1. तब तिनी डर्बी र त्यसपछि लुस्त्रा गए । त्यहाँ तिनले एक चेला तिमोथीलाई भेटे, जसको आमा यहूदी विश्वासी र बुबा ग्रीक थिए।
2. लुस्त्रा र आइकोनियनका भाइहरूले तिमोथीको बारेमा राम्रो कुरा गर्थे।
3. पावलले तिनलाई आफ्नो यात्रामा लैजाने इच्छा गरे। यहूदीहरूको क्षेत्रलाई ध्यानमा राख्दै, त्यो ठाउँ छोड्नुभन्दा अघि तिनको खतना गराए, किनभने तिनको बुबा ग्रीक हुन् भन्ने कुरा सबैलाई थाहा थियो।
4. यसरी एकदेखि अर्को शहर भएर जाँदा तिनीहरूले यरूशलेमका प्रेरितहरू र एल्डरहरूले गरेका निर्णयहरू उनीहरूलाई पालन गर्नू भनी बताए।
5. यसरी मण्डलीहरू आफ्ना विश्वासमा बलिया भए र दिनहुँ संख्यामा पनि बढ्दै गए।
6. अनि तिनीहरूले फ्रिगिया र गलातियाको क्षेत्र हुँदै यात्रा गरे, किनभने त्यो समय पवित्र आत्माले तिनीहरूलाई एसियाको प्रान्तभित्र नजानू भनी बताउनुभएको थियो।
7. त्यसपछि माइसियाको सिमाना हुँदै बिथिनियातर्फ जान चाहे तर आत्माले मनाही गर्नुभयो।
8. यसर्थ, तिनीहरू माइसिया हुँदै त्रोआसतिर ओर्ले।
9. त्यो रात पावलले दर्शन पाए। उत्तरी ग्रीस स्थित म्यासिडोनियाबाट एक जना मानिसले ‘हामीकहाँ आउनुहोस् र हामीलाई सहायता गर्नुहोस्’ भन्दै पुकारा गरेको तिनले देखे।
10. यो दर्शनपछि हामीले तुरुन्तै म्यासिडोनिया जाने निर्णय गर्यौं, किनभने परमेश्वरले हामीलाई त्यहाँ सुसमाचार प्रचार गर्न बोलाउनुभएको हो भन्ने निर्णयमा हामी पुग्यौं।
11. तब हामीहरू त्रोआसमा अडिएको जहाजमा चढी सोझै सामोथ्राके टापुतिर लाग्यौं र भोलिपल्ट नियापोलिस आइपुग्यौं।
12. हामी नियापोलिसबाट रोमी उपनिवेश साथै म्यासिडोनिया जिल्लाको प्रमुख शहर, फिलिप्पीमा आइपुग्यौं र धेरै दिन त्यहाँ बितायौं।
13. हामी विश्राम-दिनमा शहरदेखि अलिक बाहिर नदीको किनारमा गयौं, जहाँ मानिसहरू प्रार्थनामा भेला हुन्छन् भन्ने अनुमान लगायौं र त्यहाँ बसेर जम्मा भएका स्त्रीहरूसँग बातचित गर्न लाग्यौं।
14. बैजनी वस्त्रको व्यापारी थिआटीरा निवासी लिडिया तिनीहरूमध्ये एक थिइन्। तिनी परमेश्वरको एक भक्त थिइन्। जुन बेला तिनले, हामीले बोलेका कुरा सुनिन्, प्रभुले तिनको हृदय खोलिदिनुभयो र पावलका कुरा तिनले स्वीकार गरिन् ।
15. आफ्नो परिवारका अन्य सदस्यहरूसितै तिनले बप्तिस्मा लिइन् र तिनले हामीलाई कर लगाउँदै भनिन्, ‘‘यदि तपाईंहरूले मलाई प्रभुमा विश्वसनीय ठान्नुहुन्छ भने, मेरो घरमा आएर बसिदिनुहोस्।’’
16. हामी एक दिन प्रार्थना गर्ने ठाउँमा गइरहेका थियौं, भूतात्माले ग्रस्त एक कमारी केटीसँग हाम्रो भेट भयो, जसले जोखना हेरेर त्यसका मालिकहरूका निम्ति धेरै कमाइ गरिदिन्थी।
17. त्यो पावल र हाम्रोपछि लागेर यसो भन्दै चिच्च्याइ, ‘‘यिनीहरू सर्वोच्च परमेश्वरका सेवकहरू हुन् र यिनीहरूले तपाईंहरूलाई मुक्तिको मार्गको घोषणा गर्छन्।’’
18. त्यसले धेरै दिनसम्म यसो गरिरही। तब पावलले झिँजो मानेर फनक्क फर्की दुष्टात्मालाई भने, ‘‘म येशू ख्रीष्टको नाउँमा तँलाई त्यसबाट निस्कने आज्ञा गर्दछु।’’ अनि तुरुन्तै त्यसले त्यो केटीलाई छोडयो।
19. त्यसका मालिकहरूले सम्पत्ति कमाउने आशा टुटेको देखेर पावल र सिलासलाई समाते अनि बजारको चोकमा शासकहरूकहाँ तान्दै लगे
20. र घिस्स्याउँदै हाकिमहरूकहाँ ल्याएर भने, ‘‘यी मानिसहरू यहूदी हुन् र पनि यिनीहरूले हाम्रो शहरमा गोलमाल मच्चाउँछन्।
21. यिनीहरूले मानिसहरूलाई यस्ता कुरा गर्न सिकाइरहेका छन्, जुन ग्रहण गर्नु र पालन गर्नु हामी रोमीहरूलाई उचित हुँदैनँ।’’
22. तुरुन्तै पावल र सिलासको विरुद्धमा एक ठूलो भीड जाइलाग्यो अनि शहरका हाकिमहरूले तिनीहरूका लुगा फुकालेर छडी लगाउने आदेश दिए।
23. उनीहरूले तिनीहरूलाई धेरै छडी लगाएपछि झ्यालखानमा हालिदिए र झ्यालखानका हाकिमलाई ती कैदीहरूलाई कडा रेखदेखमा राख्ने हुकुम दिए।
24. यसर्थ, तिनले यस्तो आदेश पाउनेबित्तिकै तिनीहरूलाई भित्री कोठामा लगेर खुट्टाहरूमा ठिँगुरो ठोकिदिए।
25. मध्यराततिर पावल र सिलास प्रार्थना गर्दै, परमेश्वरको भजन गाइरहेका थिए, सो अन्य कैदीहरूले सुनिरहेका थिए।
26. अचानक त्यहाँ ठूलो भूकम्प भयो र झ्यालखानको जग हल्लिएर तुरुन्तै सबै ढोका उघ्रिए अनि सबैका बन्धन खुले।
27. झ्यालखानका हाकिम निद्राबाट ब्यूँझिएर ढोकाहरू खोलिएका देख्दा कैदीहरू भागे होलान् भनी ठानेर उनले आत्महत्या गर्न तरवार थुते।
28. तर पावल यसो भन्दै चर्को सोरले कराए, ‘‘तपाईंले आफूलाई केही हानि नगर्नुहोस् किनकि हामी सबै यहीँ छौं।’’
29. तब हाकिम बत्ती मागेर दगुर्दै भित्र आए अनि डरले काम्दै पावल र सिलासको चरणमा घोप्टो परे
30. र उनले तिनीहरूलाई बाहिर ल्याएर सोधे, ‘‘गुरुजन हो, मुक्ति पाउनलाई मैले के गर्नुपर्ला?’’
31. तिनीहरूले जवाफ दिए, ‘‘प्रभु येशूमा विश्वास गर्नुहोस् अनि तपाईं र तपाईंको परिवारले मुक्ति पाउनुहुनेछ।’’
32. तब तिनीहरूले उनलाई र उनको घरमा भएका सबैलाई प्रभुको वचन सुनाए।
33. तब रातको त्यही घडी हाकिमले तिनीहरूलाई लगेर तिनीहरूका घाउहरू धोइदिए अनि उनले र उनको परिवारले तुरुन्तै बप्तिस्मा लिए।
34. तब उनले तिनीहरूलाई आफ्नो घरभित्र ल्याए र तिनीहरूको अघि भोजन राखिदिए। उनी र उनको सम्पूर्ण परिवार परमेश्वरमा विश्वास गरेको कारण रमाए।
35. भोलिपल्ट शहरका प्रमुख हाकिमले झ्यालखानका अधिकारीकहाँ ‘‘ती मानिसहरूलाई छोडिदिनू’’ भन्ने आदेश दिएर सिपाहीहरूलाई पठाए।
36. यसर्थ झ्यालखानका अधिकारीले पावललाई भने, ‘‘हाकिमले तपाईंहरूलाई छोडिदिने आदेश दिनुभएको छ, त्यसकारण तपाईंहरू अब निस्केर शान्तिसँग जानुहोस्।’’
37. तर पावलले जवाफ दिए, ‘‘तिनीहरूले हामी रोमी नागरिकलाई दोषी नठहर्याईकन जनताको सामु पिटेर झ्यालखानमा हाले अनि अहिले हामीलाई सुटुक्क जाऊ भन्छन्? यस्तो हुन सक्तैनँ । तिनीहरू आफै आएर हामीलाई निकालून्।’’
38. जब सिपाहीहरूले त्यो खबर शहरका प्रमुख शासककहाँ पुर्याए, उनीहरू पावल र सिलास रोमी नागरिक रहेछन् भन्ने थाहा पाएर डराए।
39. उनीहरू आएर तिनीहरूसित विन्ती गरे अनि तिनीहरूलाई बाहिर निकाले र शहर छोडेर जाने आग्रह गरे।
40. झ्यालखानबाट बाहिर निस्केपछि पावल र सिलास लिडियाको घरमा पसे र भाइहरूसँग भेटघाट गरेपछि शहर छोड्नुभन्दा अघि तिनीहरूलाई अझ एकपल्ट हौसला दिइराखे।
|