1. यसकारण तिमी मेरो छोरो, ख्रीष्ट येशूमा भएको अनुग्रहमा बलियो होओ।
2. धेरै जना साक्षीहरूका उपस्थितिमा तिमीले मद्वारा जे कुरा सुनेका छौ, ती अरुलाई पनि सिकाउनसक्ने विश्वसनीय मानिसहरूलाई सुम्पिदेऊ।
3. ख्रीष्ट येशूको असल सिपाहीजस्तैै मसँग दु:ख भोग।
4. सेवामा भर्ना भएको सिपाही आफ्नै सुख-सुविधामा अल्झिएर बस्दैन, किनकि उसलाई भर्ना गर्नेलाई खुशी पार्नु नै उसको लक्षय भएको हुन्छ।
5. यसैगरी नियमबमोजिम नखेली कुनै पनि खेलाडीले इनाम पाउन सक्दैन।
6. जुन किसानले परिश्रम गर्दछ, बालीको पहिलो हिस्सा उसैले पाउनुपर्छ।
7. म जे भन्दछु त्यसमा ध्यान देऊ, किनभने सबै कुरामा प्रभुले तिमीलाई समझ दिनुहुनेछ।
8. मृतकबाट जीवित हुनुभएको दाऊदको वंशको येशू ख्रीष्टलाई याद गर, मैले प्रचार गरेको सुसमाचार यही हो।
9. यही सुसमाचार जसको निम्ति मैले दु:ख भोगिरहेको छु र अपराधीसरह साङ्लाले बाँधिएको छु तर परमेश्वरको वचन त साङ्लाले बाँधिदैन।
10. यसकारण चुनिएकाहरूको निम्ति म सबै कुरा सहन्छु, यसैले कि ख्रीष्ट येशूमा भएको अनन्त महिमासहित तिनीहरूले मुक्ति प्राप्त गर्नसकून्।
11. यो भनाइ निश्चित छ यदि हामी उहाँसँगै मर्यौं भने हामी उहाँसँग जिउने पनि छौं।
12. यदि हामी सहन्छौं भने उहाँसँगै राज्य गर्नेछौं, यदि हामीले उहाँलाई इन्कार गर्छौं भने उहाँले पनि हामीलाई इन्कार गर्नुहुनेछ।
13. हामी विश्वसनीय नभए पनि उहाँ त विश्वसनीय नै भइरहनुहुनेछ, किनभने उहाँले आफैलाई इन्कार गर्न सक्नुहुन्न।
14. तिनीहरूलाई यी कुरा सम्झाइदेऊ र प्रभुको सामुन्ने चेताउनी देऊ, यसैले कि तिनीहरूले शब्दको विषय लिएर वादविवाद नगरून्, यसले असल गर्दैन तर सुन्नेहरूलाई हानी मात्र पुर्याउँछ,
15. आफैले आफैलाई परमेश्वरको निम्ति ग्रहणीय बनाउने भरमग्दुर प्रयत्न गर्दै सर्माउन नपर्ने कामदारजस्तै भएर सत्यको वचन ठीकसँग प्रयोग गर।
16. तर अशुद्ध, व्यर्थको बकबादलाई त्याग, किनकि यसले मानिसलाई झन् बढी भक्तिहीनतातिर लैजान्छ।
17. तिनीहरूका यस्ता कुरा सइनको घाउजस्तै फैलिन्छ। तिनीहरूमध्ये हुमेनियस र फिलेतस हुन्।
18. पुनरुत्थान अघि नै भइसकेको छ भन्दै यिनीहरू सत्यबाट बहकिएका छन् र कति जनाको त विश्वासलाई नै नाश पारिदिएका छन्।
19. तर पनि परमेश्वरको दृढ जग स्थिर नै रहन्छ, जसमा यो छाप लागेको छ। ‘‘प्रभुले आफ्नाजतिलाई चिन्नुहुन्छ’’ र ‘‘जोजतिले प्रभुको नाउँ लिन्छन् तिनीहरू हरेक प्रकारका अधर्मबाट अलग रहून्।’’
20. अब ठूलो घरानामा सुन र चाँदीका भाँडाहरू मात्र हुँदैनन् तर काठ र माटोका पनि हुन्छन्, कुनै आदर र कुनै अनादरको निम्ति हुन्छन्।
21. यसकारण, कुनै मानिसले यी कुराबाट आफूलाई शुद्ध राख्छ भने त्यो सबै असल काममा तम्तयार रहेको मालिकको प्रयोगको निम्ति आदरको योग्य चोख्याइ राखेको भाँडो हुनेछ।
22. त्यसैले जवानीको अभिलाषाबाट भाग र शुद्ध हृदयले प्रभुका नाउँ लिनेहरूसँगसँगै धार्मिकता, विश्वास, प्रेम र शान्तिको पछि लाग।
23. तर मूर्ख र बेसमझका वादविवादबाट अलग बस, तिमीलाई थाहा नै छ यसले झगडा उत्पन्न गर्छ।
24. प्रभुको सेवक झगडालु हुनुहुँदैन, बरु सबै मानिसहरूप्रति कोमल, सिकाउनमा सिपालु, सहनशील,
25. विरोध गर्नेहरूलाई नम्रतासाथ सुधार्ने हुनुपर्छ, सायद परमेश्वरले तिनीहरूको सत्यतालाई बुझेर पश्चात्ताप गर्ने मन दिनुहुन्छ।
26. अनि तिनीहरू चेतना खुलेर शैतानको पासोबाट उम्कनेछन्, जसले तिनीहरूलाई त्यसको इच्छाअनुसार गर्नलाई कैदी बनाएर राखेको छ।
|