1. एफिससका एल्डरहरूलाई बिदा मागेर हामी सीधै कोसमा आयौं। भोलिपल्ट हामी रोडसमा र त्यहाँबाट पटारामा आइपुग्यौं।
2. अनि फोनिकेमा जाने एउटा जहाज भेट्टाएर हामी त्यसैमा चढेर गयौं।
3. हामीले साइप्रसको टापु देख्यौं, तब हामी त्यसलाई देब्रेतिर पारी सिरियातर्फ लागेर टुरोसमा उत्रियौं, किनभने त्यहीँ नै जहाजले सामानहरू उतार्नुपर्थ्यो।
4. हामीले किनारामा चेलाहरूलाई भेटेर उनीहरूसँगै एक हप्तासम्म बस्यौं। ती चेलाहरूले पावल यरूशलेम नजाऊन् भनी पवित्र आत्माको अगुवाइमा बोले।
5. एक हप्ता बितेपछि हामी फर्कनलाग्दा उनीहरू सबै आफ्ना पत्नी र नानीहरूसित हामीलाई पुर्याउन समुद्रको किनारसम्म आए। हामीले त्यहीँ नै घुँडा टेक्यौं र प्रार्थना गर्यौं।
6. अनि एक-अर्काबाट छुट्टिएर जहाजमा चढयौं र उनीहरू आफ्ना घर फर्के ।
7. टुरोसबाट समुद्रयात्रा गरेपछि हामी टोलेमाइसमा आयौं । त्यहाँ भाइहरूलाई अभिवादन गरी तिनीहरूसँग एक दिन मात्र बस्यौं।
8. तब भोलिपल्ट हामी कैसरियामा आयौं र प्रचारक फिलिपको घरमा बस्यौं। तिनी सात जनामध्ये एक थिए।
9. अगमवाणीको वरदान पाएका तिनका चार जना कन्ये छोरीहरू थिए।
10. हामी त्यहाँ निकै दिन बसिरहँदा अगाबस भनिने अगमवक्ता यहूदियाबाट आइपुगे ।
11. जब उनी हामीलाई भेट्न आए, उनले पावलको पटुका लिएर आफ्नो हातखुट्टा बाँधे र भने, ‘‘पवित्र आत्मा यसो भन्नुहुन्छ ‘यस पटुकाको हकदारलाई यरूशलेममा यहूदीहरूले यसैगरी बाँध्नेछन् र अयहूदीहरूका हातमा सुम्पिदिनेछन्’ ।’’
12. जब हामीले यस्तो कुरा सुन्यौं, तिनीसँग यात्रा गर्नेहरू र स्थानीय विश्वासीहरू मिलेर पावललाई यरूशलेममा नजानुहोस् भनी विन्ती गर्यौं।
13. तर तिनले भने, ‘‘तपाईंहरू यसरी रोएर मेरो मन किन बिगार्नुहुन्छ? प्रभु येशूको खातिर यरूशलेममा कैदी बन्नु मात्र होइन तर मर्न पनि म तयार छु।’’
14. अब तिनलाई मनाउन सक्दैनौं भन्ने कुरा स्पष्ट भएपछि ‘‘प्रभुको इच्छा पूरा होस्’’ भनेर हामी चुप लाग्यौं।
15. केही दिनपछि लगत्तै हामी हाम्रा सामल तयार गरी यरूशलेमतर्फ लाग्यौं।
16. कैसरियाका कुनै कुनै विश्वासीहरूले हामीलाई साथ दिए र साइप्रसका एक पुराना चेला मनासोनको घरमा तिनीहरूले हामीलाई ल्याए। हामीलाई त्यहाँ बसाइयो।
17. यरूशलेममा रहने सबै भाइ-बहिनीहरूले हामीलाई हार्दिक स्वागत गरे।
18. भोलिपल्ट पावल हामीलाई लिएर याकूबसँग भेट गर्न गए र त्यहाँ यरूशलेमका सबै एल्डरहरू उपस्थित थिए।
19. एक-अर्कालाई अभिवादन गरिसकेपछि पावलले तिनको सेवकाइद्वारा अयहूदीहरूका बीचमा परमेश्वरले गर्नुभएका काम तिनीहरूलाई एक-एक गरी बयान गरे।
20. यो सुनेपछि तिनीहरूले परमेश्वरको महिमा गरे। तब तिनलाई भने, ‘‘प्रिय, भाइ, तपाईंलाई थाहा होस् कि हजारौं यहूदी विश्वासीहरू छन्, जो व्यक्तिहरू सबै व्यवस्थाका कुरामा जोशिला छन्।
21. अयहूदीहरूको बीचमा बस्ने सबै यहूदीहरूलाई तपाईंले ‘मोशालाई त्याग्नू र बालकहरूको खतना नगर्नू र रीतिअनुसार नचल्नू’ भनी सिकाउनुभएको छ अरे।
22. अब के गर्ने हो? तपाईं आउनुभएको कुरा तिनीहरूले निश्चय सुन्नेछन्।
23. त्यसकारण तपाईंलाई हाम्रो सल्लाह यो छ, हामीसँग भाकल गर्नेहरू चार जना छन्। तिनीहरू कपाल खौरन तयार छन्।
24. यी मानिसहरूलाई साथमा लिएर तिनीहरूको शुद्धीकरणमा भाग लिनुहोस् र त्यसमा लाग्ने तिनीहरूको खर्च तिरिदिनुहोस्। यसो गर्दा तिनीहरू आ-आफ्ना कपाल खौरिन सक्छन् र जुन कुराको खबर तिनीहरूले तपाईंको विषयमा पाएका छन्, त्यो केही होइन रहेछ, तर तपाईं आफै पनि व्यवस्था पालन गर्दै विधिपूर्वक चल्नुहुँदो रहेछ भनी सबैले थाहा पाऊन् ।
25. तर अयहूदीहरू जसले विश्वास गरेका छन्। तिनीहरू मूर्त्तिहरूलाई चढाएको प्रसाद, रगत वा घाँटी अँठयाएर मारेको पशुको मासु र व्यभिचारबाट अलग रहनुपर्छ भन्ने हाम्रो निर्णय जनाएर हामीले पत्र लेखेका छौं।’’
26. यसैले पावल उनीहरूको कुरामा सहमत भए अनि भोलिपल्ट तिनीहरूसितै शुद्धीकरणको लागि मन्दिरभित्र पसे। तब तिनले जनसमूहको अघि भाकल पूरा हुने दिनको र तिनीहरूमध्ये हरेकको निम्ति बलि चढाइने कुराको घोषणा गरे।
27. एक साता पूरा हुनलागेको बेलामा एसियाका यहूदीहरूले पावललाई मन्दिरमा देखेर एक ठूलो भीडलाई उक्साएर तिनलाई पक्रे।
28. उनीहरूले यसो भन्दै हल्ला मच्चाए, ‘‘ इस्राएलका मानिस हो, मदत पुर्याउनुहोस् ! यो त्यही मानिस हो, जसले हाम्रा मानिसहरूलाई हाम्रो जाति, यहूदी व्यवस्था र यस ठाउँको विरुद्धमा शिक्षा दिएर हिँड्छ। यति मात्र होइन, यसले ग्रीकहरूलाई पनि मन्दिरभित्र ल्याएर हाम्रो पवित्र स्थानलाई बिटुलो पारेको छ ।’’
29. किनभने अघिल्लो दिन उनीहरूले तिनलाई एफिससबाट आएको त्रोफिमससित देखेका थिए र पावलले उनलाई मन्दिरभित्र ल्याएका हुन् भनी उनीहरूले ठाने।
30. तब सम्पूर्ण शहरका बासिन्दाहरूमा हलचल मच्चियो र मानिसहरू हतारिँदै त्यहाँ आए। उनीहरूले पावललाई पक्रेर मन्दिरबाट बाहिर घिस्स्याउँदै ल्याए र तुरुन्तै ढोकाहरू बन्द गरिदिए।
31. जब उनीहरूले तिनलाई मार्ने चेष्टा गरिरहेका थिए, तब सारा यरूशलेम खल्बलिएको छ भन्ने खबर रोमी पल्टनको सेनापतिकहाँ पुग्यो।
32. उनले तुरुन्तै सिपाही र कप्तानहरूलाई साथमा लिएर भीड भएतिर दौडिए। उनीहरूले सेनापति र सिपाहीहरूलाई देखेपछि पावललाई कुट्न छाडे।
33. सेनापतिले तिनलाई पक्रे र दुईटा साङ्लाले बाँध्ने हुकुम दिए। त्यसपछि उनले ‘तिनी को हुन् र के गरेका छन्’ भनी सोध्न थाले।
34. तर त्यस भीडमध्ये कसैले एउटा कुरा र कसैले अर्कै कुरा गर्दै होहल्ला मच्चाए। उनले त्यस होहल्लाको वातावरणमा खास कुरा पत्तो लगाउन नसक्दा अलमल्ल परेर ‘पावललाई छाउनीमा लैजानू’ भनी आदेश दिए।
35. जब सिपाहीहरू भर्याङमा आइपुगे, तब भीडको हिंस्रक उत्तेजनाले गर्दा सिपाहीहरूले तिनलाई उचालेर लगे,
36. किनभने मानिसहरूको भीड ‘त्यसलाई सिद्धयाइदेऊ’ भनी कराउँदै पछि-पछि लागेको थियो।
37. पावललाई छाउनीभित्र पुर्याउनलाग्दा तिनले सेनापतिलाई अनुमति माग्दै भने, ‘‘हजूर के म तपाईंलाई केही भन्न सक्छु?’’ उनले सोधे, ‘‘के तँलाई ग्रीकभाषा आउँछ?
38. के तँ त्यही मिश्री होइनस् जसले केही समयअघि विद्रोह मच्चाइ चार हजार विद्रोहीहरूलाई उजाड-स्थानमा लगेको थियो?’’
39. पावलले जवाफ दिए, ‘‘म होइनँ, म त किलिकिया शहरको टार्ससमा जन्मेको एक यहूदी हुँ। म सानोतिनो शहरको बासिन्दा होइन। दया गरी मलाई यी मानिसहरूसँग बोल्न दिनुहोस्।’’
40. सेनापतिले तिनलाई अनुमति दिए, तसर्थ पावलले भर्याङमा उभिएर मानिसहरूलाई हातले इसारा गरे । मानिसहरू बिलकुलै शान्त भएपछि, तिनले उनीहरूलाई हिब्रूभाषामा यसो भने,
|