1. हे परमप्रभु, तपाईंले ध्यान दिनुहोस्, मेरो विन्ती सुन्नुहोस्, किनकि म दु:खी र दरिद्र छु।
2. मेरो प्राणलाई रक्षा गर्नुहोस्, किनकि म तपाईंप्रति समर्पित छु, हे मेरा परमेश्वर, तपाईंले आफ्नो दासलाई बचाउनुहोस्, जसले तपाईंमाथि भरोसा राख्छ।
3. हे परमप्रभु, मप्रति कृपालु हुनुहोस्, किनकि म दिनहुँ तपाईंलाई पुकार्छु।
4. आफ्नो दासको प्राणलाई आनन्दित तुल्याउनुहोस्, किनकि हे परमप्रभु, तपाईंतिर नै म आफ्नो प्राण उचाल्छु।
5. हे परमप्रभु, तपाईं भला र क्षमाशील हुनुहुन्छ र तपाईंलाई पुकार्नेहरू सबैका लागि तपाईंको कृपा प्रशस्त रहन्छ।
6. हे परमप्रभु, मेरो प्रार्थनामा ध्यान दिनुहोस्, मेरा विन्तीको सोरमा ध्यान दिनुहोस्।
7. मेरो सङ्कष्टको दिनमा म तपाईंलाई पुकार्नेछु, किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ।
8. हे परमप्रभु, ईश्वरहरूमध्ये तपाईंजस्तो अरू कोही छैन, न त तपाईंका कामजस्ता अरू कसैका काम छन्।
9. हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै जाति आउनेछन् र तपाईंको सामु दण्डवत् गर्नेछन्, अनि तपाईंको नाउँको महिमा गर्नेछन्।
10. किनकि तपाईं महान् हुनुहुन्छ र अचम्मका कामहरू गर्नुहुन्छ,तपाईं मात्र परमेश्वर हुनुहुन्छ।
11. हे परमप्रभु, मलाई तपाईंको मार्ग सिकाउनुहोस्, म तपाईंको सत्यतामा हिँड्नेछु, तपाईंको नाउँको भय मान्न भनी मेरो हृदय एकाग्र पार्नुहोस्।
12. हे परमप्रभु मेरा परमेश्वर, मेरो सम्पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु, र सदासर्वदा तपाईंको नाउँको महिमा गर्नेछु।
13. किनकि मप्रति तपाईंको कृपा महान् छ, अनि तपाईंले मेरो प्राणलाई सबैभन्दा गहिरो पातालबाट छुटाउनुभएको छ।
14. हे परमेश्वर, घमण्डीहरू मेरो विरुद्धमा उठेका छन् र अत्याचारी मानिसहरूको झुन्डले मेरो प्राण लिन खोजेको छ, अनि तिनीहरूले तपाईंलाई आफ्ना सामु राखेका छैनन्।
15. तर हे परमप्रभु, तपाईं दयाले भरपुर र अनुग्रही परमेश्वर हुनुहुन्छ, रिसाउनमा ढिलो अनि कृपा र सत्यताले पूर्ण हुनुहुन्छ।
16. मतिर फर्कनुहोस् र ममाथि कृपा गर्नुहोस्, तपाईंको दासलाई तपाईंको सामर्थ्य दिनुहोस्, र तपाईंकी दासीको छोरालाई बचाउनुहोस्।
17. मलाई भलाइको एउटा चिन्ह देखाउनुहोस् अनि मलाई घृणा गर्नेहरूले यो देखून् र लज्जित होऊन्, किनभने हे परमप्रभु, तपाईंले मलाई सहायता गर्नुभएको छ र मलाई सान्त्वना दिनुभएको छ।
|