1. भातृ-प्रेम निरन्तर रहोस् ।
2. परदेशीहरूको अतिथिसत्कार गर्न नबिर्स, किनकि यसरी नै कसै-कसैले अजानमा स्वर्गदूतहरूको सत्कार गरेका छन्।
3. आफै पनि कैदमा परेझैँ झ्यालखानमा हुनेहरूको सम्झना गर र आफू पनि शरीरमा भएझैँ गरी दुर्व्यवहार गरिएकाहरूलाई सम्झना गर।
4. विवाह सबैको बीचमा आदरणीय होस्, वैवाहिक सम्बन्ध नबिटुलियोस्, परस्त्रीगमन र व्यभिचारीहरूको न्याय परमेश्वरले गर्नुहुनेछ।
5. तिमीहरूको चालचलन रुपियाँपैसाको लोभरहित होस् र तिमीहरूसित भएका कुरामा सन्तुष्ट होओ, किनकि उहाँ आफैले भन्नुभएको छ, ‘‘म तिमीहरूलाई कुनै रीतिले छोड्नेछैनँ, म तिमीहरूलाई त्याग्नेछैनँ।’’
6. यसकारण हामी दृढविश्वाससँग भन्दछौं, ‘‘प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ, मानिसले मलाई के गर्न सक्छ र?’’
7. तिमीहरूलाई परमेश्वरको वचन सुनाउने तिमीहरूका अगुवाहरूलाई सम्झ, र तिनीहरूका चालचलनको नतिजा विचार गरेर तिनीहरूका विश्वासको देखासिकी गर।
8. येशू ख्रीष्ट हिजो, आज र सधैँभरि एक समान हुनुहुन्छ।
9. विभिन्न र अनौठा शिक्षाद्वारा यताउति नबरालिओ । किनकि खाने-पिउने कुरा सम्बन्धित विधिद्वारा होइन, बरु अनुग्रहद्वारा हृदय सुदृढ भएको असल हो, किनभने यस्ता विधि गर्नेहरूलाई कुनै फायदा भएको छैन।
10. हामीसित एउटा वेदी छ, जसबाट पवित्र वासस्थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन।
11. किनकि प्रधान पूजाहारीले पाप- बलिको निम्ति जनावरको रगत पवित्रस्थानमा ल्याउँछन् तर तिनको शरीर छाउनीबाहिर लगेर जलाइन्छ।
12. त्यसकारण येशूले पनि उहाँको आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र पार्नको निम्ति ढोकाबाहिर कष्ट भोग्नुभयो।
13. यसैले हामी पनि छाउनीबाहिर जाऔं र उहाँसँगै निन्दा सहौं ।
14. किनकि हामीसँग यहाँ सधैँ रहिरहने शहर छैन, तर हामी आउने शहरको खोजी गर्दछौं।
15. यसकारण हामी उहाँद्वारा निरन्तर परमेश्वरलाई बलिदान चढाऔं अर्थात् उहाँको नाउँलाई धन्यवाद दिने ओठका फल चढाऔं।
16. तर भलाइ गर्न र बाँडचुँड गर्न नबिर्स, किनकि यस्ता बलिदानद्वारा परमेश्वर प्रसन्न हुनुहुन्छ।
17. तिमीहरूका अगुवाहरूको आज्ञा मान र उनीहरूका अधीनमा बस, किनकि हिसाब दिनुपर्नेहरूले जस्तो गरी तिनीहरू तिमीहरूका प्राणको हेरचाहा गर्छन्। यो काम तिनीहरूले दु:खित भएर होइन तर आनन्दसाथ गरून्, किनकि यसबाट तिमीहरूलाई केही फाइदा हुँदैन।
18. हाम्रो निम्ति प्रार्थना गर, किनकि हामीसित असल विवेक छ भनी निश्चित छौं र सबै कुरामा हामी इमानदारीसँग जिउन इच्छुक छौं।
19. अनि तिमीहरूलाई मेरो विशेष आग्रह यो छ, कि मेरोनिम्ति प्रार्थना गरिदेओ र म फेरि तिमीहरूकहाँ चाँडै आउनसकूँ।
20. अब भेडाका महान् गोठाला हाम्रा प्रभु येशूलाई अनन्त करारको रगतद्वारा मृत्युबाट जावित पार्नुहुने शान्तिका परमेश्वरले
21. तिमीहरूलाई हरेक असल गुणले सिद्ध पारून् र तिमीहरूले उहाँको इच्छा पूरा गर्नसक। जे परमेश्वरलाई मनपर्दो छ, येशू ख्रीष्टद्वारा उहाँले तिमीहरूमा गरून्। उहाँको महिमा सधैँ भइरहोस्। आमेन्।
22. तर भाइ-बहिनी हो, म तिमीहरूलाई निवेदन गर्दछु कि यी अर्तीका कुरा मान, जुन मैले छोटकरीमा लेखेको छु।
23. तिमीहरूलाई यो थाहा दिन चाहन्छु,कि हाम्रा भाइ तिमोथी कैदबाट छुटेका छन्, यदि तिनी आए भने म उनको साथमा तिमीहरूलाई भेट्न आउनेछु।
24. तिमीहरूका सबै अगुवाहरू र सबै सन्तहरूलाई अभिवादन देओ। इटालियाकाहरूले अभिवादन पठाएका छन्।
25. तिमीहरू सबैसँग अनुग्रह रहोस्।
|