1. हेर, पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ, कि हामी उहाँका सन्तान कहलिनुपर्छ र हामी त्यसै हौं पनि। तर यस संसारले उहाँलाई नचिनेको हुनाले, त्यसले हामीलाई पनि चिन्दैन।
2. प्रिय हो, अब हामीहरू साँच्चै नै परमेश्वरका सन्तान हौं र हामी कस्ता हुनेछौं भन्ने कुरा अझ प्रकट भएको छैन। तर हामीलाई थाहा छ कि जब उहाँ देखा पर्नुहुनेछ, हामी उहाँजस्तै हुनेछौं , किनकि उहाँ जस्तो हुनुहुन्छ उहाँलाई हामी त्यस्तै देख्नेछौं।
3. अनि उहाँमा यो आशा राख्ने हरेक मानिसले जस्तो उहाँ शुद्ध हुनुहन्छ, त्यस्तैगरी आफूलाई शुद्ध पार्दछ।
4. हरेक जसले पाप गर्दछ, त्यसले व्यवस्था पनि भङ्ग गर्दछ, किनभने व्यवस्था भङ्ग गर्नु नै पाप हो।
5. हामी जान्दछौं कि हामीलाई पापबाट अलग गराउनलाई नै उहाँ प्रकट हुनुभयो र उहाँमा कुनै पाप छैन।
6. यसकारण उहाँमा रहने कसैले पनि पाप गर्दैन। तर हरेक जसले पाप गर्दछ, त्यसले उहाँलाई न त देखेको छ, न चिनेको नै छ।
7. मेरा साना नानीहरू हो, कसैले पनि तिमीहरूलाई धोका दिन नपाओस्, जसले धार्मिकताको अभ्यास गर्दछ, ऊ धर्मी हो, जस्तो ख्रीष्ट धर्मी हुनुहुन्छ।
8. तर जसले पाप गरिरहन्छ त्यो व्यक्ति शैतानबाटको हो, किनकि त्यसले शुरुदेखि नै पाप गर्दै आइरहेको छ। तर परमेश्वरका पुत्र शैतानका कामहरू नष्ट गर्नलाई आउनुभयो।
9. परमेश्वरको सन्तान भएर जन्मेका हरेकले पाप गरिरहँदैन, किनभने उहाँको स्वभाव त्यसमा रहेको हुन्छ र त्यसले पाप गरिरहन सक्दैन, किनकि त्यो परमेश्वरबाट जन्मेको हो।
10. यसैबाट परमेश्वरको सन्तान र शैतानको सन्तान को हो भन्ने कुरा प्रकट हुन्छ। हरेक जसले धार्मिकताको अभ्यास गर्दैन र आफ्नो दाज्यू-भाइलाई प्रेम गर्दैन त्यो परमेश्वरबाटको होइन।
11. तिमीहरूले शुरुदेखि सुनेको सन्देश यही हो : हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ।
12. हामी दुष्टबाटको कयिनजस्तो हुनुहुँदैन, जसले आफ्नो भाइको हत्या गर्यो। किन त्यसले आफ्नो भाइको हत्या गर्यो? किनभने त्यसका कार्यहरू दुष्ट थिए र त्यसको भाइका कार्यहरू धार्मिक थिए।
13. प्रिय भाइहरू हो, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने तिमीहरू अचम्म नमान।
14. हामीले आफ्ना भाइहरूलाई प्रेम गरेका हुनाले हामीहरू मृत्युबाट जीवनमा सरेका कुरा जान्दछौं। तर जसले आफ्ना भाइहरूलाई प्रेम गर्दैन त्यो अझै पनि मृत्युमा नै रहन्छ।
15. जसले आफ्ना दाज्यू-भाइलाई घृणा गर्छ त्यो साँच्चै नै हत्यारा हो अनि कुनै पनि हत्यारासित अनन्त जीवन हुँदैन भन्ने कुरा तिमीहरू जान्दछौ ।
16. यसैमा हामीले परमेश्वरको प्रेम के हो थाहा पाउँछौं, किनभने उहाँले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो, यसैकारण हामीले पनि आफ्नो दाज्यू-भाइका निम्ति आफ्नो प्राण अर्पण गर्नुपर्छ।
17. तर कसैसित यस संसारको प्रशस्त धनसम्पत्ति छ र आफ्नो दाज्यू-भाइहरू खाँचोमा परेको देखेर पनि उनीहरूलाई सहायता गर्न इन्कार गर्छ भने परमेश्वरको प्रेम त्यस व्यक्तिमा कसरी वास गर्न सक्छ र?
18. मेरा साना नानीहरू हो, हामी एक-अर्कालाई शब्द र बोलीले मात्र प्रेम नगरौं तर कार्य र सत्यतामा प्रेम गरौं।
19. यसैद्वारा हामी सत्यताबाटका रहेछौं भनी थाहा पाउँछौं र उहाँको सामुन्ने हाम्रो हृदयलाई ढाडस दिनसक्छौं।
20. किनकि यदि हाम्रो हृदयले हामीलाई दोष दिए तापनि परमेश्वर त हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ र उहाँले सबै कुरा जान्नुहुन्छ।
21. प्रिय हो, यदि हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने हामी परमेश्वरकहाँ हिम्मतसाथ आउन सक्छौं।
22. अनि हामी उहाँलाई जे माग्छौं सो उहाँबाट पाउँदछौं, किनभने हामी उहाँका आज्ञापालन गर्दछौं र उहाँका दृष्टिमा मनपर्दो कार्य गर्दछौं।
23. अनि उहाँको आज्ञा यही हो, हामीले उहाँको पुत्र, येशू ख्रीष्टमा विश्वास गर्नुपर्छ र उहाँले हामीलाई आज्ञा दिनुभएअनुसार एक-अर्कालाई प्रेम गर्नुपर्छ।
24. जसले उहाँका आज्ञापालन गर्दछ, ऊ उहाँमा रहन्छ र उहाँ उसमा रहनुहुन्छ। अनि उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा उहाँ हामीभित्र वास गर्नुहुन्छ भनी हामी जान्दछौं।
|