1. यो सत्य भनाइ हो यदि कुनै मानिसले बिशपको काम गर्छ भने त्यसले असलै कामको इच्छा गरेको हो।
2. यसकारण बिशप निर्दोष, एउटै पत्नीका पति, संयमी, समझदार, सुशील, अतिथिसत्कार गर्ने, सिकाउनमा सिपालु हुनुपर्छ।
3. मतवाला,रिसाहा,अनुचित स्वार्थ-लाभ खोज्ने होइन तर भद्र, झगडा नगर्ने, धनको लोभ नगर्ने,
4. घरगृहस्थी सुचारुरूपले सम्हाल्ने, छोराछोरीलाई अधीनमा राखी आफ्नो मानमर्यादामा बस्ने हुनुपर्छ।
5. आफ्नै घरगृहस्थी सम्हाल्न नसक्नेले परमेश्वरको मण्डलीको कसरी रेखदेख गर्नसक्छ र?
6. तिनी विश्वासमा आएका नयाँ व्यक्ति नहोऊन्, नत्र त घमण्डले फुलिएर उनी शैतानको दण्डमा पर्लान्।
7. फेरि बाहिरकाहरूमा पनि राम्रो मानमर्यादा पाएको हुनुपर्छ, नत्र त अपमानित हुनसक्छन् र शैतानको युक्तिमा पर्नसक्छन्।
8. यसैगरी, डिकनहरू पनि आदरको योग्य, निष्कपट, पियक्कड र अनुचित स्वार्थ-लाभ नखोज्ने हुनुपर्छ।
9. बरु विश्वासको गहिरो रहस्यलाई विशुद्ध विवेकसहित थामेर राख्ने हुनुपर्छ।
10. तर उनीहरू पनि पहिले जाँचिऊन्, त्यसपछि निर्दोष पाइए भने उनीहरूले डिकनको सेवा गरून्।
11. त्यसैगरी, उनीहरूका पत्नी पनि मानमर्यादामा बस्ने, अरुको बदनामी नगर्ने तर संयमी र सबै कुरामा विश्वासिलो हुनुपर्छ।
12. डिकन एउटै पत्नीका पति होऊन्। आफ्ना छोराछोरीहरू र आफ्नो घरको प्रबन्ध राम्ररी मिलाउनसक्ने होऊन्।
13. किनकि डिकनले गर्नुपर्ने सेवा जसले राम्ररी गर्छन्, तिनीहरूले आ-आफ्नानिम्ति प्रतिष्ठा र ख्रीष्ट येशूमा भएको विश्वासमा पनि ठूलो भरोसा पाउनेछन्।
14. तिमीकहाँ चाँडै आउने आशा राख्दै म यी कुरा तिमीलाई लेख्दैछु।
15. तर ढिलो भइहाल्यो भने पनि परमेश्वरको घर, जो जीवित मण्डली, सत्यको खाँबो र जग हो, त्यसमा तिमीहरूले कसरी चल्नुपर्छ, सो तिमीहरू जानिराख।
16. यसमा कुनै किसिमको विवाद छैन कि ईश्वरीय स्वभावको रहस्य महान् छ - परमेश्वर स्वयम् शरीरमा प्रकट हुनुभयो, आत्मामा धर्मी ठहरिनुभयो, स्वर्गदूतद्वारा देखिनुभयो, अयहूदीहरूमा घोषित गरिनुभयो, सारा संसारमा विश्वास गरिनुभयो, महिमामा माथि उचालिनुभयो।
|