1. भाइ हो, अब हाम्रा प्रभु येशू ख्रीष्टको आगमन र हामीहरू उहाँकहाँ भेला हुनेबारेमा तिमीहरूलाई विन्ती गर्दछौं।
2. ख्रीष्टको दिन नजिकै आइपुगेको छ जस्तै गरी आत्माद्वारा वा वचनद्वारा, वा हामीबाट आएको जस्तो पत्रद्वारा तिमीहरू यति चाँडै मनमा थरथर नकाँप, न त विचलित होओ।
3. तिमीहरूलाई कसैले कुनै किसिमले धोका नदेओस्। किनकि पहिले विद्रोह नभएसम्म पापको मानिस अर्थात् सर्वनाशको छोरो प्रकट नभइन्जेलसम्म, त्यो दिन आउनेछैन।
4. त्यसले आफैलाई उचाल्नेछ र हरेक देवलाई इन्कार गर्नेछ, आराधना र पूजाका हरेक वस्तुको विरोध गर्नेछ र परमेश्वरको मन्दिरमा आफैलाई बसाल्नेछ र परमेश्वरको रूपमा प्रकट गर्नेछ।
5. म तिमीहरूसँग रहँदा नै मैले यी कुरा भनेको छु भन्ने के तिमीहरू स्मरण गर्दैनौ?
6. अनि त्यो आफ्नै समयमा प्रकट होस् भनेर त्यसलाई कसले रोकिराखेको छ, सो तिमीहरू जान्दछौ।
7. किनकि अधर्मको रहस्यले अघिदेखि नै काम गरिरहेको छ तर त्यसलाई रोकी राख्नुहुनेचाहिँ आफ्नो बाटोबाट नहटुन्जेल त्यसलाई रोकी राख्नुहुनेछ।
8. अनि त्यो अधर्मी प्रकट हुनेछ, जसलाई प्रभुले आफ्नो मुखको सासले नाश गर्नुहुनेछ र आफ्नो आगमनको तेजले भस्म पार्नुहुनेछ।
9. त्यसको आगमन शैतानको कार्यअनुसार सबै सामर्थ्य, चिन्हहरू र झूटा चमत्कारहरूका साथमा हुन्छ।
10. अनि नष्ट हुनेहरूको बीचमा अधर्मका सबै प्रकारका धोकाबाजीको साथमा हुन्छ, किनभने मुक्ति पाउनका निम्ति तिनीहरूले सत्यको प्रेम ग्रहण गरेनन्।
11. त्यसैले तिनीहरूमाथि परमेश्वरले ठूलो भ्रम पठाउनुहुनेछ र यी सबै झूटा कुरा तिनीहरूले विश्वास गर्नेछन्।
12. त्यसपछि सत्यतालाई विश्वास नगर्नेहरू र अधर्ममा आनन्द मनाउनेहरू सबै जना दोषी ठहरिनेछन्।
13. प्रभुले प्रेम गर्नुभएका भाइहरू, तिमीहरूका निम्ति हामी परमेश्वरमा सधैँ धन्यवाद चढाउन बाद्दे छौं, किनकि शुरुदेखि नै पवित्र आत्माको पवित्र तुल्याउने कामद्वारा र सत्यतामाथिको विश्वासद्वारा मुक्ति पाउनलाई परमेश्वरले तिमीहरूलाई चुन्नुभयो।
14. यसैको निम्ति हाम्रो सुसमाचारद्वारा हाम्रा प्रभु येशू ख्रीष्टको महिमा प्राप्त गर्न उहाँले तिमीहरूलाई बोलाउनुभयो।
15. त्यसैले प्रिय भाइ हो, यी सबै कुरा मनमा राखेर स्थिर बस र हामीले तिमीहरूलाई व्यक्तिगतरूपमा र पत्रद्वारा सिकाएका कुरालाई थामिराख।
16. अब हाम्रा प्रभु येशू ख्रीष्ट, आफैले अनि हामीलाई प्रेम गर्नुहुने र अनुग्रहबाट अनन्त शान्ति र उत्तम आशा दिनुहुने परमेश्वर हाम्रा पिताले,
17. तिमीहरूका हृदयलाई सान्त्वना देऊन् अनि सबै उत्तम काम र वचनमा स्थिर गराऊन्।
|