँ।
  
62. तपाईंका धार्मिक न्यायको कारण म मध्यरातमा तपाईंलाई धन्यवाद चढाउन उठ्नेछु।
  
63. म तपाईंको डर मान्ने र तपाईंका आदेश पालन गर्ने सबैको साथी हुँ।
  
64. हे परमप्रभु, पृथ्वी तपाईंको कृपाले भरपुर छ; मलाई तपाईंका नियमहरू सिकाउनुहोस्।
  
65. हे परमप्रभु, तपाईंले आफ्नो वचनअनुसार आफ्नो दासको भलाइ गर्नुभएको छ।
  
66. मलाई असल विवेक र ज्ञान सिकाउनुहोस्; किनभने मैले तपाईंका आज्ञामा विश्वास गरेको छु।
  
67. म कष्ट भोग्नुभन्दा पहिले बरालिन्थेँ, तर अब त मैले तपाईंको वचन पालन गरेको छु।
  
68. तपाईं भलो हुनुहुन्छ र भलाइ गर्नुहुन्छ; मलाई तपाईंका नियमहरू सिकाउनुहोस्।
  
69. घमन्डीहरूले मेरो विरुद्धमा झुटो आरोप लगाएका छन्; तर म त सम्पूर्ण हृदयले तपाईंका आदेशहरू पालन गर्दछु।
  
70. तिनीहरूको हृदय बोसोजस्तै बोधो भएको छ, तर म तपाईंको व्यवस्थामा प्रसन्न हुन्छु।
  
71. ममाथि जुन कष्ट आयो, त्यो मेरो लागि असलै भयो; जसले गर्दा मैले तपाईंका नियमहरू सिक्न सकेँ।
  
72. तपाईंको मुखको व्यवस्था मेरो लागि हजारौं सुन र चाँदीभन्दा उत्तम छ।
  
73. तपाईंका हातले मलाई बनाएका र रचेका हुन्; मलाई समझ दिनुहोस् र म तपाईंका आज्ञाहरू सिक्न सकूँ।
  
74. तपाईंको डर मान्नेहरू मलाई देखेर आनन्दित हुनेछन्; किनभने मैले तपाईंको वचनमा आशा राखेको छु।
  
75. हे परमप्रभु, तपाईंका न्याय धार्मिक छन् अनि तपाईंले सच्चाइअनुसार मलाई शासना दिनुभएको हो भनी म जान्दछु।
  
76. म तपाईंलाई विन्ती गर्दछु: तपाईंको दासलाई भन्नुभएको वचनअनुसार तपाईंको कृपा मेरो सान्त्वनाको कारण बनोस्।
  
77. तपाईंका कोमल कृपा मकहाँ आऊन् र म बाँच्न सकूँ;किनकि तपाईंको व्यवस्था नै मेरो आनन्द हो।
  
78. घमन्डीहरू सर्ममा परून्; किनकि तिनीहरूले बिनाकारण मसँग टेढा व्यवहार गरेका छन्; तर म तपाईंका आदेशहरूमा मनन गर्नेछु।
  
79. तपाईंको भय मान्नेहरू र तपाईंका साक्षी-वचन जान्नेहरू मतिर फर्कून्।
  
80. मेरो हृदय तपाईंका नियमहरूमा निर्दोष होओस् र म सर्ममा नपरूँ।
  
81. मेरो प्राण तपाईंको उद्धारको निम्ति बेचैन छ; तर म तपाईंको वचनमा आशा राख्छु।
  
82. ‘तपाईंले मलाई कहिले सान्त्वना दिनुहुन्छ?’ भन्दै तपाईंको वचनको बाटो हेर्दाहेर्दै मेरा आँखा धमिला भएका छन्।
  
83. किनभने म धुवाँमा राखिएको मशकजस्तै भएको छु; तापनि म तपाईंका नियमहरू बिर्संदिनँ।
  
84. तपाईंको दासका दिनहरू कति छन् र? मलाई सताउनेहरूमाथि तपाईंले कहिले न्यायको फैसला गर्नुहुन्छ?
  
85. तपाईंको व्यवस्थाअनुसार नचल्ने घमन्डीहरूले मेरा निम्ति खाडल खनेका छन्।
  
86. तपाईंका सबै आज्ञा विश्वासयोग्य छन्; तिनीहरूले मलाई बिनाकारण सताउँछन्; मलाई सहायता गर्नुहोस्।
  
87. तिनीहरूले मलाई झन्डै पृथ्वीमा नाश पारेका थिए; तर मैले तपाईंका आदेशहरू त्यागिनँ।
  
88. तपाईंको करुणाअनुसार मलाई फेरि पुनर्जीवित पार्नुहोस्; अनि म तपाईंको मुखको साक्षी-वचन पालन गर्नेछु।
  
89. हे परमप्रभु, स्वर्गमा तपाईंको वचन सदासर्वदा स्थिर छ।
  
90. तपाईंको विश्वसनीयता पुस्तौँ-पुस्तासम्म रहन्छ; तपाईंले पृथ्वी स्थापित गर्नुभएको छ र त्यो स्थिर रहन्छ।
  
91. तिनीहरू तपाईंको विधानअनुसार आजसम्म स्थिर छन्; किनकि ती सबै तपाईंका सेवक हुन्।
  
92. तपाईंको व्यवस्था मेरो आनन्द नहुँदो हो त म त्यति नै खेर आफ्नो कष्टमा नष्ट भइसक्ने थिएँ।
  
93. तपाईंका आदेशहरू म कहिल्यै बिर्सनेछैन; किनभने तीद्वारा नै तपाईंले मलाई पुनर्जीवित पार्नुभएको छ।
  
94. म तपाईंकै हुँ; मलाई बचाउनुहोस्; किनकि मैले तपाईंका आदेशहरूको खोजी गरेको छु।
  
95. दुष्टहरूले मलाई नाश गर्नका निम्ति ढुकिबसेका छन्; तर म त तपाईंका साक्षी-वचनमा ध्यान दिनेछु।
  
96. मैले सबै सिद्धताको अन्त देखेको छु; तर तपाईंको आज्ञा असीमित छ।
  
97. आहा ! तपाईंको व्यवस्थालाई म कति प्रेम गर्दछु ! दिनभरि मेरो ध्यान यसैमा रहिरहन्छ।
  
98. आफ्ना आज्ञाहरूद्वारा तपाईंले मलाई मेरा शत्रुहरूभन्दा पनि बुद्धिमान् तुल्याउनुभएको छ; किनभने ती सधैँ मसँगै छन्।
  
99. मेरा सबै गुरुभन्दा पनि मेरो समझ बढ्ता छ; किनकि तपाईंका साक्षी-वचन नै मेरो मनन हुन्।
  
100. धर्मगुरुहरूभन्दा म धेरै बुझ्दछु; किनकि म तपाईंका आदेशहरू पालन गर्दछु।
  
101. तपाईंको वचन पालन गरूँ भनेर मैले आफ्ना खुट्टा हरेक खराब मार्गदेखि रोकेको छु।
  
102. तपाईंका न्यायबाट म हटेको छैनँ; किनभने तपाईंले मलाई सिकाउनुभएको छ।
  
103. तपाईंका वचन मेरो जिब्रोको निम्ति कति मीठा छन् ! मेरो मुखको निम्ति महभन्दा पनि मीठा छन्।
  
104. तपाईंका आदेशद्वारा म समझशक्ति पाउँछु; यसैकारण हरेक झुटो मार्गलाई म घृणा गर्छु।
  
105. तपाईंको वचन मेरा खुट्टाका निम्ति बत्ती हो र मेरो बाटोको निम्ति ज्योति हो।
  
106. तपाईंका धार्मिक नियमहरू पालन गर्नेछु भनी मैले शपथ खाएको छु र म यसलाई पूरा गर्नेछु।
  
107. मैले साह्रै कष्ट भोगेको छु; हे परमप्रभु, तपाईंको वचनअनुसार मलाई पुनर्जीवित पार्नुहोस्।
  
108. हे परमप्रभु, म तपाईंलाई विन्ती गर्दछु, मेरो मुखका स्वेच्छा-बलि ग्रहण गर्नुहोस् र तपाईंका नियमहरू मलाई सिकाउनुहोस्।
  
109. मेरो प्राण निरन्तर मेरो हातमा छ; तापनि म तपाईंको व्यवस्था बिर्संदिनँ।
  
110. दुष्टहरूले मेरा निम्ति पासो थापेका छन्; तापनि म तपाईंका आदेशबाट हटेको छैनँ।
  
111. तपाईंका साक्षी-वचन मैले सधैँको निम्ति हकको सम्पत्तिको रूपमा अपनाएको छु;किनभने ती मेरो हृदयको हर्षकोकारण हुन्।
  
112. सधैँभरि, अँ अन्तसम्मै तपाईंका नियमहरू पालन गर्न मैले आफ्नो मन लगाएको छु।
  
113. व्यर्थका विचार म घृणा गर्छु; तर तपाईंको व्यवस्था म प्रेम गर्छु।
  
114. तपाईं मेरो आश्रय र मेरो ढाल हुनुहुन्छ; म तपाईंको वचनमा आशा राख्छु।
  
115. हे कुकर्मीहरू हो; मबाट हटिजाओ; किनकि म मेरा परमेश्वरका आज्ञापालन गर्नेछु।
  
116. आफ्नो वचनअनुसार तपाईंले मलाई सम्हाल्नुहोस् र म बाँचूँ; अनि मेरो आशाको खातिर मलाई सर्ममा पर्न नदिनुहोस्।
  
117. मलाई सम्हाल्नुहोस् र म सुरक्षित रहनेछु र म सधैँ तपाईंका नियमहरूमा ध्यान दिनेछु।
  
118. तपाईंका नियमहरूबाट भड्किएर जाने सबैलाई तपाईंले हटाउनुभएको छ; किनभने तिनीहरूको छल झुट नै हो।
  
119. पृथ्वीका सबै दुष्टलाई तपाईंले कसिङ्गरझैँ हटाउनुहुन्छ; यसकारण म तपाईंका साक्षी-वचन प्रेम गर्दछु।
  
120. तपाईंको डरले गर्दा मेरो शरीर काम्छ; अनि तपाईंका न्यायदेखि म डराउँछु।
  
121. मैले न्यायपूर्ण र उचित काम गरेको छु; ममाथि थिचोमिचो गर्नेहरूको हातमा मलाई नछोड्नुहोस्।
  
122. भलाइको निम्ति तपाईंका दासको जमानी हुनुहोस्; घमन्डीहरूले मलाई थिचोमिचो गर्न नपाऊन्।
  
123. तपाईंको उद्धार र धार्मिकताको वचनको बाटो हेर्दाहेर्दै मेरा आँखा नदेख्ने भएका छन्।
  
124. तपाईंको कृपाअनुसार तपाईंको दाससँग व्यवहार गर्नुहोस् र तपाईंका नियमहरू मलाई सिकाउनुहोस्।
  
125. म तपाईंको दास हुँ; मलाई समझ दिनुहोस् र म तपाईंका साक्षी-वचन जान्न सकूँ।
  
126. हे परमप्रभु, तपाईंले काम गर्ने समय आएको छ; किनभने तिनीहरूले तपाईंको व्यवस्था भङ्ग गरेका छन्।
  
127. यसैकारण म तपाईंका आज्ञालाई सुनभन्दा बढी, निखुर सुनभन्दा पनि बढ्ता प्रेम गर्दछु।
  
128. यसकारण म तपाईंका सबै आदेश हरेक विषयमा ठीक ठान्दछु र हरेक झुटो मार्ग म घृणा गर्दछु।
  
129. तपाईंका साक्षी-वचन अचम्मका छन्; यसैकारण मेरो प्राणले तिनीहरूलाई पालन गर्छ।
  
130. तपाईंका वचनको प्रवेशले ज्योति दिन्छ; यसले सोझाहरूलाई समझ दिन्छ।
  
131. मैले मेरो मुख पूरा खोलेँ र तिर्सना गरेँ; किनभने म तपाईंका आज्ञाको लागि प्यासी थिएँ।
  
132. तपाईंको नाउँ प्रेम गर्नेहरूलाई तपाईं जस्तो गर्नुहुन्थ्यो, त्यसरी नै मतिर फर्कनुहोस् र मप्रति कृपालु हुनुहोस्।
  
133. मेरा पाइला तपाईंको वचनमा स्थिर पारिदिनुहोस् र कुनै अधर्मले ममाथि राज्य गर्न नपाओस्।
  
134. मानिसको थिचोमिचोबाट मलाई मुक्त गर्नुहोस् र म तपाईंका आदेश पालन गर्नेछु।
  
135. तपाईंको दासमाथि तपाईंको मुहार चम्काउनुहोस् र तपाईंका नियमहरू मलाई सिकाउनुहोस्।
  
136. मेरा आँखाबाट आँसुका धारा बहन्छन् किनभने तिनीहरूले तपाईंको व्यवस्था पालन गर्दैनन्।
  
137. हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ र तपाईंका न्याय सीधा छन्।
  
138. तपाईंले ठहराउनुभएका साक्षी-वचन धर्ममय र अतिविश्वसनीय छन्।
  
139. मेरो जोशले मलाई खाइसकेको छ; किनभने मेरा शत्रुहरूले तपाईंका वचन बिर्सेका छन्।
  
140. तपाईंको वचन शुद्ध छ; यसकारण तपाईंको दासले यसलाई प्रेम गर्दछ।
  
141. म क्षुद्र र तुच्छ छु; तैपनि म तपाईंका आदेश बिर्संदिनँ।
  
142. तपाईंको धार्मिकता अनन्तकालसम्म रहने धार्मिकता हो, अनि तपाईंको व्यवस्था सत्य छ।
  
143. मलाई सङ्कष्ट र वेदनाले पक्रेका छन्; तैपनि तपाईंका आज्ञा मेरो आनन्दको कारण हुन्।
  
144. तपाईंका साक्षी-वचनको धार्मिकता अनन्तको छ; मलाई समझ दिनुहोस् र म बाँच्नेछु।
  
145. मैले सम्पूर्ण हृदयले पुकारेँ; हे परमप्रभु, मलाई जवाफ दिनुहोस्; म तपाईंका नियमहरू पालन गर्नेछु।
  
146. मैले तपाईंलाई पुकारेँ; मलाई बचाउनुहोस् र म तपाईंका साक्षीवचन पालन गर्नेछु।
  
147. मिरमिरे उज्यालो खस्नुभन्दा पहिल्यै मैले पुकारेँ; मैले तपाईंको वचनमा आशा राखेँ।
  
148. तपाईंको वचनमा मनन गर्न सकूँ भनी मेरा आँखा रातका प्रहर-प्रहरमा खुला रहन्छन्।
  
149. तपाईंको करुणाअनुसार मेरो सोर सुन्नुहोस्; हे परमप्रभु, तपाईंको न्यायअनुसार मलाई पुनर्जीवित पार्नुहोस्।
  
150. दुष्टताको पछि लाग्नेहरू नजिक आइपुगेका छन्; तिनीहरू तपाईंको व्यवस्थाबाट टाढा छन्।
  
151. हे परमप्रभु, तपाईं नजिक हुनुहुन्छ र तपाईंका सबै आज्ञा सत्य छन्।
  
152. तपाईंका साक्षी-वचन मैले उहिलेदेखि जानेको छु, कि तपाईंले ती सधैँका निम्ति स्थापित गर्नुभएको छ।
  
153. मेरो कष्ट विचार गर्नुहोस् र मलाई छुटकारा दिनुहोस्; किनभने तपाईंको व्यवस्था म बिर्संदिनँ।
  
154. मेरो मुद्दा लड्नुहोस् र मलाई छुटाउनुहोस्; तपाईंको वचनअनुसार मलाई पुनर्जीवित पार्नुहोस्।
  
155. दुष्टहरूदेखि उद्धार टाढो हुन्छ, किनकि तिनीहरूले तपाईंका नियमहरूको खोजी गर्दैनन्।
  
156. हे परमप्रभु, तपाईंका कोमल कृपा महान् छन्; तपाईंका न्यायअनुसार मलाई पुनर्जीवित पार्नुहोस्।
  
157. मलाई सताउने र मेरा शत्रुहरू धेरै छन्; तापनि तपाईंका साक्षी-वचनबाट म हट्दिनँ।
  
158. मैले अपराधीहरूलाई देखेँ र म विरक्त भएँ; किनभने तिनीहरूले तपाईंको वचन पालन गरेनन्।
  
159. विचार गर्नुहोस्, तपाईंका आदेश म कति धेरै प्रेम गर्दछु; हे परमप्रभु, तपाईंको करुणाअनुसार मलाई पुनर्जीवित पार्नुहोस्।
  
160. तपाईंको वचन सुरुदेखि नै सत्य छ र तपाईंका धार्मिक नियमहरू हरेक सदासर्वदा रहिरहन्छ।
  
161. राजकुमारहरूले मलाई बिनाकारण सताएका छन्; तर मेरो हृदय तपाईंको वचनदेखि डराएको छ।
  
162. ठूलो लुटको माल पाउने मानिसझैँ म तपाईंको वचनमा रमाउँदछु।
  
163. झुट बोल्ने काम म घृणा गर्छु र तिरस्कार गर्छु; तर तपाईंको व्यवस्था म प्रेम गर्छु।
  
164. तपाईंका धार्मिक नियमहरूको कारण म दिनमा सातचोटि तपाईंको स्तुति गर्दछु।
  
165. तपाईंको व्यवस्था प्रेम गर्नेहरूले ठूलो शान्ति पाउँछन् र उनीहरूले कुनै कुरामा ठेस खानेछैनन्।
  
166. हे परमप्रभु, मैले तपाईंको उद्धारको आशा राखेको छु र तपाईंका आज्ञापालन गरेको छु।
  
167. मैले तपाईंका साक्षी-वचन पालन गरेको छु र म तिनलाई ज्यादै प्रेम गर्छु।
  
168. मैले तपाईंका आदेश र साक्षी-वचन पालन गरेको छु; किनभने मेरा सबै चाल तपाईंकै सामु छन्।
  
169. हे परमप्रभु, मेरो पुकार तपाईंको सामु पुगोस्; तपाईंका वचनअनुसार मलाई समझ दिनुहोस्।
  
170. मेरो अन्तर्विन्ती तपाईंको सामु पुगोस्; तपाईंको वचनअनुसार मलाई छुटकारा दिनुहोस्।
  
171. मेरा ओठहरूले प्रशंसा गरून्; किनभने तपाईंले मलाई तपाईंका नियमहरू सिकाउनुभएको छ।
  
172. मेरो जिब्रोले तपाईंको वचन बोल्नेछ, किनकि तपाईंका सबै आज्ञा धार्मिकता हुन्।
  
173. तपाईंको हातले मलाई सहायता गर्नुहोस्, किनभने मैले तपाईंका आदेश चुनेको छु।
  
174. हे परमप्रभु, मैले तपाईंको उद्धारको चाह गरेको छु; अनि तपाईंको व्यवस्था मेरो आनन्द हो।
  
175. मेरो प्राण बाँचोस् र यसले तपाईंको स्तुति गर्नेछ; अनि तपाईंका नियमहरूले मलाई सहायता गरून्।
  
176. हराएको भेडाझैँ म भड्किएको छु; तपाईंको दासलाई खोज्नुहोस्, किनभने मैले तपाईंका आज्ञाहरू बिर्सेको छैनँ।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES