1. हे परमप्रभु, मेरा चट्टान, धन्यका होऊन्, जसले मेरा हातलाई युद्ध गर्न र मेरा औंलाहरूलाई लडाइँ गर्न सिकाउनुहुन्छ।
2. उहाँ मेरो करुणा र मेरो किल्ला हुनुहुन्छ; मेरो उच्च गढ र मेरो उद्धारक हुनुहुन्छ; मेरो ढाल र मेरो शरणस्थान हुनुहुन्छ, जसले मेरो प्रजालाई मेरो अधीनमा राख्नुहुन्छ।
3. हे परमप्रभु, मानिस के हो र तपाईंले त्यसको सुधी लिनुहुन्छ? अथवा मानिसको पुत्र के हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ?
4. मानिस त बाफजस्तो मात्र छ; यसको आयु बितिजाने छायाँजस्तो मात्र छ।
5. हे परमप्रभु, आफ्नो आकाश झुकाउनुहोस् र ओर्लनुहोस्; पहाडहरू छुनुहोस् र तीबाट धुवाँ निक्लेर आओस्।
6. बिजुली चम्काउनुहोस् र तिनीहरूलाई तितरबितर पार्नुहोस्; आफ्ना काँड हान्नुहोस् र तिनीहरूलाई सखाप पार्नुहोस्।
7. उच्च स्थानबाट आफ्नो हात पसारीकन महासागर र परदेशीका सन्तानको हातबाट मलाई बचाउनुहोस् र मलाई छुटकारा दिनुहोस्,
8. जसको मुखले व्यर्थ कुरा बक्दछ र जसको दाहिने हात झुटको दाहिने हात हो।
9. हे परमेश्वर, म तपाईंको निम्ति एउटा नयाँ गीत गाउनेछु; दशतारे वीणा बजाईकन म तपाईंको स्तुति गाउनेछु।
10. तपाईंले नै राजाहरूलाई उद्धार गर्नुहुन्छ; तपाईंले आफ्नो दास दाऊदलाई घातक तरवारबाट छुटकारा दिनुहुन्छ।
11. परदेशीका सन्तानको हातबाट मलाई बचाउनुहोस् र मलाई छुटकारा दिनुहोस्; जसको मुखले व्यर्थको कुरा बक्दछ र जसको दाहिने हात झुटको दाहिने हात हो;
12. हाम्रा छोराहरू आफ्ना जवानीमा बढेका रूखहरूजस्ता होऊन् र हाम्रा छोरीहरू महलको कुँदिएका कुने ढुङ्गाहरूजस्ता होऊन्;
13. हाम्रा ढुकुटी सब किसिमको अन्नले भरिभराउ होऊन्; हाम्रा भेडाबाख्राका बगालले मैदानहरूहुँदो हजारौं हजार जन्माऊन्।
14. हाम्रा गोरुहरूले गह्रौं भारी बोक्नेछन्, हाम्रा पर्खालहरू फोरिनेछैनन्, न हामी कैदमा जानुपर्नेछ, न त हाम्रा सडकहरूमा रुवाइको आवाज उठ्नेछ।
15. यस्तो अवस्थामा रहने मानिसहरू धन्यका हुन्; अँ, जुन मानिसका परमेश्वर परमप्रभु हुनुहुन्छ, ती धन्यका हुन्।
|