1. हे मूर्ख गलाती हो ! सत्यता पालन नगर्नू भनेर कसले मोहित पार्यो? के तिमीहरूकै आँखाको अघि येशू ख्रीष्ट क्रूसमा टाँगिनुभएको स्पष्ट चित्रण बिर्स्यौ?
2. यति मात्र म तिमीहरूबाट जान्न चाहन्छु, तिमीहरूले आत्मालाई व्यवस्थाका कर्मद्वारा कि विश्वासको सुनाइबाट पायौ?
3. के तिमीहरू यतिका मूर्ख छौ? आत्मामा शुरु भएर के अब शरीरद्वारा सिद्धयाउँछौ?
4. के तिमीहरूले व्यर्थमा यतिका दु:ख भोग्यौ? यदि यो साँच्चै नै व्यर्थको थियो भने,
5. जसले तिमीहरूलाई पवित्र आत्मा दिनुहुन्छ र तिमीहरूका माझमा आश्चर्यकर्महरू गर्नुहुन्छ, के यो व्यवस्थाको कर्मबाट गर्नुभएको हो कि विश्वासको सुनाइबाट?
6. यसरी नै अब्राहामले ‘‘परमेश्वरमा विश्वास गरे र यो तिनको निम्ति धार्मिकता गनियो।’’
7. यसकारण निश्चित होऊ कि विश्वासबाटका सबै अब्राहामका सन्तान हुन्।
8. परमेश्वरले अयहूदीहरूलाई विश्वासबाट धर्मी ठहराउनुहुन्छ भन्ने धर्मशास्त्रले पहिले नै देखेर अब्राहामलाई अघिबाटै ‘‘तँमा नै सबै जातिले आशिष् पाउनेछन्’’ भन्ने सुसमाचार प्रचार गरियो।
9. यसकारण विश्वास गर्ने मानिसहरूले विश्वासी अब्राहामसँगै आशिष् पाएका छन्।
10. किनकि व्यवस्थाका कर्मका अधीनमा हुनेजति सबै श्रापित् छन्, किनभने यस्तो लेखिएको छ, ‘‘व्यवस्थाका पुस्तकमा लेखिएका सबै कुरामा नरहने र ती पालन नगर्ने हरेक श्रापित् हुन्छ।’’
11. अब परमेश्वरको दृष्टिमा व्यवस्थाद्वारा कोही मानिस धर्मी ठहरिँदैन भन्ने कुरा स्पष्ट छ, किनभने ‘‘धर्मीजन त विश्वासद्वारा जिउनेछ।’’
12. तैपनि व्यवस्था विश्वासबाटको होइन, तर ‘‘त्यो पालन गर्नेजति त्यसैद्वारा जिउनेछन्।’’
13. हाम्रा निम्ति सराप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको सरापबाट मोल तिरेर छुटकारा दिनुभयो, किनकि ‘‘काठमा झुन्डिने हरेक श्रापित् हुन्छ’’ भन्ने लेखिएको छ,
14. यसैले कि येशू ख्रीष्टद्वारा अब्राहामको आशिष् अयहूदीहरूमा आओस् र हामी विश्वासद्वारा पवित्र आत्माको प्रतिज्ञा प्राप्त गर्नसकौं।
15. हे भाइहरू हो, मानिसको रीतिअनुसार म भन्दछु, करार मानिसकै भए तापनि त्यो पक्का भएपछि न त त्यसलाई कसैले रद्द गर्न सक्छ, न त्यसमा थप्न सक्छ।
16. प्रतिज्ञाहरू अब्राहाम र उनका सन्तानलाई दिइएको थियो। ‘‘सन्तानहरूलाई’’ भनी धेरै जनालाई भनेझैँ गरी होइन तर एकै जनालाई ‘‘तेरो वंशलाई’’ जो ख्रीष्ट हुनुहुन्छ।
17. अब मेरो भनाइको अर्थ यो हो, कि चार सय तीस वर्षपछि आएको व्यवस्थाले त्यसभन्दा अघि परमेश्वरले पक्का गर्नुभएको प्रतिज्ञालाई काट्दैन, नत्र त प्रतिज्ञा रद्द हुनेथ्यो।
18. किनकि उत्तराधिकार व्यवस्थामा आधारित छ भने प्रतिज्ञामा आधारित हुनैसक्तैन। तर परमेश्वरले प्रतिज्ञाद्वारा नै अब्राहामलाई यो दिनुभयो।
19. तब व्यवस्थाको आवश्यकता किन पर्यो त? जुन सन्तानलाई प्रतिज्ञा भएको थियो, ऊ नआउन्जेल अपराधको कारणले व्यवस्था थपियो। एक जना मध्यस्थकर्ताको हातमा स्वर्गदूतहरूद्वारा यो व्यवस्था स्थापित गरिएको थियो।
20. एक मध्यस्थकर्ताले एउटै झुन्डको मात्र प्रतिनिधित्व गर्दैन तर परमेश्वर एकमात्र हुनुहुन्छ।
21. तब के व्यवस्था परमेश्वरका प्रतिज्ञाहरूका विरुद्धमा छ र? कदापि छैन ! यदि व्यवस्थाले जीवन दिने हो भने धार्मिकता निश्चय पनि व्यवस्थामा आधारित हुन्थ्यो।
22. तर प्रतिज्ञा येशू ख्रीष्टमा भएको विश्वासद्वारा विश्वास गर्नेहरूलाई दिइयोस् भनेर नै धर्मशास्त्रले सबैलाई पापको अधीनमा राखेको छ।
23. तर हामी विश्वास आउनअघि पछि प्रकट हुनआउने विश्वासबाट थुनिएर व्यवस्थाको अधीनमा राखिएका थियौं।
24. यसकारण हामी विश्वासद्वारा धर्मी ठहरिनसकौं भनेर व्यवस्था हामीलाई ख्रीष्टकहाँ डोर्याउने शिक्षक भएको छ।
25. तर त्यो विश्वास आएको हुनाले अब उप्रान्त हामी शिक्षकको अधीनतामा छैनौं।
26. यसैले ख्रीष्ट येशूमाथि राखिएको विश्वासद्वारा तिमीहरू सबै परमेश्वरका सन्तान हौ
27. किनकि तिमीहरू ख्रीष्टमा बप्तिस्मा भएका जति, सबैले ख्रीष्टलाई धारण गरेका छौ।
28. अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्का, न त पुरुष न स्त्री छ, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ।
29. यदि तिमीहरू ख्रीष्टका हौ भने त, अब्राहामका सन्तान हौ, र तिमीहरू प्रतिज्ञाबमोजिमका हकवाला पनि हौ।
|