1. अब पावल र सिलास अम्फिपोलिस र अपोल्लोनिया हुँदै थेसलोनिकेमा आइपुगे। त्यहाँ एउटा यहूदी सभाघर थियो।
2. पावल आफ्नो प्रथाअनुसार सभाघरमा गए र त्यहाँ उपस्थित मानिसहरूसँग धर्मशास्त्रबाट बहस गर्दै,
3. ख्रीष्टले दु:ख भोग्नुपर्ने र मृतकबाट पुनर्जीवित हुनुपर्ने सम्बन्धमा भएको भविष्यवाणी कसरी पूरा भयो भन्ने कुराको प्रमाणहरू खुलस्त पार्दै तिनले भने, ‘‘तपाईंहरूलाई बताउँदै गरेको यही येशू नै ख्रीष्ट हुनुहुन्छ ।’’
4. अनि वचन सुन्नेहरूमध्ये कोही-कोहीले, ईश्वरभक्त ग्रीकहरूको ठूलो भीडले र शहरका प्रमुख स्त्रीहरूमध्ये धेरैले विश्वास गरे अनि पावल र सिलासको साथमा लागे।
5. तर यहूदीहरू डाहले भरिएर दङ्गा मच्चाउनलाई बजारका दुष्ट मानिसहरूलाई भेला गरे। तिनीहरूले पावल र सिलासलाई खोजेर भीडको अघि ल्याउनलाई यासोनको घरमा आक्रमण गरे।
6. तिनीहरूलाई त्यहाँ फेला पार्न नसक्दा उनीहरूले तिनीहरूको साटोमा यासोन र कुनै कु नै विश्वासीहरूलाई घिस्स्याएर शहरका शासकहरूको सामु यसो भन्दै ल्याए , ‘‘संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आएका छन्
7. अनि यासोनले तिनीहरूलाई आफ्नो घर खोलिदिएको छ। तिनीहरूले अर्को राजा येशू छन् भन्दै सिजरको आदेशको विरुद्धमा काम गरेका छन्।’’
8. शहरका मानिसहरू साथै शासकहरू पनि यो खबर सुनेर आँत्तिए।
9. तर शासकहरूले यासोन र तिनका साथमा भएका मानिसहरूसँग धरौटी लिएर तिनीहरूलाई छोडिदिए।
10. त्यही रात त्यहाँका विश्वासीहरूले पावल र सिलासलाई बेरिया पठाइदिए। जब तिनीहरू त्यहाँ पुगे, तब यहूदीहरूको सभाघरमा गए।
11. अनि बेरियाका मानिसहरू थेसलोनिकेका मानिसहरूभन्दा खुला मनका भएको हुनाले पावलको प्रचार उत्सुकतासाथ सुने। पावल र सिलासले दिएका शिक्षा सत्य छन् कि छैनन् भनी तिनीहरूले दिनहुँ धर्मशास्त्रमा खोजी गर्थे।
12. यसकारण यिनीहरूमध्ये धेरैले, साथै धेरै जना उच्च घरानाका ग्रीक महिलाहरू र पुरुषहरूले समेत विश्वास गरे।
13. तब थेसलोनिकेमा भएका यहूदीहरूले बेरियामा पावलले परमेश्वरको वचन प्रचार गर्दैछन् भन्ने सुनेर तिनीहरू त्यहाँ गए अनि पावलको विरुद्धमा भीडलाई सुर्याए।
14. विश्वासीहरूले तुरुन्तै पावललाई समुद्रको किनारतिर पठाइदिए। तर सिलास र तिमोथी बेरियामै बसे।
15. पावललाई पुर्याउन जानेहरू तिनीसित एथेन्ससम्म पुगे। अनि सिलास र तिमोथीले तुरुन्तै पावललाई भेटून् भन्ने खबर लिएर तिनीहरू फर्किए।
16. पावलले तिनीहरूलाई एथेन्स शहरमा पर्खिरहेको बेला त्यो शहर मूर्त्तिहरूले भरिएको देखेर तिनको आत्मा अत्यन्त विचलित बन्यो।
17. यसैले तिनी यहूदीहरू र ईश्वरभक्त अयहूदीहरूसँग सभाघरमा अनि बजारमा भेटेकाहरूसँग दिनहुँ तर्क गर्थे।
18. तिनले कुनै कुनै इपिक्यूरी र स्तोइकी दार्शनिकहरूसँग पनि वादविवाद गरे। कतिले भने, ‘‘यस बकबकेले के भन्न चाहन्छ?’’ अरुले भने, ‘‘ऊ त नौला देवताहरूको प्रचारकजस्तो देखिन्छ।’’ किनभने तिनले तिनीहरूलाई येशू र उहाँ मृतकबाट पुनर्जीवितहुनुभएको प्रचार गर्दथे।
19. तब तिनीहरूले उनलाई समातेर यसो भन्दै अरियोपागसमा लगे, ‘‘तपाईंले दिनुभएको यो नयाँ शिक्षा के हो, के हामी जान्न सक्छौं?
20. तपाईंले भन्नुभएका कुरा हामीलाई नयाँ लाग्दैछ र हामी यो विषयमा अझ बढी जान्न चाहन्छौं।’’
21. किनकि सबै एथेन्सवासी र त्यहाँ रहेका परदेशीहरूले कुनै न कुनै नयाँ कुरा भन्नु वा सुन्नुबाहेक अरु कुनै कुरामा समय बिताउँदैन थिए।
22. यसर्थ पावलले सभाको बीचमा खडा भएर भने, ‘‘एथेन्सका मानिसहरू हो, मेरो विचारमा तपाईंहरू अति नै धार्मिक हुनुहुँदो रहेछ,
23. किनभने म यहाँ घुमफिर गर्दा तपाईंहरूको धेरैवटा वेदीहरू देखेँ। अनि तीमध्ये एउटामा यस्तो लेखिएको थियो, ‘नजानिएको देवताको निम्ति।’ तपाईंहरूले उहाँ को हुनहुन्छ भन्ने तथ्य नजानीकन उहाँलाई पुज्दै हुनुहुन्छ अनि म तपाईंहरूलाई उहाँबारे बताउने इच्छा गर्दछु।
24. उहाँ परमेश्वर हुनुहुन्छ जसले संसार र त्यसमा भएका प्रत्येक कुरा बनाउनुभयो। स्वर्ग र पृथ्वीका मालिक हुनुभएकोले उहाँ मानिसको हातले बनिएको मन्दिरमा बस्नुहुन्न
25. अनि मानिसका हातहरूले उहाँको आवश्यकताहरू पूरा गर्न सक्तैन, किनभने उहाँलाई कुनै थोकको अभाव छैन। उहाँ आफैले सबैलाई जीवन र सास अनि सबै थोक दिनुहुन्छ।
26. उहाँले एक जना मानिसबाट सारा पृथ्वीभरि धेरै जातिहरूको सृजना गर्नुभयो। कुन व्यक्ति वा जातिको उत्थान हुन्छ र पतन हुन्छ भन्ने कुराको निर्णय उहाँले अघिबाटै गर्नुभयो अनि उहाँले तिनीहरूको सीमा-रेखा कोरिदिनुभयो।
27. यी सबै कुरा गर्नुको पछि सबै जातिहरूले परमेश्वरलाई खोजून्, उहाँको बाटोमा आऊन् र उहाँलाई पाऊन् भन्ने उहाँको उद्देश्य छ, किनभने उहाँ हामीहरूमध्ये कोहीबाट पनि टाढा हुनुहुन्न।
28. किनभने ‘हामी उहाँमा जिउँछौं र उहाँमा चलहल गर्छौं अनि उहाँमा नै हाम्रो अस्तित्व छ।’ जसरी तपाईंहरूकै कुनै-कुनै कविले यसो भनेका छन्, ‘हामी उहाँका सन्तान हौं।’
29. यसकारण हामी परमेश्वरकै सन्तान भएका हुनाले ईश्वरीय स्वभाव मानिसको कारिगरी र कल्पनाद्वारा कुँदेर बनाइएको सुनचाँदी वा ढुङ्गाको मूर्त्तिजस्तो हुन्छ भनी हामीले सोच्नु हुँदैन।
30. यसकारण परमेश्वरले मानिसहरूको अज्ञानताको समयलाई वास्ता गर्नुभएन तर अब सबै ठाउँमा सबै मानिसहरूलाई पश्चात्ताप गर्नू भन्ने आज्ञा दिनुहुन्छ।
31. किनकि उहाँले तोक्नुभएको दिनमा उहाँले नै नियुक्त गर्नुभएको मानिसद्वारा धार्मिकतामा संसारको न्याय गर्नुहुनेछ। उहाँलाई मृतकबाट जीवित पारेर परमेश्वरले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ।’’
32. मरेकाहरू पुनर्जीवित हुन्छन्, भन्ने कुरा सुनेर तिनीहरूमध्ये कोही हाँसे तर कसै-कसैले भने, ‘‘यस विषयमा हामी फेरि पनि तिम्रा कुरा सुन्नेछौं।’’
33. त्यसपछि पावल तिनीहरूका बीचबाट निस्केर गए।
34. तर कोही मानिसहरू तिनका साथ लागे अनि विश्वास गरे । तिनीहरूमध्ये अरियोपागसका डियनुसियस, दामारिस नाउँ भएकी एउटी स्त्री र अरुहरू पनि थिए।
|