1. परमेश्वरका सहकर्मी भएको हुनाले हामी तिमीहरूलाई विन्ती गर्छौं कि उहाँको अनुग्रह व्यर्थ हुन नदेओ।
2. किनभने उहाँ भन्नुहुन्छ, ‘‘ग्रहणीय समयमा मैले तिम्रो पुकारा सुनेँ र मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरेँ।’’ हेर, ग्रहणीय समय अहिले हो, मुक्तिको दिन अहिले हो।
3. हाम्रो सेवा बदनाम नहोस् भनेर हामी कसैलाई बाधा दिने काम गर्दैनौं,
4. तर सबै कुरामा परमेश्वरका सेवकहरू हौं भनी प्रमाणित गर्दै, ज्यादै सहनशीलतामा, कष्टमा, कठिनाइमा, आपद्-विपद्मा,
5. कुटाइ-चुटाइमा, कैदमा, हूलदङ्गामा, परिश्रममा, अनिदोमा बस्दा, भोकमा,
6. शुद्धतामा, ज्ञानमा, धैर्यमा, दयामा, पवित्र आत्मामा र साँचो प्रेममा,
7. सत्य बोलीमा, परमेश्वरको शक्तिमा, दाहिने र देब्रेपट्टि धार्मिकताको अस्त्रशस्त्र धारण गरेर,
8. आदरमा र अनादरमा, बदनाममा र सुनाममा हामी ठगाहाझैँ ठानिन्छौं तर हामी सत्य छौं।
9. अपरिचित भए तापनि सुपरिचित छौं। मर्न लागेका झैँ तापनि हामी बाँचेकै छौं। सजाय भोगेका, तापनि मारिएका छैनौं।
10. अफसोसी तापनि सधैँ आनन्दित। गरीब भए तापनि धेरैलाई धनी तुल्याउने। केही नभएजस्तो तापनि सबै थोक भएका जस्ता छौं।
11. ए कोरिन्थीहरू हो, हामीले तिमीहरूलाई प्रस्टै भनिदिएका छौं, हाम्रो हृदय तिमीहरूका निम्ति खुला छ।
12. तिमीहरूका लागि हाम्रो हृदय साँघुरो भएको छैन तर तिमीहरू पो आफ्नो हृदयमा साँघुरा छौ।
13. अब म आफ्नै बालकहरूलाई झैँ भन्दछु, कि तिमीहरूले पनि आफ्ना हृदय खुला राख।
14. विश्वास नगर्नेहरूसँग एउटै जुवामा ननारिओ; किनकि के धार्मिकताको अधार्मिकतासँग साझेदारी हुन्छ? अथवा अँध्यारोसित उज्यालोको के सहभागिता?
15. ख्रीष्टको शैतानसित के मेल? विश्वास गर्नेको विश्वास नगर्नेसित के समानता?
16. मूर्त्तिहरूसँग परमेश्वरको मन्दिरको के सम्झौता? किनभने हामी जीवित परमेश्वरका मन्दिर हौं, जसरी परमेश्वरले भन्नुभएको छ, ‘‘म तिनीहरूमा वास गर्नेछु र तिनीहरूका बीचमा हिँडडुल गर्नेछु र म तिनीहरूका परमेश्वर हुनेछु अनि तिनीहरू मेरा प्रजा हुनेछन्।’’
17. ‘‘यसकारण तिनीहरूका बीचबाट निस्केर आओ र तिनीहरूबाट तिमीहरू अलग होओ, परमप्रभु भन्नुहुन्छ। अशुद्ध कुरा केही नछोओ र म तिमीहरूलाई ग्रहण गर्नेछु।
18. म तिमीहरूका पिता हुनेछु र तिमीहरू मेरा छोराछोरीहरू हुनेछौ,’’ सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
|