1. अब तेस्रोपल्ट म तिमीहरूकहाँ आइरहेको छु। ‘‘कुनै पनि दोष दुई वा तीन साक्षीहरूका गवाहीद्वारा साबित गरिनुपर्छ।’’
2. दोस्रोपल्ट तिमीहरूका बीचमा हुँदा मैले तिमीहरूलाई चेताउनी दिएजस्तै अब अनुपस्थितिमा हुँदा पनि म तिमीहरूलाई चेताउनी दिँदै छु। म फेरि आउँदा अगिअगि पाप गर्नेहरू र अरु कसैलाई पनि म छोड्नेछैनँ।
3. किनकि ख्रीष्ट मद्वारा बोल्नुहुन्छ भन्ने सम्पूर्ण प्रमाण म तिमीहरूलाई दिनेछु। तिमीहरूसँगको व्यवहारमा उहाँ दुर्बल हुनुहुन्न तर उहाँ तिमीहरूमा शक्तिशाली हुनुहुन्छ।
4. यद्यपि उहाँ दुर्बलतामा क्रूसमा मर्नुभयो तर अहिले परमेश्वरको सर्वोच्च शक्तिद्वारा उहाँ जीवित हुनुहुन्छ, किनकि हामी पनि दुर्बल छौं तापनि तिमीहरूको सेवा गर्नलाई हामी परमेश्वरको शक्तिद्वारा उहाँसँग जिउँछौं,
5. तिमीहरू विश्वासमा छौ कि छैनौ, आफैलाई जाँचेर हेर। आफैलाई जाँच। जाँचमा असफल भएनौ भने येशू ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ भन्ने तिमीहरूलाई थाहा हुनुपर्ने हो।
6. म आशा गर्छु कि हामी असफल भएका छैनौं भन्ने तिमीहरूले थाहा पाउनेछौ।
7. तिमीहरूले कुनै खराबी गर्न नपरोस् भनी हामी परमेश्वरमा प्रार्थना गर्दछौं। हाम्रो सेवामा हामी सफल भएको देखाउनलाई होइन तर हामी आफै असफलजस्तो देखा परे तापनि तिमीहरूले जे असल छ सो गर्न सक्छौ।
8. किनकि हामी सत्यको विरुद्धमा केही गर्न सक्तैनौं तर सत्यको निम्ति मात्र गर्न सक्छौं।
9. हामी आफै कमजोर र तिमीहरू बलियो हुँदा हामी खुशी हुन्छौं र तिमीहरू सिद्ध हुनसक भनी हामी प्रार्थना गर्दछौं।
10. तिमीहरूबाट अलग हुँदा म यो लेख्दछु, यस हेतुले कि तिमीहरूकहाँ आउँदा प्रभुले मलाई दिनुभएको अधिकार मैले कठोरतापूर्वक प्रयोग गर्न नपरोस्, जुन निर्माण गर्नको निम्ति दिनुभएको हो, भत्काउनलाई होइन।
11. अन्त्यमा प्रिय भाइहरू हो, अब बिदा पाऊँ, आनन्दित होओ, सिद्धताको लक्षय राख। सान्त्वना पाओ, एकै मनको होओ, शान्तिमा बस, प्रेम र शान्तिको परमेश्वर तिमीहरूको साथमा रहनुहुनेछ।
12. एउटाले अर्कोलाई पवित्र चुम्बनले अभिवादन गर।
13. सबै सन्तहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
14. प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको सङ्गति तिमीहरू सबैसँग रहून्।
|