1. म यो अर्ती दिन्छु कि सबैभन्दा पहिले विन्ती, प्रार्थना, अन्तर्विन्ती र धन्यवाद सबै मानिसहरूका निम्ति चढाइऊन्।
2. राजाहरू र सबै उच्च अधिकारीहरूका निम्ति पनि, यसैले कि हामी सारा भक्ति र इमानदारीमा शान्तिपूर्ण निर्धक्क जीवन बिताउनसकौं।
3. हाम्रा मुक्तिदाता परमेश्वरको दृष्टिमा जो असल र ग्रहणीय छ।
4. सबै मानिसहरूले मुक्ति पाऊन् र सत्यको ज्ञानमा आऊन् भन्ने उहाँ चाहनुहुन्छ।
5. किनभने परमेश्वर एउटै हुनुहुन्छ, साथै परमेश्वर र मानिसहरूका बीचमा मध्यस्थ पनि एकै जना हुनुहुन्छ, जो मानिस, ख्रीष्ट येशू हुनुहुन्छ।
6. जसले सबैका लागि छुटकाराको मोलको रूपमा आफैलाई सुम्पिदिनुभयो, जसको साक्षी ठीक समयमा दिइयो।
7. अनि यसैको निम्ति म एक प्रचारक, प्रेरित अनि विश्वास र सत्यतामा अयहूदीहरूका निम्ति शिक्षक नियुक्त भएँ-म साँचो भन्दछु, ढाँट्दिनँ।
8. यसैकारण पुरुषहरूले सबै ठाउँमा पवित्र हात उठाएर बिनाक्रोध र बिनाविवाद प्रार्थना गरून् भन्ने म चाहन्छु।
9. यसरी नै स्त्रीहरूले योग्य स्वभाव र भद्रतासहित सुहाउने वस्त्रले आफूलाई सिँगारून्, केशको बढी सिँगार गरेर, सुन, मोती वा बहुमूल्य वस्त्रहरू पहिरेर होइन,
10. तर असल कामद्वारा सुसज्जित होऊन्, जो परमेश्वरको भक्ति गर्ने स्त्रीहरूलाई सुहाउँछ।
11. स्त्रीले पूरा अधीनतामा बसेर चुपचापसँग सिकून्।
12. तर म स्त्रीले शिक्षा दिने र पुरुषमाथि अधिकार जमाउने अनुमति दिन्नँ, बरु तिनी चुपचापै रहून्।
13. किनकि आदम पहिले बनाइए, त्यसपछि हव्वा।
14. आदम बहकिएका होइनन्, तर स्त्री बहकिएर अपराधमा फसेकी हुन्।
15. तापनि तिनी आत्मसंयमसित विश्वास, प्रेम र पवित्रतामा लागिरहिन् भने सन्तान जन्ममा बचाइनेछिन्।
|