1. पावल परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका एक प्रेरित र हाम्रा भाइ तिमोथीबाट :
2. कलस्सेमा भएका सन्तहरू र ख्रीष्टमा विश्वसनीय भाइहरूलाई परमेश्वर हाम्रा पिताबाट अनुग्रह र शान्ति।
3. हामी तिमीहरूका निम्ति प्रार्थना गर्दै हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछौं।
4. किनकि ख्रीष्ट येशूमा भएको तिमीहरूको विश्वास र सबै सन्तहरूप्रति भएको तिमीहरूको प्रेमको विषयमा हामीले सुनेका छौं।
5. तिमीहरूका निम्ति स्वर्गमा राखिएको आशा, जसको बारेमा तिमीहरूले सत्यको वचन, सुसमाचारमा पहिल्यै सुनिसकेका छौ।
6. यो सुसमाचार तिमीहरूकहाँ आएको छ। जसरी यसले सारा संसारमा निरन्तर फैलिएर फल फलाइरहेको छ, त्यसरी नै तिमीहरूले यसको विषयमा सुनेको र सत्यतामा परमेश्वरको अनुग्रहबारे जानेको दिनदेखि तिमीहरूमा पनि यसले फल फलाइरहेको छ।
7. यो कुरा तिमीहरूले हाम्रा प्रिय सङ्गी-दास इपाफ्रासबाट सिक्यौ, तिनी हाम्रा पक्षमा ख्रीष्टका एक विश्वसनीय सेवक हुन् ।
8. अनि तिनले नै आत्मामा भएको तिमीहरूको प्रेमको विषयमा हामीलाई बताए।
9. यसैकारण हामीले त्यो सुनेको दिनदेखि उहाँको इच्छाको ज्ञानले सारा आत्मिक बुद्धि र समझमा तिमीहरू पूर्ण होओ भनेर विन्ती गर्दै तिमीहरूका निम्ति प्रार्थना गर्न छोडेका छैनौं।
10. यसैले कि हरेक असल काममा फलवन्त हुँदै र परमेश्वरको ज्ञानमा बढ्दै तिमीहरू प्रभुलाई प्रसन्न पार्न उहाँको योग्य चालमा हिँड ।
11. आनन्दसित सम्पूर्ण धैर्य र सहनशीलताको निम्ति उहाँको महिमित सामर्थ्यअनुसार सारा शक्तिले बलवान् होओ
12. र पितालाई धन्यवाद चढाओ, जसले ज्योतिमा सन्तगणको उत्तराधिकारको भागीदार हुनका निम्ति हामीलाई योग्य बनाउनुभएको छ।
13. किनकि उहाँले हामीलाई अन्धकारको राज्यमा शासन गर्नेको हातबाट बचाएर उहाँको प्रिय पुत्रको राज्यमा ल्याउनुभएको छ ।
14. उहाँमा हाम्रो छुटकारा अर्थात् पापको क्षमा छ।
15. उहाँ अदृश्य परमेश्वरको प्रतिरूप हुनुहुन्छ, सारा सृष्टिको जेठो हुनुहुन्छ।
16. किनकि उहाँद्वारा नै सबै थोक सृष्टि भएका थिए, स्वर्ग र पृथ्वी दुवैमा भएका दृश्य र अदृश्य थोक, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै कुरा उहाँद्वारा र उहाँकै निम्ति सृष्टि गरिएका हुन्।
17. अनि सबै कुराभन्दाअघि उहाँ हुनुहुन्छ र सबै थोक उहाँमा नै एकसाथ मिलेर रहेका छन्।
18. उहाँ शरीर अर्थात् मण्डलीका शिर हुनुहुन्छ, उहाँ शुरु हुनुहुन्छ, मृतकहरूबाट जीवित हुनेहरूमा जेठो हुनुहुन्छ र सबै कुरामा उहाँलाई नै पहिलो स्थान दिइयोस्।
19. किनकि सारा पूर्णताले उहाँमा वास गरेकोमा पिता प्रसन्न हुनुभयो,
20. परमेश्वरले उहाँको क्रूसको रगतद्वारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस्, उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो।
21. अनि बितेको समयमा तिमीहरू दुष्ट कामको कारण परमेश्वरदेखि बिराना भई आफ्नो मनको विचारमा शत्रु भएका थियौ,
22. तापनि अब तिमीहरूलाई आफ्ना दृष्टिमा पवित्र, निष्कलङ्क र निर्दोष ठहराउनलाई उहाँले मृत्युद्वारा आफ्नो मासुको शरीरमा तिमीहरूको मिलाप गराउनुभएको छ।
23. यदि तिमीहरू आफ्ना विश्वासमा अटल र स्थिर भइरह्यौ र तिमीहरूले सुनेका सुसमाचारको आशाबाट हटेनौ भने तिमीहरूको मिलाप हुनेछ। यही नै त्यो सुसमाचार हो, जो स्वर्गमुनि हरेक प्राणीलाई प्रचार गरिएको छ, जसको म, पावल सेवक भएँ।
24. अब म तिमीहरूका निम्ति मेरा दु:ख भोगाइमा आनन्द मनाउँछु अनि उहाँको शरीर अर्थात् मण्डलीको निम्ति ख्रीष्टका कष्टहरूमा जे कमी छ, त्यसलाई म मेरो शरीरमा पूरा गर्दछु।
25. तिमीहरूका निम्ति परमेश्वरका वचन पूर्णरूपले घोषणा गर्न मलाई दिइएको परमेश्वरको बन्दोबस्तअनुसार म मण्डलीको सेवक बनाइएँ,
26. युगौँयुग र पुस्तौँदेखि गुप्तमा रहेको त्यो रहस्य अब उहाँका सन्तहरूलाई प्रकट गरिएको छ।
27. उनीहरूकहाँ परमेश्वरले, अयहूदीहरूको बीचमा यो रहस्यको महिमाको धन के हो, सो प्रकट गर्न चाहनुभयो, जुन ख्रीष्ट अर्थात् महिमाको आशा तिमीहरूमा हुनु नै हो।
28. हरेक मानिसलाई ख्रीष्ट येशूमा सिद्ध ठहराउन, उनीहरू हरेकलाई चेताउनी र सम्पूर्ण बुद्धिसित शिक्षा दिँदै हामी उहाँलाई प्रचार गर्दछौं।
29. यही उद्देश्यको निम्ति, मभित्र सामर्थ्यसाथ काम गर्ने उहाँको शक्तिअनुसार म परिश्रम गर्दछु।
|