1. तर इस्राएलीहरूको बीचमा झूटा अगमवक्ता भएझैँ तिमीहरूका बीचमा पनि झूटा शिक्षकहरू हुनेछन्। तिनीहरूले परमेश्वरको बारेमा विनाशकारी झूटा शिक्षा सिकाउँछन् कि तिनीहरूलाई उद्धार गर्नुहुने सार्वभौम प्रभुलाई पनि तिनीहरूले इन्कार गर्दछन्- तिनीहरूको अन्त भयानक रीतिले हुन्छ।
2. धेरै जनाले तिनीहरूका विलासी आचरणलाई पछयाउनेछन् र तिनीहरूकै कारण येशू र उहाँको सत्यताको मार्गको बदनामी हुनेछ।
3. तिनीहरू लोभमा परेर आफूले कथेका कथाहरूद्वारा तिमीहरूलाई शोषण गर्नेछन्, तिनीहरूको न्याय अब धेरै लामोसम्म जानेछैन र तिनीहरूको विनाश निश्चित छ।
4. स्वर्गदूतहरूले पाप गर्दा परमेश्वरले तिनीहरूलाई बाँकी राख्नुभएन, तिनीहरूलाई नरकमा फालिदिनुभयो र न्यायको दिनसम्मको निम्ति पातालभित्रको अन्धकारको खाडलमा फालिदिनुभयो ।
5. धार्मिकताका प्रचारक नोआ र तिनको परिवारका सात जना सदस्यबाहेक परमेश्वरले प्राचीन संसारलाई बाँकी राख्नुभएन । त्यसपछि परमेश्वरले भक्तिहीनहरूको संसारलाई जलप्रलयद्वारा नाश गर्नुभयो।
6. पछि उहाँले सदोम र गमोरा भन्ने शहरलाई भस्म पारेर तिनको अस्तित्व संसारबाट नै मेटाइदिनुभयो र भक्तिहीनहरूका सामु तिनीहरूलाई एक नमुना बनाउनुभयो।
7. त्यही समयमा परमेश्वरले अनैतिक आचरणका मानिसहरूद्वारा थिचिएका धार्मिक लोतलाई बचाउनुभयो।
8. ती मानिसहरूका माझमा बस्दा अनि दिन-प्रतिदिन तिनीहरूका कुकर्म देख्दा र सुन्दा तिनी आफ्नो धार्मिक आत्मामा व्याकुल भएका थिए।
9. यसकारण भक्त मानिसलाई परीक्षाबाट बचाउन र दुष्ट मानिसलाई न्यायको दिनसम्म कसरी राख्ने भन्ने कुरा परमेश्वरलाई थाहा थियो।
10. यो विशेषगरी, तिनीहरूको सम्बन्धमा सत्य छ, जो पापमय स्वभावका भ्रष्ट इच्छालाई पछयाउँछन् र अधिकारलाई घृणा गर्छन्, तिनीहरू हठी र अहङ्कारी छन्, किनकि तिनीहरू स्वर्गका प्राणीहरूको निन्दा गर्न डराउँदैनन्।
11. स्वर्गदूतहरू, जो शक्ति र सामर्थ्यमा अझ उच्च भए तापनि प्रभुको सामुन्ने तिनीहरूले ती प्राणीहरूलाई निन्दापूर्ण दोष दिँदैनन्।
12. तर ती झूटा शिक्षकहरू विवेकहीन जनावरहरूजस्ता छन् र स्वाभाविक इच्छाहरूका वशमा रहन्छन्, जो मारिनलाई नै जन्मेका हुन्छन्। यी मानिसहरू आफैले नबुझेका कुराको गिल्ला गर्छन् र तिनीहरू आफ्नै भ्रष्टतामा पूर्णरूपले नाश हुनेछन्।
13. तिनीहरूले, आफूले गरेको खराबीको सट्टा खराबी पाउनेछन् । तिनीहरू दिउँसै भोगविलास गर्न मन पराउँछन्, तिनीहरूका भोजमा तिमीहरूसँगै बसेर खानलाई सुखविलास सम्झने ती छलीहरू दाग र कलङ्क हुन्।
14. तिनीहरूको आँखा व्यभिचारले भरिएका हुन्छन् र जति पाप गर्दा पनि सन्तुष्ट हुँदैनन्। तिनीहरूले चञ्चल मन भएकाहरूलाई फुस्लाउँछन्, तिनीहरूका हृदयले लोभ गर्ने तालिम पाएका हुन्छन्। तिनीहरू श्रापित सन्तान हुन्।
15. तिनीहरू सोझो बाटो छोडेर बओरको छोरो बालामको पछि लागेका छन्, जसले अधार्मिकताको कमाइको लोभ गर्दछ।
16. तर ऊ आफ्नो दुष्टयाइँको निम्ति हप्काइयो, एक मूक गधाले मानिसको बोली बोलेर अगमवक्ताको पागलपनलाई रोकेको थियो।
17. यी मानिसहरू पानीबिनाका खोला र आँधीले बत्ताएर लैजाने कुइरोजस्ता छन्, तिनीहरूका निम्ति सधैँको लागि घोर अन्धकार साँचेर राखिएको छ।
18. तिनीहरू मूर्खतापूर्ण ठूल्ठूला अहङ्कारका कुरा गर्दछन् र कुमार्गबाट भर्खरै उम्केर आएकाहरूलाई शरीरका विलासमय कामवासनाका कुराले फसाउँछन्।
19. तिनीहरूलाई स्वतन्त्रता दिने प्रतिज्ञा गर्छन् तर तिनीहरू आफै दुष्टताको दास छन्, किनकि मानिस जसद्वारा हार्छ, त्यसैको दास बनाइन्छ।
20. तर यदि प्रभु र मुक्तिदाता येशू ख्रीष्टलाई चिन्ने ज्ञानद्वारा यस संसारको अशुद्धपनबाट उम्केपछि तिनीहरू फेरि पापमा फसेर पराजित भए भने तिनीहरूको पछिल्लो दशा अगाडिको भन्दा झन् खराब हुन्छ।
21. तिनीहरूलाई दिएको पवित्र आज्ञा थाहा पाएर पनि इन्कार गर्दछन् भने तिनीहरूलाई धार्मिकताको बाटो थाहा नहुनु नै असल हो।
22. तिनीहरूको सम्बन्धमा यी उखान सत्य भएको छ, ‘‘कुकुर आफ्नै बान्तामा फर्किआउँछ’’ र ‘‘नुहाइदिएको भुनी फेरि हिलैमा नै खेल्छे।’’
|