1. तर तिमीहरूकहाँ फेरि शोकित भएर नआऊँ भन्ने मैले आफैमा निश्चय गरेँ।
2. किनकि यदि मैले तिमीहरूलाई शोकित पारेँ भने मद्वारा शोकित भएकोले बाहेक अरु कसले मलाई खुशी पार्ला र?
3. अनि मैले जे कुरा लेखेँ, त्यो यस हेतुले लेखेँ कि म आउँदा जुन व्यक्तिहरूद्वारा मैले आनन्द पाउनुपर्थ्यो, तिनीहरूद्वारा म दु:खित नहोऊँ। किनकि मेरो आनन्द तिमीहरू सबैको आनन्द हुन्छ भन्ने मलाई तिमीहरू सबैको बारेमा भरोसा थियो।
4. किनभने तिमीहरूलाई दु:खित तुल्याउन होइन तर तिमीहरूप्रति भएको मेरो प्रशस्त प्रेम तिमीहरूले जान भनेर हृदयको धेरै पीडा र वेदनामा धेरै आँसु बगाउँदै मैले तिमीहरूलाई लेखेथेँ।
5. तर कसैले शोकित तुल्याएको छ भने उसले मलाई होइन, तर साह्रै कडा गरी नभन्ने हो भने तिमीहरू सबैलाई केही हदसम्म दु:खित तुल्याएको छ।
6. त्यस्तालाई बहुमतद्वारा दिइएको सजाय पर्याप्त छ।
7. यसकारण बरु तिमीहरूले त्यसलाई क्षमा र सान्त्वना दिनुपर्छ, नत्र त त्यो मानिस साह्रै ठूलो शोकमा डुब्नेछ।
8. यसकारण म तिमीहरूलाई अनुरोध गर्दछु कि त्यस व्यक्तिलाई तिमीहरू झन् आफ्नो प्रेमको प्रमाण देऊ।
9. यसैकारण तिमीहरूलाई जाँच्न र हरेक कुरामा तिमीहरू आज्ञाकारी छौ कि छैनौ भन्ने थाहा पाउनलाई मैले तिमीहरूलाई लेखेथेँ।
10. जसलाई तिमीहरू क्षमा गर्छौ, म पनि क्षमा गर्छु। यदि मैले कसैलाई केही कुरामा क्षमा गरेको छु भने, तिमीहरूकै खातिर ख्रीष्टको उपस्थितिमा क्षमा गरेको छु।
11. यसैले कि शैतानले हामीलाई फसाउन नपाओस्, किनकि त्यसका युक्तिहरूका बारेमा हामी अजान छैनौं।
12. जब म ख्रीष्टको सुसमाचारको निम्ति त्रोआसमा आएँ र प्रभुमा मेरोनिम्ति एउटा ढोका खोलियो,
13. तर मेरो भाइ तीतसलाई त्यहाँ नभेट्टाउँदा मेरो मनमा चैन भएन। यसकारण तिनीहरूबाट बिदा लिएर म म्यासिडोनियातर्फ लागेँ।
14. तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई ख्रीष्टमा सधैँ विजयको निम्ति डोर्याउनुहुन्छ, र उहाँको ज्ञानको सुवासना हामीद्वारा हरेक स्थानमा फैलाउनुहुन्छ।
15. किनकि मुक्ति पाएकाहरूमा र नष्ट भइरहेकाहरूमा हामी परमेश्वरको निम्ति ख्रीष्टको मीठो बास्ना हौं।
16. हामी कतिका लागि मृत्युका निम्ति मृत्युको गन्ध हौं, र कतिका निम्ति जीवनका सुवासना हौं। यस्ता कुराको योग्य को छ र?
17. किनकि हामी ती धेरै मानिसहरूजस्ता होइनौं, जसले परमेश्वरको वचन आफ्नै फाइदाको निम्ति बङ्गयाउँछन्, तर हामी परमेश्वरबाट पठाइएका चोखो मन भएकाहरूले झैँ परमेश्वरका सामु ख्रीष्टमा बोल्दछौं।
|