1. प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् तिनीहरूलाई जाँचेर हेर, किनभने अहिले यस संसारमा धेरै झूटा अगमवक्ताहरू छन्।
2. यसरी नै तिमीहरूले परमेश्वरको आत्मालाई चिन्छौ: येशू ख्रीष्ट मानव शरीरमा आउनुभएको हो भनी स्वीकार गर्ने हरेक आत्मा परेमश्वरबाटको हो।
3. अनि येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाटको होइन। यस किसिमको आत्मा ख्रीष्ट-विरोधी आत्मा हो। त्यो यस संसारमा आउँछ भनेर जसको विषयमा तिमीहरूले सुनेका थियौ अनि अघि नै आइसकेको छ।
4. साना नानीहरू हो, तिमीहरू परमेश्वरबाटका हौ। तिमीहरू ती झूटा अगमक्ताहरूमाथि विजयी भएका छौ, किनभने जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ।
5. ती मानिसहरू यस संसारका हुन्, यसकारण तिनीहरू संसारकै कुरा गर्दछन् र संसारले तिनीहरूका कुरा सुन्छ।
6. तर हामी परमेश्वरका हौं। जसले परमेश्वरलाई चिन्छ उसले हाम्रो कुरा सुन्छ। यदि तिनीहरू परमेश्वरका होइनन् भने हाम्रा कुरा पनि सुन्दैनन्। यसैबाट हामी सत्यका आत्मा र भ्रमको आत्मालाई चिन्छौं।
7. प्रिय हो, हामी एक-अर्कालाई प्रेम गरौं, किनकि प्रेम परमेश्वरबाट आउँछ। प्रेम गर्ने हरेक व्यक्ति परमेश्वरबाट जन्मेको हुन्छ र परमेश्वरलाई चिन्छ।
8. हरेक व्यक्ति जसले प्रेम गर्दैन, त्यसले परमेश्वरलाई चिन्दैन, किनकि परमेश्वर प्रेम हुनुहुन्छ।
9. परमेश्वरले हामीलाई कति धेरै प्रेम गर्नुभएको छ भन्ने कुरा हामी यसैबाट थाहा पाउँछौं, किनकि हामी उहाँद्वारा जिउन सकौं भनेर उहाँले आफ्नो पुत्रलाई यस संसारमा पठाउनुभयो।
10. यो नै वास्तविक प्रेम हो। हामीले परमेश्वरलाई प्रेम गरेका होइनौं तर उहाँले हामीलाई प्रेम गर्नुभयो र आफ्नो एकमात्र पुत्रलाई हाम्रो पापको निम्ति क्षतिपूर्त्ति हुन पठाउनुभयो।
11. प्रिय हो, यदि परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभयो भने निश्चय नै हामीले पनि एक-अर्कालाई प्रेम गर्नैपर्छ।
12. कसैले परमेश्वरलाई कहिल्यै देखेको छैन। तर यदि हामीले एक-अर्कालाई प्रेम गर्यौं भने परमेश्वर हामीमा रहनुहुन्छ र उहाँको प्रेम हामीमा पूर्ण भएको हुन्छ।
13. यसैले हामी जान्दछौं कि हामी उहाँमा र उहाँ हामीमा रहनुहुन्छ किनभने उहाँले हामीलाई आफ्नो आत्मा दिनुभएको छ।
14. अनि अझै भन्नुपर्दा, हामीले उहाँलाई आफ्नै आँखाले देखेका छौं र परमेश्वर पिताले आफ्नो पुत्रलाई संसारको मुक्तिदाता हुनलाई पठाउनुभयो भनी हामी अहिले गवाही दिन्छौं।
15. कसैले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ भने परमेश्वर त्यो व्यक्तिमा वास गर्नुहुन्छ र त्यो व्यक्ति उहाँमा जिउँछ
16. अनि हामीप्रति परमेश्वरले कति धेरै प्रेम गर्नुभएको छ भन्ने कुरा हामी जान्दछौं र हामी उहाँमा विश्वास गर्दछौं। परमेश्वर प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ। त्यो परमेश्वरमा रहन्छ अनि परमेश्वर त्यसमा रहनुहुन्छ।
17. न्यायको दिनमा हामी निर्धक्क हुनसकौं भनेर प्रेम हामीमा सिद्ध भएको छ, किनकि उहाँ जस्तो हुनुहुन्छ, हामी पनि यस संसारमा त्यस्तै छौं।
18. प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले सबै किसिमको डरलाई हटाउँछ। किनकि डरमा पीडा समावेश हुन्छ, जो डराउँछ ऊ प्रेममा सिद्ध पारिएको छैन।
19. हामी उहाँलाई प्रेम गर्छौं, किनभने उहाँले पहिले हामीलाई प्रेम गर्नुभयो।
20. यदि कसैले ‘म परमेश्वरलाई प्रेम गर्छु’ भन्छ, तर आफ्नो दाज्यू-भाइलाई घृणा गर्छ भने त्यो व्यक्ति झूट हो, किनकि जसले आफूले देखेको आफ्नो दाज्यू-भाइलाई प्रेम गर्दैन, त्यसले नदेखेको परमेश्वरलाई कसरी प्रेम गर्नसक्छ र?
21. अनि हामीले उहाँबाट यो आज्ञा पाएका छौं कि जसले परमेश्वरलाई प्रेम गर्छ, त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्छ।
|