1. यो हूलदङ्गा थामिएपछि पावलले चेलाहरूलाई बोलाएर उत्साह दिए। त्यसपछि तिनले म्यासिडोनिया जानलाई तिनीहरूबाट बिदा मागे ।
2. अनि ती इलाकाहरूबाट भएर जाँदा तिनीहरूलाई धेरै अर्ती र उत्साहका वचन दिएपछि तिनी ग्रीसमा आए
3. र त्यहाँ तिनी तीन महिनासम्म बसे। तिनले सिरियातर्फ जानलाई समुद्रयात्रा गर्नलाग्दा यहूदीहरूले तिनको ज्यान लिने षडयन्त्र गरेको थाहा पाएपछि तिनले म्यासिडोनिया भएरै फर्किने निर्णय गरे।
4. धेरै मानिसहरू तिनीसँग यात्रा गरिरहेका थिए। बेरिया निवासी पुरसका छोरा सोपात्रोस, थेसलोनिकेबाट अरिस्तार्खस र सिकन्दस, डर्बीका गायस अनि एसिया प्रान्तबाट तिमोथी, तुखिकस र त्रोफिमस तिनको साथमा गए।
5. तिनीहरू हामीभन्दा अघि नै गएर त्रोआसमा हामीलाई पर्खिबसे।
6. तब हामी अखमीरी रोटीको चाड सकिनासाथ म्यासिडोनियाको फिलिप्पीबाट समुद्रयात्रा गर्दै पाँच दिनमा त्रोआसमा तिनीहरूकहाँ आयौं रत्यहाँ सात दिनसम्म बस्यौं।
7. हप्ताको पहिलो दिनमा जब हामी प्रभु-भोजको रोटी भाँच्नलाई जम्मा भयौं तब पावलले भोलिपल्ट नै जाने इच्छा गरेको हुनाले तिनीहरूलाई मध्यरातसम्म प्रवचन दिए।
8. हामी भेला भएको माथिल्लो तलाको कोठामा धेरै बत्तीहरू थिए।
9. युटिकस नाउँ भएको एक जना युवक झ्यालमा बसेको थियो। पावलले लामो समयसम्म प्रचार गर्दा त्यो मस्त निद्रामा परेर तीन तलामाथि बाट खस्यो र त्यो मरेको अवस्थामा उठाइयो।
10. तब पावल तल ओर्ले र घोप्टो परी त्यसलाई अँगालो हाले र भने, ‘‘नआँत्तिनुहोस्, किनभने त्यो जीवितै छ।’’
11. तब तिनीहरू सबै माथिल्लो तलामा उक्ले अनि रोटी भाँचेर खाइसकेपछि बिहानसम्म पावल तिनीहरूसँग बातचित गरिबसे। त्यसपछि तिनी बिदा भए।
12. अनि तिनीहरूले त्यस युवकलाई जीवित अवस्थामै लगे र धेरै सान्त्वना पाए।
13. हामी जहाजमा चढेर अस्सोसमा गयौं, त्यहाँ हामी पावललाई पनि जहाजमा चढाउन चाहन्थ्यौं तर तिनले स्थलमार्गबाट जाने निर्णय गरेको हुनाले तिनी पैदलै त्यतातिर लागे।
14. तिनले हामीलाई अस्सोसमा भेटे अनि हामीले तिनलाई जहाजमा चढायौं र मितिलेनेमा आयौं।
15. अनि त्यहाँबाट जहाजमा यात्रा गरेर भोलिपल्ट हामी खियसको सामुन्ने आइपुग्यौं अनि अर्को दिन हामी सामोसमा आइपुग्यौं र भोलिपल्ट हामी मिलेटस आयौं,
16. किनकि पावललाई एसियामा अलमलिने विचार नभएकोले तिनले एफिससको किनारबाट भएर जाने निश्चय गरेका थिए, किनभने सकेसम्म पेन्तिकोसको दिनमा यरूशलेममा नै पुग्ने तिनले आतुरी गरिरहेका थिए।
17. तिनले मिलेटसबाट एफिससमा मानिस पठाएर मण्डलीका एल्डरहरूलाई बोलाए।
18. जब उनीहरू त्यहाँ आए, तिनले उनीहरूलाई भने, ‘‘एसियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले सम्पूर्ण समय तपाईंहरूसँग कसरी बिताएँ सो तपाईंहरूलाई थाहा छँदै छ।
19. प्रभुको काम मैले नम्रतामा गरेँ। अँ, बरु आँसुसित गरेँ। मैले यहूदीहरूको षडयन्त्र पनि सहेँ।
20. तापनि तपाईंहरूलार्ई फाइदा हुने कुरा मैले कहिल्यै लुकाइनँ, बरु सबैको सामु र घरघरमा गएर शिक्षा दिएको छु।
21. मैले यहूदी र अयहूदीहरू, दुवैलाई पश्चात्ताप गरेर परमेश्वरतिर फर्कनू र हाम्रा प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नू भन्ने कुराको गवाही दिएको छु।
22. अब हेर्नुहोस्, म पवित्र आत्मामा बाध्य भएर यरूशलेमतिर जाँदैछु, त्यहाँ मलाई के कसो परिआउने हो सो म केही जान्दिनँ।
23. यति मात्र मलाई थाहा छ कि प्रत्येक शहरमा कैद र कष्ट ममाथि आइपर्छ भन्ने कुरा पवित्र आत्माले मलाई गवाही दिनुहुन्छ।
24. तर म आफ्नो जीवनलाई कुनै मूल्यको वा प्रिय सम्झँदिनँ, यति मात्र चाहन्छु कि परमेश्वरका अनुग्रहको सुसमाचारको गवाही दिनलाई मेरो दौड र प्रभु येशूबाट मिलेको मेरो सेवकाइ म पूरा गर्नसकूँ।
25. अनि अहिले म जान्दछु कि तपाईंहरू ज-जसलाई मैले राज्यको प्रचार गरेको छु, तपाईंहरूले मेरो मुहार फेरि कहिल्यै देख्न पाउनुहुनेछैन।
26. यसैकारण आजको दिन म तपाईंहरूलाई साक्षी दिन चाहन्छु कि म सबै मानिसहरूको रगतको निम्ति निर्दोष छु,
27. किनभने परमेश्वरको सबै सल्लाह तपाईंहरूलाई घोषणा गर्न म पछि हटिनँ।
28. यसकारण तपाईंहरू आफ्नो विषयमा र सम्पूर्ण बगालको विषयमा होशियार हुनुहोस्। पवित्र आत्माले तपाईंहरूलाई बगालको जिम्मावाल बनाउनुभएको हुनाले उहाँको आफ्नै रगतले किन्नुभएको परमेश्वरका मण्डलीको हरेचाह तपाईंहरू गर्नुहोस्।
29. मलाई यो राम्ररी थाहा छ कि म यहाँबाट गइसकेपछि झूटा शिक्षकहरू डरलाग्दा ब्वाँसाहरूको रूपमा आउनेछन् अनि बगाललाई बाँकी राख्नेछैनन्।
30. तपाईंहरूकै बीचबाट पनि चेलाहरूलाई आफ्नोपछि खिँच्नलाई भर्माउने कुरा गर्ने मानिसहरू खडा हुनेछन्।
31. यसकारण यो सम्झेर होशियार हुनुहोस् कि तीन वर्षसम्म दिनरात आँसु बगाउँदै हरेक मानिसलाई मैले चेताउनी दिइरहेँ।
32. अब म तपाईंहरूलाई परमेश्वरमा र उहाँका अनुग्रहको वचनमा सुम्पिदिन्छु, जसले तपाईंहरूलाई बलियो पार्नसक्छ र पवित्र पारिएकाहरू सबैका बीचमा उत्तराधिकार दिनसक्छ।
33. मैले कसैको सुनचाँदी वा लुगाफाटाको लोभ गरिनँ ।
34. तपाईंहरू जान्नुहुन्छ कि यिनै हातहरूले आफ्नो आवश्यकताहरू पूरा गरेका हुन् र मसित भएकाहरूको अभाव पनि मैले पूरा गरँे।
35. अनि कडा परिश्रम गरेर गरीबहरूलाई कसरी सहायता गर्नुपर्छ भन्ने कुराको म निरन्तर रूपमा नमुना बन्दै आएको छु। तपाईंहरूले प्रभु येशूको वचन सम्झना गर्नुपर्छ, ‘लिनुभन्दा दिनु अझ असल हो’।’’
36. यति भनिसकेर तिनले घुँडा टेके र सबैसित मिलेर प्रार्थना गरे।
37. अनि उनीहरू सबै साह्रै रोए र पावललाई अँगालो हालेर चुम्बन गरे
38. अनि विशेषगरी उनीहरूले तिनको मुहार फेरि देख्न पाउनेछैनन् भनेकोमा उनीहरू साह्रै दु:खी भए र उनीहरूले तिनलाई जहाजसम्म पुर्याए।
|