1. अन्तमा भाइ हो, हाम्रानिम्ति प्रार्थना गरिदेओ र प्रभुको वचन अघि बढोस् र महिमित होस्, जस्तो तिमीहरूको बीचमा भएको थियो।
2. अनि भ्रष्ट र दुष्ट मानिसहरूबाट हामी बँच्न सकौं, किनकि सबै मानिसहरूसँग विश्वास हुँदैन।
3. तर प्रभु विश्वसनीय हुनुहुन्छ, उहाँले तिमीहरूलाई बलियो पार्नुहुन्छ र दुष्ट मानिसबाट सुरक्षित राख्नुहुन्छ।
4. हामीले आज्ञा गरेका कुरा तिमीहरूले गरिरहेका छौ र सधैँ गर्नेछौं भनी प्रभुमा हामी विश्वस्त छौं।
5. प्रभुले परमेश्वरको प्रेमको गहिरो विवेक र ख्रीष्टबाट आउने सहनशीलतामा तिमीहरूलाई डोर्याऊन्।
6. अब हे भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा हामी तिमीहरूलाई आज्ञा दिन्छौं कि बेकाइदासँग चल्ने र हामीबाट पाएका शिक्षाअनुसार नचल्ने हरेक भाइबाट अलग होओ।
7. हाम्रो देखासिकी कसरी गर्नुपर्छ सो तिमीहरूलाई थाहा छ। जब हामी तिमीहरूसँग थियौं, हामी कदापि अल्छे थिएनौं।
8. हामीले कसैको रोटी सित्तैँमा खाएनौं तर तिमीहरूलाई भार नहोस् भनेर हामीले दिनरात र कष्टसाथ काम गर्यौं।
9. हाम्रो सहायता पाउने हक नभएर होइन, तर हाम्रो आचरण तिमीहरूको निम्ति एक आदर्श बनोस् भनेर हामीले त्यसो गर्यौं।
10. तिमीहरूका साथमा हुँदा हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौं, ‘‘कसैले काम गर्दैन भने त्यसले नखाओस्।’’
11. किनकि हामी सुन्छौं, तिमीहरूको बीचमा कति जना अल्छे जीवन बिताइरहेका छन्, तिनीहरूले आफू केही काम गर्दैनन् तर अरुको काममा व्यर्थै हात हाल्दै अनुशासनहीन जीवन बिताउँछन्।
12. अब यस्ताहरूलाई हाम्रा प्रभु येशूको नाउँले आज्ञा र अर्ती दिन्छौं कि तिनीहरूले चुपचाप काम गरेर आ-आफ्नै रोटी खाने गरून्।
13. हे भाइ हो, असल काम गर्न थकित नहोओ।
14. यस पत्रमा हामीले भनेका कुरा नमान्नेलाई चिनी राख र त्यससँग तिमीहरूले सम्बन्ध नराख, यसैले कि ऊ लज्जित होस्।
15. तरै पनि उसलाई शत्रुजस्तो नठान तर भाइलाई जस्तो गरी उसलाई चेताउनी देओ।
16. जेसुकै भए तापनि शान्तिका प्रभुले सदा उहाँको शान्ति देऊन्। प्रभु सदा तिमीहरूसँग रहून्।
17. यो अभिवादन म पावलको आफ्नै हातले लेखेको हुँ। जुन चिन्ह मेरो प्रत्येक पत्रमा हुन्छ, म त्यसैगरी लेख्तछु।
18. हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह, तिमीहरू सबैको साथमा रहून् । आमेन्।
|