1. तर यो जानिराख कि आखिरी दिनहरूमा भयङ्कर डरलाग्दो त्रासपूर्ण समय आउनेछ।
2. किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसामा लोभी, घमण्डी, हठी, ईश्वर-निन्दक, आमा-बुबाको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र,
3. स्वाभाविक प्रेमरहितका, कसै गर्दा पनि खुशी पार्न नसकिने, अरुलाई निन्दाजनक अपमान गर्ने, निर्दयी, दुराचारी, असल कुरालाई घृणा गर्ने,
4. विश्वासघाती, उत्ताउला, घमण्डले फुलेका, परमेश्वरलाई भन्दा सुखविलास नै रुचाउने,
5. भक्तिको भेष धारण गर्ने, तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्, यी मानिसहरूबाट परै बस।
6. किनभने यिनीहरूमध्येकै ती व्यक्तिहरू हुन्, जसले घरघरमा पसेर नानावलीका पापका कुइच्छाले भरिएका विभिन्न अभिलाषामा परेका कमजोर स्त्रीहरूलाई आफ्नो कब्जामा पार्दछन्।
7. जुन स्त्रीहरू सिक्न त सधैँ सिक्छन् तर सत्यको ज्ञानमा भने कहिल्यै पनि आउनसक्दैनन्।
8. मोशालाई विरोध गर्ने यान्नेस र याम्ब्रेसजस्तै यिनीहरू पनि सत्यको विरोध गर्दछन्। यिनीहरू बुद्धि बिग्रिएर भ्रष्ट भएका र विश्वासको विषयमा भन्ने हो भने त रद्दी मानिसहरू नै हुन्।
9. तर यिनीहरू अब धेरै टिक्न सक्नेछैनन्, किनकि यी दुई जनाको जस्तै यिनीहरूको मूर्खता पनि सबै मानिसमा प्रकट भएको छ।
10. अब त तिमीले मेरो शिक्षा, मेरो चरित्र, मेरो जीवनको लक्षय, मेरो विश्वास, मेरो धैर्य, मेरो प्रेम, मेरो स्थिरता देखेका छौ।
11. मेरा सतावट र मेरा कष्टहरू एन्टिओकमा, आइकोनियनमा र लुस्त्रामा ममाथि जे पर्न आयो र कस्ता कस्ता कष्ट र खेदो मैले सहेँ, तापनि ती सबैबाट प्रभुले मलाई छुटकारा दिई बचाउनुभयो।
12. ख्रीष्ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्छा गर्नेहरू सबै जना खेदोमा पर्ने नै छन्।
13. तर दुष्ट-पाखण्डी मानिसहरू र धोकेबाजहरू धोका दिँदै र खाँदै झन् दुष्ट-भ्रष्ट हुँदै जानेछन्।
14. तर तिमी आफूले सिकेका र दृढ विश्वास गरेका कुरामा नै लागिरह, ती कसबाट सिकेका छौ, सो तिमी आफैलाई थाहा छ।
15. तिमीले बाल्यावस्थादेखि नै पवित्रशास्त्र जानेका छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई बुद्धिमान् बनाउँछ।
16. परमेश्वरद्वारा प्रेरणा भएको सम्पूर्ण पवित्रशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकताको तालिमको निम्ति उपयोगी हुन्छ।
17. यसैले कि परमेश्वरको जन प्रत्येक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्।
|