1. यी कुरापछि पावल एथेन्स छोडेर कोरिन्थमा गए।
2. त्यहाँ तिनले पोन्टसमा जन्मेका अक्विला नाउँ भएका एक जना यहूदीलाई भेटे, जो हालसालै आफ्नी पत्नी प्रिस्किलासित इटालियाबाट त्यहाँ आएका थिए, किनभने कैसर क्लौडियसले सबै यहूदीहरूलाई रोमबाट निस्किजाने आज्ञा दिएका थिए। तिनी उनीहरूलाई भेट्न गए
3. अनि एकै पेशाका हुनाले तिनी पनि उनीहरूसँगै बसे र काम गरे, किनकि उनीहरूको पेशा पाल बनाउने थियो।
4. तिनले हरेक विश्राम-दिनमा सभाघरमा आएका यहूदीहरू र ग्रीकहरूलाई पनि बुझाउने प्रयत्न गर्थे।
5. अनि सिलास र तिमोथी म्यासिडोनियाबाट आइपुगे, पावलले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी यहूदीहरूलाई यत्नसित साक्षी दिँदै उहाँको वचनको शिक्षामा आफूलाई पूर्णरूपले अर्पण गरे।
6. तर जब यहूदीहरूले तिनको विरोध र निन्दा गरे, पावलले आफ्नो लुगाबाट धूलो टकटक्याउँदै यसो भने, ‘‘तपाईंहरूको रगत तपाईंहरूकै शिरमा परोस्, म निर्दोष छु। अब उसो म अयहूदीहरूकहाँ जानेछु।’’
7. त्यसपछि तिनी परमेश्वरको उपासना गरिरहने तीतस युस्तस नाउँको एक अयहूदीसित बसे, जसको घर सभाघरको छेउमा थियो।
8. सभाघरका शासक क्रिस्पस र उनको परिवारका सबैले प्रभुमा विश्वास गरे अनि कोरिन्थीहरूमध्ये पनि धेरै जनाले सुनेर विश्वास गरे र बप्तिस्मा लिए।
9. एक रात प्रभु पावलसँग दर्शनमा यसो भन्दै बोल्नुभयो, ‘‘नडराऊ, तर बोल्दै जाऊ र चुप नलाग,
10. किनभने म तिम्रोसाथमा छु, अनि कसैले पनि तिमीलाई हानि पुर्याउनेछैन, कारण यस शहरमा मेरा मानिसहरू धेरै छन्।’’
11. यसैले पावल एक वर्ष छ महिनासम्म त्यहाँ परमेश्वरको वचनबाट शिक्षा दिँदै बसे।
12. तर जब गलियोन अखैयाका शासक भए, केही यहूदीहरू एकैमतको भएर पावलको विरुद्धमा उठे र तिनलाई न्याय- आसनको अघि ल्याए।
13. अनि यसो भने,‘‘व्यवस्थाको ठीक विपरीत यसले परमेश्वरको उपासना गर्न कर लाउँदै छ।’’
14. तर पावल बोल्नै आँट्दा गलियोनले यहूदीहरूलाई भने, ‘‘हे यहूदीहरू हो, मेरो कुरा सुन। यदि साँच्चै नै यो अन्याय वा खतरनाक अपराधको कुरा भएको भए, म तिमीहरूको अभियोग सुन्न बाध्य हुनेथिएँ।
15. तर तिमीहरूको विवादको घेरा सानो रहेछ, शब्द, नाउँहरू र तिमीहरूको आफ्नै व्यवस्थाको सवाल भएको हुनाले तिमीहरू आफै विचार गर, किनकि म यस्ता कुराको न्यायकर्ता हुन चाहँदिनँ।’’
16. अनि उनले तिनीहरूलाई न्याय-आसनको सामुन्नेबाट लखेटिदिए।
17. न्याय-आसनकै अघिल्तिर सबै ग्रीकहरूले सभाघरको अगुवा, सोस्थेनेसलाई समातेर पिटे । तर गलियोनले त्यस कुराको वास्तै राखेनन्।
18. कोरिन्थमा पावल धेरै दिनसम्म बसे। त्यसपछि तिनले त्यहाँका भाइ-बहिनीहरूलाई बिदा माग्दै प्रिस्किला र अक्विलालाई लिएर सिरियातर्फ समुद्रयात्रा गरे। (आफूले गरेको भाकल सम्झेर पावलले यहूदी रीतिअनुसार किंक्रियामा आफ्नो कपाल खौरे। )
19. जब तिनीहरू एफिससमा आइपुगे, पावलले तिनीहरूलाई त्यहीँ छोडे। तर आफू यहूदीहरूसँग तर्कवितर्क गर्न एउटा सभाघरमा गए।
20. उनीहरूले तिनलाई केही दिन बस्ने आग्रह गरे तर तिनले मानेनन्।
21. ‘‘परमेश्वरको इच्छा भए, म फेरि आउँला’’ भन्दै तिनले बिदा मागे। त्यसपछि एफिससबाट समुद्रयात्रा गरे।
22. जहाजबाट कैसरियामा उत्रेपछि तिनी माथि गएर मण्डलीसँग भेटघाट गरी फेरि एन्टिओकमा ओर्ले।
23. त्यहाँ केही समय बिताएपछि गलातिया र फ्रिगियाका चेलाहरूलाई भेटेर प्रभुमा सामर्थी बनाउँदै पावल एक ठाउँदेखि अर्को ठाउँ गए।
24. अलेक्जेन्ड्रियामा जन्मेका, धर्मशास्त्रमा पोख्त अपोल्लस भनिने एक यहूदी वक्ता एफिससमा आइपुगेका थिए।
25. उनलाई प्रभुको मार्ग सिकाइएको थियो र उनले येशूको बारेमा ठूलो जोशसित हुबहु अरुहरूलाई सिकाउँथे। तर उनले यूहन्नाको बप्तिस्माको बारेमा मात्र जानेका थिए
26. सभाघरमा उनले साहससित प्रचार गरिरहेका सुने अनि प्रिस्किला र अक्विलाले उनलाई आफ्नो घरमा लगेर परमेश्वरको मार्गको अर्थ अझै स्पष्टसित बुझाइदिए।
27. उनले अखैयामा जाने मन गर्दा भाइहरूले उनलाई त्यहाँ जाने प्रोत्साहन दिए र उनलाई ग्रहण गरून् भनी त्यहाँका चेलाहरूलाई उत्साह दिएर पत्र लेखे। उनले त्यहाँ पुगेर अनुग्रहद्वारा विश्वास गर्नेहरूलाई धेरै सहायता गरे,
28. किनकि उनले खुल्लमखुल्ला ‘‘येशू नै ख्रीष्ट हुनुहुन्छ’’ भनी धर्मशास्त्रबाट प्रमाणित गर्दै यहूदीहरूलाई चुप गराए।
|