1. के म स्वतन्त्र छैनँ? के म प्रेरित होइनँ? के मैले येशू हाम्रा प्रभुलाई देखेको छैनँ? के प्रभुमा तिमीहरू मेरो कामका प्रतिफल होइनौ?
2. म अरुहरूको निम्ति प्रेरित नभए तापनि कमसेकम तिमीहरूका निम्ति त हुँ, किनकि प्रभुमा मेरो प्रेरितपनको छाप तिमीहरू नै हौ।
3. मेरो विरुद्धमा बोल्नेहरूलाई मेरो जवाफ यही छ।
4. के हामीलाई खाने र पिउने अधिकार छैन?
5. के अरु प्रेरितहरूजस्तै, प्रभुका भाइहरू र केफासलाई जस्तै हामीलाई पनि पत्नी लिएर हिँड्ने अधिकार छैन र?
6. अथवा के मैले र बर्णाबासले मात्र जीविकाको निम्ति काम गर्नुपर्छ र?
7. आफ्नै खर्चमा कसले सिपाहीको काम गर्छ र? अङ्गुरबारी लगाएर कसले त्यसको फल खाँदैन र? गाईबस्तु पालेर कसले त्यसको दूध पिउँदैन र?
8. के मानिसको दृष्टिकोणबाट मात्र म यो भन्दछु र? के व्यवस्थाले पनि यसै भन्दैन र?
9. किनभने मोशाको व्यवस्थाले भन्दछ, ‘‘दाइँ गर्दा गोरुलाई मोहोलो नलगाओ।’’ के गोरुहरूको विषयमा परमेश्वर चिन्तित हुनुहुन्छ?
10. के उहाँले हाम्रो खातिर नै यो भन्नुभएको होइन र? हाम्रो खातिर नै यो लेखिएको हो। किनकि जोत्ने र दाइँ गर्नेले अन्नको केही हिस्सा पाउने आशामा नै जोत्छ र दाइँ गर्छ।
11. यदि हामीले तिमीहरूका माझमा आत्मिक थोक छरेका छौं भने र तिमीहरूको भौतिक सम्पत्तिको कटनी गर्यौं भने के त्यो अति भयो र?
12. जब अरु तिमीहरूमाथि अधिकारका भागीदार भए भने हामी झन् हुँदैनौं र? तरै पनि हामीले यो अधिकार काममा लाएका छैनौं तर ख्रीष्टको सुसमाचारलाई कुनै प्रकारको बाधा नदिऊँ भनेर हामी सबै कुरा सहन्छौं।
13. मन्दिरमा सेवा गर्नेहरूले मन्दिरका थोकबाट खान्छन् र वेदीका सेवा गर्नेहरूले बलिबाट हिस्सा लिन्छन् भन्ने कुरा के तिमीहरूलाई थाहा छैन र?
14. त्यसरी नै सुसमाचार प्रचारकहरूले पनि सुसमाचारबाट नै जीविका चलाऊन् भनी प्रभुले आज्ञा दिनुभयो।
15. तापनि मैले यी कुरामध्ये कुनैको प्रयोग गरेको छैनँ र अब मेरोनिम्ति यसै होस् भनेर मैले यी कुरा लेखेको होइनँ। किनभने कसैले मेरो घमण्ड व्यर्थको ठहराउनुभन्दा बरु मेरोनिम्ति मर्नु असल छ।
16. किनकि यदि मैले सुसमाचार प्रचार गरेँ भने त्यसमा मैले घमण्ड गर्ने केही कारण छैन। म प्रचार गर्न बाध्य छु। सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्कार छ !
17. किनकि यदि म यो आफ्नै इच्छाले गर्छु भने मेरोनिम्ति इनाम छ तर मेरो इच्छाको विरुद्धमा गर्छु भने मलाई एउटा ठूलो उत्तरदायित्व सुम्पिइएको छ।
18. त्यसो भए मेरो इनाम के हो? केवल यति नै हो कि सित्तैँमा सुसमाचार प्रचार गर्न पाऊँ र मैले सुसमाचार प्रचार गर्दा पाउने पूर्ण हकको दाबी गर्नु नपरोस्।
19. किनभने म मानिसहरूबाट स्वतन्त्र भए तापनि अझ धेरैलाई जित्नसकूँ भनेर मैले आफैलाई सबैको दास तुल्याएँ।
20. अनि यहूदीहरूलाई हात पारूँ भनेर म यहूदीहरूको निम्ति यहूदीझैँ भइदिएँ, व्यवस्थाका अधीनमा हुनेहरूलाई जित्नसकूँ भनेर व्यवस्थाका अधीनमा हुनेहरूका निम्ति व्यवस्थाको अधीनमा झैँ भइदिएँ,
21. व्यवस्थाका अधीनमा नभएकाहरूलाई हात पारूँ भनेर म व्यवस्थाको अधीनमा नभएझैँ भइदिएँ, तर परमेश्वरको व्यवस्थाबाट म स्वतन्त्र छैनँ, म ख्रीष्टको व्यवस्थाको अधीनमा छु।
22. कमजोरीहरूलाई जित्नसकूँ भनेर कमजोरीहरूको निम्ति म कमजोर भएँ, हरप्रकारले कसैलाई बचाऊँ भनेर म सबै मानिसहरूको निम्ति सबै कुरा भएँ।
23. अनि सुसमाचारको सहभागी हुनसकूँ भनेर म यसको निम्ति सबै कुरा गर्दछु।
24. के तिमीहरूलाई थाहा छैन, दौडमा दगुर्नेहरू सबै दगुर्छन् तर इनाम एउटैले मात्र पाउँछ? तिमीहरू इनाम प्राप्त गर्ने किसिमले दौड।
25. खेलमा भाग लिने सबै जना सबै कुरामा आत्मसंयमी हुनुपर्दछ। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन् तर हामी अविनाशी मुकुट पाउनलाई यसो गर्दछौं।
26. यसकारण लक्षय नराखी म दगुर्दिनँ। हावामा मुक्का हान्नेले जस्तै म मुक्का हान्दिनँ।
27. तर म आफ्नो शरीरलाई कठोरतासाथ सधाउँछु र यसलाई वशमा राख्तछु, नत्र त अरुहरूलाई प्रचार गरेपछि म आफै अयोग्य ठहरिनेछु।
|