1. मेरो सम्पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु; देवहरूको सामु म तपाईंको स्तुति गाउनेछु।
2. तपाईंको पवित्र मन्दिरतर्फ म दण्डवत् गर्नेछु र तपाईंको करुणा र तपाईंको सत्यताका निम्ति तपाईंको नाउँको प्रशंसा गर्नेछु; किनभने तपाईंले आफ्नो वचन आफ्नो सबै नाउँभन्दा उच्चतुल्याउनुभएको छ।
3. मैले पुकारेको दिनमा तपाईंले मलाई जवाफ दिनुभयो; तपाईंले मेरो प्राणलाई बल दिईकन मलाई साहसिलो तुल्याउनुभयो।
4. हे परमप्रभु, पृथ्वीका सबै राजाले तपाईंको प्रशंसा गर्नेछन्; किनकि तिनीहरूले तपाईंको मुखका वचन सुनेका छन्।
5. तिनीहरूले परमप्रभुका मार्गहरूको विषयमा गाउनेछन्; किनभने परमप्रभुको महिमा महान् छ।
6. परमप्रभु उच्च हुनुभए तापनि उहाँले नम्रलाई हेर्नुहुन्छ, तर घमण्डीलाई उहाँले टाढैबाट चिन्नुहुन्छ।
7. सङ्कष्टको बीचमा म हिँडे तापनि तपाईंले मलाई पुनर्जीवित पार्नुहुनेछ। मेरा शत्रुहरूको क्रोधको विरुद्धमा तपाईंले आफ्नो हात फैलाउनुहुनेछ र तपाईंको दाहिने हातले मलाई बचाउनेछ।
8. परमप्रभुले मेरो विषयमा भएका कुरा पूरा गर्नुहुनेछ; हे परमप्रभु, तपाईंको करुणा सदासर्वदा रहिरहन्छ; तपाईंका हातका कामहरूलाई नत्याग्नुहोस्।
|