1. के हामी फेरि आफ्नै तारिफ गर्न थालेका छौं? अथवा के कोही मानिसहरूलाई झैँ हामीलाई पनि तिमीहरूलाई अथवा तिमीहरूबाट सिफारिसपत्रको आवश्यकता पर्छ र ?
2. तिमीहरू नै हाम्रा सिफारिसपत्र हौ, जो सबै मानिसहरूले चिन्न र पढ्न सक्नेगरी तिमीहरूका हृदयमा लेखिएको छ।
3. यो प्रकट भएको छ, तिमीहरू ख्रीष्टका पत्र हौ, जसको सेवा हामीद्वारा भएको छ, जो मसीले लेखिएको होइन तर जीवित परमेश्वरका आत्माले, ढुङ्गाको पाटीहरूमा होइन तर हृदयका पाटीहरूमा लेखिएको छ।
4. हाम्रो भरोसा ख्रीष्टद्वारा परमेश्वरप्रति यस्तै छ।
5. कुनै पनि कुरा हामीबाट आएको हो भनी दाबी गर्न हामी आफै योग्य छैनौं तर हाम्रो योग्यता परमेश्वरबाट आउँछ।
6. उहाँले नै हामीलाई नयाँ करारका सेवकहरूको रूपमा योग्य तुल्याउनुभयो, लिखित अक्षरमा होइन तर पवित्र आत्मामा। किनभने लिखित अक्षरले त मार्छ तर पवित्र आत्माले जीवन दिनुहुन्छ।
7. तर यदि ढुङ्गामा लेखिएको र खोपिएको मृत्युको सेवा महिमित भएको थियो भने, यहाँसम्म कि इस्राएलका सन्तानले मोशाको अनुहारको तेजले गर्दा उनको अनुहार डीठ लगाएर हेर्नसक्तैन थिए, जुन तेज घटेर जाँदै पनि थियो।
8. आत्माको सेवा साँच्चै झन् कसरी महिमित नहोला त?
9. किनभने दोषी ठहराउने सेवा महिमित थियो भने, धार्मिकताको सेवा अझ बढी महिमित हुनेछ।
10. किनभने जो एकपल्ट महिमामय थियो, अहिले त्यसलाई उछिन्ने महिमा आएकोले गर्दा अब त्यो महिमामय रहेन।
11. किनकि जो बितेर गयो, त्यो महिमासाथ आएको थियो भने स्थायी रहिरहने त झन् बढी महिमापूर्ण हुनुपर्छ।
12. यसकारण हाम्रो यस्तो आशा भएकोले हामी आफ्नो बोलीमा अत्यन्तै साहसी बनेका छौं।
13. हामी मोशाजस्तै होइनौं, जसले आफ्नो धमिलिँदै गएको महिमाको अन्तिम झलक इस्राएलीहरूले नदेखून् भनेर आफ्नो अनुहारमा घुम्टो हाल्नेगर्थे।
14. तर ती मानिसहरूका मन कठोर भएका थिए, किनकि आजको दिनसम्मै पुरानो करार पढ्दा त्यो घुम्टो उठाइएको छैन। त्यो घुम्टोख्रीष्टद्वारा मात्र हटाइन्छ।
15. हो, आजसम्म पनि मोशाको पुस्तक पढ्दा तिनीहरूका हृदयमा घुम्टो हालिएको हुन्छ।
16. तर जब मानिस प्रभुतर्फ फर्कन्छ, तब त्यो घुम्टो हटाइन्छ।
17. अब प्रभु आत्मा हुनुहुन्छ र जहाँ प्रभुका आत्मा हुनुहुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।
18. हामी सबैले घुम्टो हटाइएको अनुहारले प्रभुको महिमा प्रतिबिम्बित गरेका हुन्छौं र हामी महिमादेखि महिमातिर बढ्दै उहाँको स्वरूपमा बद्लिँदै जान्छौं। यो परमप्रभुबाट आउँछ, जो आत्मा हुनुहुन्छ।
|