1. हामी सकुशल किनारमा पुगेपछि मात्र त्यस टापुलाई माल्टा भनिँदो रहेछ भनी थाहा पायौं।
2. त्यहाँका बासिन्दाहरूले हामीमाथि दया देखाए। पानी परेर जाडो भएकोले तिनीहरूले आगो बालिदिए र हामीलाई स्वागत गरे।
3. पावलले एक बिटा दाउरा अँगालोमा ल्याएर आगोमा थपे। आगोको रापले एउटा सर्प निस्केर आयो र तिनको हातमा बेरियो।
4. टापुवासीहरूले तिनको हातमा सर्प झुन्डिएको देखेर एक-अर्कामा कुरा गर्दै भने, ‘‘निश्चय यो मानिस ज्यानमारा हुनुपर्छ। ऊ समुद्रबाट बाँचेर निस्के तापनि न्यायबाट उम्कन सकेन।’’
5. तर पावलले त्यस सर्पलाई आगोभित्र झट्कारिदिए र तिनलाई केही हानि भएन।
6. तिनको हातबाट शुरु हुँदै शरीर पूरै सुनिएर तिनी एक्कासि ढलेर मर्नेछन् भनी तिनीहरूले पर्खिरहेका थिए। तर धेरै समय बित्दा पनि तिनको केही बिगार नभएको देखेर तिनीहरूको विचारमा परिवर्तन आयो र आपसमा यसो भन्न लागे, ‘‘यिनी त देवता पो रहेछन्।’’
7. जुन किनारामा हामी ओर्लियौं, त्यसको छेउमा भएको फाँटिलो जमीन त्यस टापुका मुखिया पब्लियसको पर्थ्यो । उनले हामीलाई हार्दिक स्वागत गरे र तीन दिनसम्म उनले, आफ्नो घरमा हाम्रो अतिथिसत्कार गरे।
8. अनि यस्तो भयो, पब्लियसको बुबा ज्वरो र आउँको बिमारले थला परेका थिए। पावल तिनलाई हेर्न भित्र गए र तिनको लागि प्रार्थना गरेपछि आफ्नो हात तिनीमाथि राखी तिनलाई निको पारे।
9. यस्तो घटना देखेपछि टापुका अरु रोगीहरू पनि प्रार्थनाको लागि आए र निको हुँदै फर्के ।
10. फलस्वरूप, तिनीहरूले हामीप्रति धेरै सम्मान जनाए र जब हामी जहाजमा चढयौं, ती मानिसहरूले हामीलाई बाटोमा चाहिने विभिन्न सामग्रीहरू दिए।
11. तीन महिनापछि हामी अलेक्जेन्ड्रियाको जहाजमा चढयौं, यो जहाज हिउँदमा यसै टापुमा थियो। त्यो जहाजको अघिल्लो भागमा जुम्ल्याहा देवताहरूको प्रतिमा कुँदिएको थियो ।
12. हामी सुराकुसाईमा पुगेर त्यहाँ तीन दिन बस्यौं।
13. त्यहाँबाट हामी किनारा लाग्दै रेगियनमा आइपुग्यौं। एक दिनपछि दक्षिणी बतास चल्यो र भोलिपल्ट हामी पटिओलीतिर लाग्यौं।
14. त्यहाँ हामीले केही विश्वासीहरूलाई भेटयौं र उनीहरूले हामीलाई सात दिनसम्म उनीहरूसित बसिदिनलाई आग्रह गरे। यसरी हामी रोममा आइपुग्यौं।
15. हामी त्यहाँ आइपुग्दै छौं भन्ने खबर सुनेर भाइ-बहिनीहरू हामीलाई भेट्न अप्पियसको बजारमा आए । अरु कतिले हामीलाई तीनपाटी भन्ने ठाउँमा भेटे। पावलले यिनीहरूलाई देखेर परमेश्वरलाई धन्यवाद चढाए र साहस पाए।
16. जब हामी रोममा आइपुग्यौं तब पावललाई एक जना सिपाहीको रेखदेखमा एकलै बस्ने अनुमति मिल्यो।
17. त्यहाँ आइपुगेको तीन दिनपछि पावलले यहूदीहरूका मुख्य अगुवाहरूलाई बोलाइपठाए। तिनले उनीहरूलाई भने, ‘‘भाइ हो, मैले त आफ्नो जातिका मानिसहरू वा हाम्रा पिता-पुर्खाका रीतिरिवाजका विरुद्धमा केही काम गरेको थिइनँ, तापनि म यरूशलेममा पक्राउ परेँ र उनीहरूले मलाई रोमी सरकारको हातमा सुम्पिदिए।
18. रोमीहरूले मलाई केरकार गरे अनि ममा मृत्युदण्डको कुनै कारण नभेट्टाउँदा छोडिदिने इच्छा गरेका थिए।
19. तर यहूदीहरूले त्यस निर्णयको विरोध गरेका हुनाले मलाई सिजरकहाँ अपील गर्न करै लाग्यो, तापनि आफ्नो जातिलाई दोष लाउने कुनै कारण भएकोले त होइन।
20. यसकारण यसैका लागि तपाईंहरूसित भेट गरूँ र बातचित गरूँ भनेर मैले तपाईंहरूलाई बोलाएको हुँ किनकि इस्राएलका आशाका निम्ति म यस साङ्लाले बाँधिएको छु।’’
21. अनि उनीहरूले तिनलाई भने, ‘‘हामीले तपाईंको विषयमा न त यहूदियाबाट कुनै चिठी पाएका छौं, न कुनै भाइहरू आएर तपाईंको विरुद्धमा कुनै नराम्रो कुरा सुनाएका वा बोलेका छन्।
22. तर हामी तपाईंको विचार के हो, सो तपाईंबाट नै सुन्न चाहन्छौं, किनकि यस पन्थको विषयमा हामीलाई यति मात्र थाहा छ कि जताततै मानिसहरू यसको विरुद्धमा मात्र बोल्दछन् ।’’
23. तब उनीहरूले तिनको निम्ति एक दिन तोकिदिए अनि ठूलो सङ्ख्यामा मानिसहरू तिनको डेरामा आए र उनीहरूलाई बिहानदेखि बेलुकीसम्मै मोशाको व्यवस्था र अगमवक्ताहरूको पुस्तकबाट समेत परमेश्वरको राज्यको अर्थ खोलिदिँदै र साक्षी दिँदै येशूको विषयमा उनीहरूलाई स्पष्ट पारिदिए।
24. तिनले भनेका कुरामा कतिले विश्वास गरे र कतिले गरेनन्।
25. तर उनीहरू आपसमा मतभेद हुँदै गर्दा बिदा हुने बेलामा पावलले अन्तिम शब्दहरू यसरी बोले, ‘‘तिमीहरूका पिता-पुर्खाहरूलाई यशैयाअगमवक्ताद्वारा पवित्र आत्माले भन्नुभएको वचन ठीक थियो :
26. ‘मेरा मानिसहरूलाई गएर भन्, ‘‘सुन्न त तिमीहरू सुन्छौ, तर बुझ्दैनौ, हेर्न त हेर्छौ, तर देख्दैनौ।’’
27. किनभने यी मानिसहरूको हृदय बोधो भएको छ र तिनीहरूका कान बहिरा भएका छन्। तिनीहरूले आफ्ना आँखाहरू बन्द गरेका छन्, नत्र त तिनीहरूका आँखाले देख्ने थिए, कानले सुन्ने थिए, हृदयले बुझ्ने थिए, र फर्कने थिए अनि म तिनीहरूलाई निको पार्ने थिएँ।’
28. यसकारण तपाईंहरूलाई थाहा होस् कि परमेश्वरको यो मुक्ति अयहूदीहरूको निम्ति पठाइएको छ र तिनीहरूले सुन्नेछन्। ’’
29. अनि पावलको मुखबाट यस्ता कुरा सुनेपछि यहूदीहरू आपसमा धेरै वादविवाद गर्दै बिदा भए।
30. पावल पूरा दुई वर्षसम्म आफैले बहालमा लिएको डेरामा बसे र तिनीकहाँ आउनेहरू सबैलाई स्वागत गर्दै,
31. तिनले खुल्लमखुल्ला र विनारोकटोक निर्धक्कसँग परमेश्वरको राज्यको घोषणा गर्थे र प्रभु येशू ख्रीष्टको बारेमा शिक्षा दिन्थे।
|