1. अब भाइहरू हो, हाम्रा सबै पुर्खाहरू बादलमुनि थिए र सबै समुद्रको बीचबाट भएर पार भए भन्ने कुरामा तिमीहरू अजान रहो भन्ने मेरो इच्छा छैनँ।
2. अनि तिनीहरू सबैले बादल र समुद्रमा मोशामा बप्तिस्मा पाएका थिए।
3. तिनीहरू सबैले एकै किसिमको आत्मिक भोजन खाए।
4. सबैले आत्मिक पानी पिए, किनकि तिनीहरूका साथसाथै हिँड्ने आत्मिक चट्टानको पानी तिनीहरूले पिए। त्यो चट्टान ख्रीष्ट नै हुनुहुन्थ्यो।
5. तापनि तिनीहरूमध्ये धेरै जनासँग परमेश्वर प्रसन्न हुनुभएन र तिनीहरू मरुभूमिमा नै नष्ट भए।
6. तिनीहरूले जस्तो हामीले खराबीको इच्छा नगरौं भनी यी कुरा हाम्रो चेताउनीको निम्ति हुन्।
7. तिमीहरू मूर्त्तिपूजक नबन, जसरी तिनीहरूमध्ये कति जना बने, जस्तो लेखिएको छ, ‘‘मानिसहरू खान र पिउनलाई बसे र मनोरञ्जन गर्नलाई उठे।’’
8. हामी व्यभिचारमा नफसौं, जसरी तिनीहरूमध्ये कतिजना फसे र एकै दिनमा तेइस हजार मानिसहरू मरे।
9. हामी ख्रीष्टलाई परीक्षा नगरौं, जसरी तिनीहरूमध्ये कतिले गरे, अनि सर्पहरूद्वारा नष्ट भए।
10. तिनीहरूले जस्तै हामी गनगन नगरौं, जो नाश गर्ने दूतहरूद्वारा नष्ट पारिए।
11. यी कुरा तिनीहरूलाई चेताउनीको निम्ति भए तापनि ती हाम्रै शिक्षाको निम्ति लेखिएका हुन्, जसमाथि युगको अन्त्य आइसकेको छ।
12. यसकारण जसले म खडा छु भनी सम्झन्छ, त्यो होशियार रहोस्, नत्र त त्यो लड्नेछ।
13. मानिसमाथि आइपर्ने किसिमको परीक्षाबाहेक अरु परीक्षा तिमीहरूमाथि आइपरेको छैन तर परमेश्वर विश्वसनीय हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूको शक्तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहनसक भनेर परीक्षाको साथ-साथमा उम्किने बाटो पनिबनाउनुहुनेछ।
14. यसकारण मेरा प्रियहरू हो, मूर्त्तिपूजाबाट अलग बस।
15. बुद्धिमान् मानिसहरूसँग बोलेझैँ म बोल्दछु, म जे भन्दछु, त्यस कुरालाई जाँच।
16. जुन आशिष्का कचौराको निम्ति हामी आशिष् माग्छौं, के त्यो ख्रीष्टको रगतमा हुने सहभागिता होइन र? अनि त्यो रोटी, जो हामी भाँच्छौं, के त्यो ख्रीष्टको शरीरमा हुने सहभागिता होइन र?
17. रोटी एउटै हो, यसकारण हामी धेरै भए तापनि एउटै शरीर हौं, किनकि हामी सबै एउटै रोटीबाट खान्छौं।
18. इस्राएली जातिलाई विचार गर, बलिदानको वस्तु खानेहरू के वेदीका सहभागीहरू भएनन् र?
19. म के भन्न खोजिरहेछु? के मूर्त्तिलाई चढाएका बलिको केही अर्थ छ र? अथवा मूर्त्तिर्कै पनि के मोल छ र?
20. छैन, अयहूदीहरूले जुन बलिदान चढाउँछन् त्यो परमेश्वरलाई होइन तर भूतात्माहरूलाई चढाउँछन् र तिमीहरू भूतप्रेतसँग सहभागीहोओ भन्ने म चाहन्नँ।
21. तिमीहरू प्रभुको कचौरा र भूतप्रेतको कचौरा दुवैबाट पिउन सक्तैनौ। तिमीहरू प्रभुको टेबुल र भूतप्रेतको टेबुल दुवैबाट खान सक्तैनौ।
22. वा के हामीले प्रभुलाई डाही तुल्याउने? के हामी उहाँभन्दा शक्तिशाली छौं?
23. सबै कुरा न्यायसङ्गत छन् तर सबै कुरा फाइदाका छैनन्। सबै कुरा न्यायसङ्गत छन् तर सबै कुराले सुधार गर्दैनन्।
24. आफ्नै मात्र भलाइ नखोज, तर आफ्नो छिमेकीको भलाइ खोज।
25. मासुको बजारमा जे बिक्री हुन्छ, विवेकको निम्ति केही सोधपुछ नगरी खाओ,
26. किनभने, ‘‘पृथ्वी र त्यसमा भएका यावत् थोक सबै परमप्रभुकै हुन्।’’
27. अनि विश्वास नगर्नेहरूमध्ये कसैले तिमीहरूलाई निम्तो गर्यो भने, र तिमीहरूले जाने इच्छा गर्यौ भने, तिमीहरूका अघि जे राखिन्छ विवेकको निम्ति केही सोधपुछ नगरी खाओ।
28. तर कसैले तिमीहरूलाई ‘‘यो त मूर्त्तिहरूलाई चढाइएको थोक हो’’ भन्यो भने त्यो बताउने मानिसको विवेकको निम्ति नखाओ, किनकि ‘पृथ्वी र यसको भरपूरी प्रभुकै हुन्।’
29. यो तिम्रो आफ्नै विवेकको खातिर होइन, तर बताइदिनेको खातिर हुन्छ। तब मेरो स्वतन्त्रता अर्को मानिसको विवेकद्वारा किन जाँचिन्छ त ?
30. यदि परमेश्वरलाई धन्यवाद दिएर भोजनमा म सहभागी हुन्छु भने त्यही भोजनको खातिर म किन निन्दित हुनु?
31. यसकारण चाहे तिमीहरू खाओ वा पिओ वा जेसुकै गर, सबै परमेश्वरकै महिमाको निम्ति गर।
32. तिमीहरूले यहूदीलाई वा अयहूदीलाई वा परमेश्वरको मण्डलीलाई कुनै किसिमको बाधा पुर्याउने काम नगर।
33. जसरी म पनि आफ्नै लाभ होइन तर धेरैको लाभ खोज्दै र तिनीहरूको उद्धार होस् भनेर सबै मानिसलाई सबै विषयमा प्रसन्न तुल्याउने चेष्टा गर्दछु।
|