1. परमप्रभुलाई धन्यवाद चढाओ; किनकि उहाँ भलो हुनुहुन्छ; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ।
2. देवहरूका परमेश्वरलाई धन्यवाद चढाओ; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ।
3. प्रभुहरूका परमप्रभुलाई धन्यवाद चढाओ; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;
4. उहाँलाई, जसले एक्लैले महाआश्चर्यकर्म गर्नुहुन्छ; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;
5. उहाँलाई, जसले बुद्धिले आकाश बनाउनुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;
6. उहाँलाई, जसले पानीमाथि पृथ्वीलाई फैलाउनुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;
7. उहाँलाई, जसले ठूला-ठूला ज्योति बनाउनुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;
8. दिनमा राज्य गर्नको निम्ति सूर्य बनाउनुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;
9. रातमा राज्य गर्नको निम्ति चन्द्रमा र ताराहरू बनाउनुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;
10. उहाँलाई, जसले मिश्रदेशका जेठाजेठालाई मार्नुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;
11. इस्राएललाई तिनीहरूको बीचबाट निकालेर ल्याउनुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;
12. शक्तिशाली हात र फैलाइएको बाहुबलले तिनीहरूलाई निकालेर ल्याउनुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;
13. उहाँलाई, जसले लालसमुद्र दुई भागमा विभाजित गर्नुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;
14. उहाँले इस्राएललाई त्यसको बीचबाट पार गराउनुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;
15. उहाँले फारो र त्यसको सेनालाई लालसमुद्रमा फ्याँकिदिनुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;
16. उहाँले आफ्नो प्रजालाई उजाडस्थानद्वारा डोर्याउँदै लैजानुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;
17. उहाँले ठूला-ठूला राजाहरूलाई प्रहार गर्नुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;
18. उहाँले सामर्थी राजाहरूलाई मार्नुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;
19. उहाँले एमोरीहरूको राजा सीहोनलाई मार्नुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;
20. उहाँले बाशानको राजा ओगलाई मार्नुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;
21. उहाँले तिनीहरूको देश पैतृक सम्पत्तिको रूपमा दिनुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;
22. उहाँले त्यो देश आफ्नो दास इस्राएलको पैतृक सम्पत्तिको निम्ति दिनुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;
23. उहाँले हामीलाई हाम्रो दीन अवस्थामा सम्झनुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;
24. उहाँले हामीलाई हाम्रा शत्रुहरूबाट छुटकारा दिनुभयो; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ;
25. उहाँले सबै प्राणीलाई आहार दिनुहुन्छ; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ।
26. स्वर्गका परमेश्वरलाई धन्यवाद चढाओ; किनभने उहाँको करुणा सदासर्वदा रहिरहन्छ।
|