1. ख्रीष्ट येशूमा भएको जीवनको प्रतिज्ञाअनुसार परमेश्वरको इच्छाद्वारा येशू ख्रीष्टका प्रेरित पावलबाट,
2. मेरो प्रिय छोरा तिमोथीलाई, परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट अनुग्रह, कृपा र शान्ति।
3. जब म तिमीलाई निरन्तर मेरो प्रार्थनामा दिनरात सम्झिराखेको हुन्छु, म परमेश्वरलाई धन्यवाद दिन्छु, जसको मैले शुद्ध विवेकले सेवा गर्दछु, जसरी मेरा पितापुर्खाले गर्दथे।
4. तिम्रो आँसु सम्झेर तिमीलाई भेट्ने ठूलो इच्छा राख्दछु, यसैले कि म आनन्दले पूर्ण हुनसकूँ।
5. मैले तिमीमा भएको निष्कपट विश्वासको सम्झना गर्दा, जो पहिला तिम्री बज्यै लोइसमा र तिम्री आमा युनिसमा थियो र तिमीमा पनि छ भन्ने मलाई निश्चय छ।
6. यसैकारण म तिमीलाई सम्झना गराउँछु, तिमीमा भएको परमेश्वरको वरदानलाई जल्दोबल्दो पार, जुन मेरो हात रखाइद्वारा तिमीले पाएका थियौ।
7. किनकि परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति , प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ।
8. यसकारण हाम्रो प्रभुको गवाही दिन शर्म नमान, न त म उहाँको कैदीको, तर परमेश्वरको शक्तिमा सुसमाचारको निम्ति तिमी मसँग दु:खभोगमा सहभागी होऊ।
9. उहाँले हामीलाई उद्धार गर्नुभयो र एउटा पवित्र बोलावटद्वारा बोलाउनुभयो। हाम्रो कामको आधारमा होइन, तर उहाँको आफ्नै अभिप्राय र अनुग्रहअनुसार हो, जो उहाँले ख्रीष्ट येशूमा युगौँयुग अघिदेखि हामीलाई दिनुभएको थियो
10. तर यो अब हाम्रो उद्धारकर्ता येशू ख्रीष्टको आगमनद्वारा प्रकट भएको छ, जसले मृत्युलाई नाश गर्नुभयो, अनि जीवन र अमरत्वलाई सुसमाचारद्वारा प्रकाशमा ल्याउनुभयो।
11. यो सुसमाचारको निम्ति, म एक प्रचारक, प्रेरित र शिक्षक नियुक्ति भएको छु।
12. यिनै कुराको निम्ति मैले दु:ख भोगेको छु तर पनि म सर्माउँदिनँ, किनभने मैले कसमाथि विश्वास राखेको छु, त्यो मलाई थाहा छ र मलाई निश्चय छ, जुन कुरा उहाँलाई त्यस दिनको निम्ति मैले सुम्पेको छु, त्यो सुरक्षित राख्नसक्ने उहाँ हुनुहुन्छ।
13. ख्रीष्ट येशूमा भएको विश्वास र प्रेममा तिमीले मबाट जे सुनेका छौ, ती सत्य कुरा पक्रिराख।
14. जुन असल कुरा तिमीलाई दिइएको छ, त्यो हामीमा वास गर्नुहुने पवित्र आत्माको सहयोगमा सुरक्षित राख।
15. तिमीलाई थाहा नै छ, एसियामा हुनेहरू सबै मबाट तर्किएका छन्, तीमध्ये फुगेलस र हर्मोगेनस हुन्।
16. प्रभुले ओनेसिफरसको घरानालाई कृपा गरून् किनभने तिनले मलाई प्राय: हौसला दिन्थे र मेरो साङ्लाको शर्म मान्दैनथिए।
17. तर तिनी रोममा आएपछि धुइँधुइँती खोजी गरेर मलाई भेटेका थिए।
18. प्रभुको दिनमा तिनलाई प्रभुले कृपा प्रदान गरून्, तिमीलाई राम्रै थाहा छ, एफिससमा तिनले विभिन्न प्रकारले मेरो पूरा सेवा गरेका थिए।
|