1. परमेश्वर जिउँदा र मरेकाहरूको न्याय गर्न आउनुहुने ख्रीष्ट येशूमा, उहाँको आगमन र उहाँको राज्यको सामुन्ने म तिमीलाई कडा आज्ञा दिन्छु
2. वचन प्रचार गर, समय र बेसमयमा तम्तयार रहेर अर्ती देऊ, हप्काऊ, उत्साह देऊ र सहनशीलतासाथ शिक्षा दिने कुरामा नचुक।
3. किनकि यस्तो समय आउनेछ जब तिनीहरूले सत्य सिद्धान्तको शिक्षालाई सहनै नसक्ने हुनेछन् तर आफ्नै अभिलाषाअनुसारको शिक्षा दिने शिक्षकहरूको थुप्रो लगाउनेछन् र जे सुन्नलाई तिनीहरूका कान उत्सुक हुन्छ त्यही मात्र सुन्नेछन्।
4. साथै सत्यबाट कानहरू तर्काएर दन्त्यकथाहरूतिर लगाउनेछन्।
5. तर तिमी सबै कुरामा होशियार हुनू, कष्ट भोग्नू, प्रचारको काम गर्नू र तिम्रो सेवाको काम पूरा गर्नू।
6. किनभने म त बलिको रूपमा अर्पित भइसकेको छु र मेरो बिदाइको बेला आइसकेको छ।
7. मैले उत्तम लडाइँ लडेको छु। मैले दौडलाई पूरा गरेको छु। मैले विश्वासलाई बचाइराखेको छु।
8. अब उप्रान्त मेरोनिम्ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिक न्यायाधीश प्रभुले त्यस दिन मलाई र मलाई मात्र होइन तर उहाँको आगमन प्रिय मान्नेहरू, सबैलाई दिनुहुनेछ।
9. मकहाँ चाँडै आउने सक्दो प्रयत्न गर।
10. किनकि डेमासले यस वर्तमान संसारलाई प्रेम गरी मलाई त्यागेर थेसलोनिकेमा गएको छ, क्रेसेन्स गलातियामा गएका छन्, तीतस दलमातियामा।
11. लूका मात्र मसँग छन्। मर्कूसलाई खोजेर तिमीसँगै लिएर आऊ, किनकि तिनी मेरा सेवाको काममा खूबै उपयोगी छन्।
12. साथै तुखिकसलाई मैले एफिससमा पठाएको छु।
13. त्रोआसमा कार्पसकहाँ मैले छोडेको ओड्ने खास्टो र ती पुस्तकहरू, विशेषगरी चर्मपत्रहरू तिमी आउँदा तिम्रोसाथमा लिएर आउनू।
14. यो तमौटे अलेक्जेन्डरले मलाई साह्रै खराबी गर्यो। प्रभुले त्यसलाई त्यसको कामअनुसारको बदला दिनुहुनेछ।
15. त्यसदेखि तिमी पनि होशियार हुनू, किनकि त्यसले हाम्रो सन्देशको अति नै विरोध गर्यो।
16. मेरो पहिलो प्रतिवादमा कसैले मेरो पक्ष लिएन तर सबैले मलाई त्यागे। यस कुराको दोष तिनीहरूलाई नलागोस्।
17. तर अरु सबै अयहूदीहरूले सुन्नपाऊन् भनेर प्रभु मेरो साथमा खडा हुनुभयो र सम्पूर्णरूपले वचनको प्रचार गर्न मलाई शक्ति दिनुभयोर मैले सिंहको मुखबाट छुटकारा पाएँ।
18. प्रभुले मलाई सबै खराबीबाट जोगाउनुहुनेछ र उहाँको स्वर्गका राज्यको निम्ति मलाई उद्धार गर्नुहुने उहाँलाई सदासर्वदा महिमा होस्। आमेन्।
19. प्रिस्किला र अक्विलालाई र ओनेसिफरसको घरानालाई अभिवादन भनिदेऊ ।
20. इरास्तस कोरिन्थमै रहे, तर त्रोफिमसलाई त मैले मिलेटसमा बिरामी अवस्थामै छोडेँ।
21. सकेसम्म हिउँदअघि नै आउने कोशिश गर। युबुलसले तिमीलाई अभिवादन पठाएका छन् र पुडेस, लिनस, क्लौडिया र सबै भाइ-बहिनीहरूले पनि।
22. प्रभु तिम्रो आत्मासँग रहून्, तिमीसित अनुग्रह रहोस्।
|