1. म चौध वर्षपछि बर्णाबाससँग तीतसलाई साथमा लिएर फेरि यरूशलेम गएँ ।
2. प्रकाश पाएअनुसार म गएँ र मैले अयहूदीहरूको बीचमा प्रचार गरेको सुसमाचार तिनीहरूलाई बताइदिएँ, तर कतै मैले जुन दौड दौडिरहेको छु वा दौडेको थिएँ, त्यो व्यर्थमा नहोस् भनेर मैले प्रतिष्ठित अगुवाहरूको अघि पनि यो एकान्तमा प्रस्तुत गरेँ।
3. तर मेरोसाथमा हुने तीतसलाई ग्रीक भए तापनि खतना हुनुपर्छ भनेर कसैले कर लगाएनन्।
4. सुटुक्कै भित्र ल्याइएका झूटा भाइहरूको कारणले यो कुरा उठयो, जो व्यक्तिहरू ख्रीष्ट येशूमा भएको हाम्रो स्वतन्त्रताको चियो गर्न र हामीलाई दास तुल्याउन छिरेका थिए ।
5. तिमीहरूसित सुसमाचारको सत्यता सुरक्षित रहोस् भनेर तिनीहरूका अघि हामी एकै क्षण पनि झुकेनौं।
6. ती नाउँ चलेका व्यक्तिहरू जस्ता भए तापनि मलाई त केही फरक पर्दैन, परमेश्वरले मानिसको पक्षपात गर्नुहुन्न, किनकि ती नाउँ चलेकाहरूले मलाई केही थप कुरा दिएनन्।
7. तर त्यसको विपरीत, खतना भएकाहरूलाई सुसमाचार सुनाउन पत्रुसलाई सुम्पिएजस्तै बेखतनेहरूलाई सुसमाचार सुनाउन मलाई सुम्पिएको छ भन्ने कुरा उनीहरूले देखे,
8. किनकि पत्रुसलाई खतनाका मानिसहरूका प्रेरित बनाएर काम गराउने जो हुनुहुन्छ, उहाँले नै मलाई अयहूदीहरूका लागि काम गराउनुभयो।
9. मण्डलीका खम्बाहरू कहलिएका याकूब, केफास र यूहन्नाले मलाई दिइएको अनुग्रह थाहा पाएर हामी अयहूदीहरूकहाँ र उनीहरू खतनेहरूकहाँ जाने भनी मलाई र बर्णाबासलाई सङ्गतिको अधिकार दिए।
10. केवल यही मात्र तिनीहरूको इच्छा थियो कि गरीबमाथि हाम्रो सम्झना रहोस्, त्यही गर्न म पनि उत्सुक थिएँ।
11. तर जब केफास एन्टिओकमा आए, तब म उनकै सामुन्ने उनको विरुद्धमा खडा भएँ, किनकि उनी दोषी ठहरिएका थिए।
12. किनकि कोही मानिसहरू याकूबकहाँबाट आउनभन्दा अगाडि उनले अयहूदीहरूसित बसेर खान्थे तर तिनीहरू आएपछि खतनेहरूसँग डराएर उनी पछि हटे र अलग्गै बसे।
13. अनि उनका साथमा रहेका यहूदीहरू पनि कपटमा सहभागी भए, यहाँसम्म कि बर्णाबास पनि तिनीहरूको कपटद्वारा भड्काइए।
14. मैले तिनीहरूलाई सुसमाचारको सत्यताअनुसार ठीकसँग नचलेको देख्दा सबैका सामु पत्रुसलाई भनेँ, ‘‘तपाईं एक यहूदी भएर पनि यहूदीजस्तो नभई अयहूदीसरह चल्नुहुन्छ भने तपाईं अयहूदीहरूलाई यहूदीजस्तै चल्नू भनी कसरी कर लाउनुहुन्छ?
15. हामी स्वभावैले यहूदीहरू हौं, अयहूदीजस्ता पापी होइनौं,
16. तैपनि मानिस व्यवस्थाका कर्मद्वारा धर्मी ठहरिँदैन तर ख्रीष्ट येशूमा भएको विश्वासद्वारा धर्मी ठहरिन्छ भन्ने जानेर हामी आफैले पनि व्यवस्थाका कर्मद्वारा होइन बरु ख्रीष्टको विश्वासद्वारा धर्मी ठहरिऔं भनेर येशू ख्रीष्टमा विश्वास गर्यौं, किनकि व्यवस्थाका कर्मद्वारा कोही पनि धर्मी ठहरिनेछैन।
17. यदि ख्रीष्टद्वारा धर्मी ठहरिन खोज्दा हामी आफै पनि पापी भेट्टाइन्छौं भने के ख्रीष्ट पापका सेवक हुनुहुन्छ त ? यस्तो हुनसक्दैन !
18. म आफैले एकपल्ट भत्काएको कुरा फेरि बनाउँछु भने आफैले आफैलाई अपराधी हुँ भनेर दोषी ठहराउँछु।
19. किनकि म त परमेश्वरको निम्ति जिउन सकूँ भनेर व्यवस्थाद्वारा व्यवस्थाको निम्ति मरेको छु।
20. म ख्रीष्टसँग क्रूसमा टाँगिएको छु, अब उसो म होइन तर ख्रीष्ट ममा जिउनुहुन्छ। जुन जीवन अहिले म शरीरमा जिउँछु, मलाई प्रेम गर्नुहुने र मेरो निम्ति आफैलाई दिनुहुने परमेश्वरका पुत्रको विश्वासद्वारा जिउँछु।
21. म परमेश्वरको अनुग्रहलाई व्यर्थ तुल्याउँदिनँ, किनकि यदि धार्मिकता व्यवस्थाद्वारा आउँछ भने ख्रीष्ट मर्नुभएको व्यर्थ हुन्छ।’’
|