1. फाइदा नभए पनि मैले घमण्ड गर्नु आवश्यक छ तर म प्रभुबाट पाएका दर्शन र प्रकाशहरूबारे बताउन चाहन्छु।
2. म ख्रीष्टमा एक जना मानिसलाई चिन्दछु, चौध वर्ष भयो, शरीरमा हो कि बिनाशरीरमा हो, म जान्दिनँ, परमेश्वरले जान्नुहुन्छ, त्यो मानिस तेस्रो स्वर्गसम्म उचालेर लगियो।
3. म यस मानिसलाई चिन्दछु, शरीरमा हो कि बिनाशरीरमा, त्यो मलाई थाहा छैन तर यो कुरा परमेश्वर जान्नुहुन्छ।
4. त्यो मानिस स्वर्गलोकमा उठाइयो, र त्यहाँ बताउन नहुने कुरा उसले सुन्यो, जुन मानिसले उच्चारणसम्म पनि गर्नुहुँदैन।
5. यस मानिसको पक्षमा म घमण्ड गर्नेछु तर आफ्नै पक्षमा भने मेरो कमजोरीबाहेक अरु कुरामा म घमण्ड गर्नेछैनँ।
6. यदि मैले घमण्ड गर्ने इच्छा नै गरेँ भने पनि म मूर्ख बन्नेछैनँ, किनकि म सत्य बोलिरहेको हुनेछु। तर मानिसले ममा देखेको र मबाट सुनेको भन्दा बढी कसैले मलाई नठानोस् भनेर म घमण्ड गर्नदेखि थामिन्छु।
7. तर प्रशस्त प्रकाशहरूको कारण घमण्डले म बढ्ता नफुलूँ भनेर मलाई सताउन र घमण्डबाट रोक्नलाई शैतानको दूत अर्थात् एउटा काँडो मेरो शरीरमा दिइयो।
8. यो मबाट हटोस् भनेर मैले तीनपल्ट प्रभुसित विन्ती गरेँ।
9. उहाँले मलाई भन्नुभयो, ‘‘मेरो अनुग्रह तेरोनिम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ।’’ यसकारण ख्रीष्टको शक्तिले ममा वास गरोस् भनेर म बरु मेरो कमजोरीमा बढी खुसीसाथ गर्व गर्नेछु।
10. यसकारण ख्रीष्टको खातिर दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाइहरूमा, सतावटहरूमा, आपद्हरूमा म खुसी हुन्छु, किनकि जब म दुर्बल छु, तब म शक्तिशाली हुन्छु।
11. म मूर्ख भएको छु, तिमीहरूले नै मलाई कर लगायौ, वास्तवमा तिमीहरूले मेरो प्रशंसा गर्नुपर्ने थियो। किनभने सर्वोच्च प्रेरितहरूभन्दा म कुनै कुरामा कम थिइनँ।
12. साँचो प्रेरितका लक्षणहरू तिमीहरूका बीचमा सम्पूर्ण धीरजसाथ चिन्हहरू, अचम्मका कामहरू र शक्तिका कामहरूमा प्रकट गरिएका थिए।
13. त्यति मात्र हो कि मैले तिमीहरूको निम्ति एउटा काम गरिनँ, जो अरु मण्डलीहरूमा गर्दै आएको छु, त्यो हो, म तिमीहरूको बोझ बनिनँ। कृपा गरी मलाई यो भूलको निम्ति क्षमा गरिदेओ !
14. अब हेर, तेस्रोपल्ट म तिमीहरूकहाँ आउनलागेको छु। म तिमीहरूका निम्ति बोझ बन्नेछैनँ, किनकि म तिमीहरूको सम्पत्ति होइन तर तिमीहरूलाई नै चाहन्छु । किनभने छोराछोरीले बुबा-आमाको निम्ति होइन, बरु बुबा-आमाले छोराछोरीको निम्ति धन जुटाइदिनुपर्छ।
15. म आफैलाई पनि खुशीसाथ तिमीहरूका निम्ति खर्चिन तयार छु। म तिमीहरूलाई बढ्ता प्रेम गर्छु भने के मैले कम प्रेम पाउने?
16. मैले तिमीहरूलाई बोझ बोकाइनँ, यो ठिक्कै हो, तर मैले चलाकी गरेर तिमीहरूलाई फसाएँ भनी तिमीहरू भन्छौ।
17. निश्चय मैले तिमीहरूकहाँ पठाएका मानिसहरूद्वारा फाइदा उठाएको छैन, के फाइदा उठाएको छु र?
18. मैले तीतसलाई तिमीहरूकहाँ जाने आग्रह गरेँ र अर्को भाइलाई पनि पठाएँ, के तीतसले तिमीहरूबाट केही फाइदा उठाए? के हामी एकै आत्मामा र एकै कदममा चलेनौं र?
19. हामीले आफैलाई बचाउन खोज्ने कुरा मात्र बोलिरहेका छौं भनी के तिमीहरूले सोचिरहेका छौ? परमेश्वरको सामुन्ने हामी ख्रीष्टमा बोलिरहेका छौं र यी सबै तिमीहरूलाई निर्माण गर्नको निम्ति हुन्।
20. किनभने म आउँदा मैले इच्छा गरेबमोजिम तिमीहरूलाई नभेट्टाउँला र तिमीहरूले पनि मलाई आफूले इच्छा गरेबमोजिम भेट्टाउँदैनौ कि भन्ने मलाई डर लागेको छ । सायद त्यहाँ झगडा, डाह, क्रोध, स्वार्थ, बदख्वाइँ, निन्दा-चर्चा, अभिमान र गोलमाल हुन्छ होला।
21. म त्यहाँ आउँदा तिमीहरूका कारण परमेश्वरले मलाई फेरि झुक्न लाउनुहुन्छ भन्ने डर लागेको छ र अशुद्धता, व्यभिचार र छाडापनका पाप अघिबाटै गरेर पश्चात्ताप नगरी त्यतिकै बसिरहने धेरैको निम्ति मैले शोक गर्नुपर्ला।
|