1. यसकारण यतिका धेरै साक्षीहरूका बादलले हामीलाई घेरेको हुनाले हरेक किसिमका टन्टा र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्साएर हाम्रा सामुन्ने राखिदिएको दौड धैर्यसाथ दौडौं।
2. अनि हाम्रा विश्वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूलाई हेरौं, जसले आफ्नो सामुन्ने राखिएको आनन्दको निम्ति अपमानलाई तुच्छ ठानेर क्रूसको कष्ट भोग्नुभयो र परमेश्वरको सिंहासनको दाहिने बाहुलीपट्टि विराजमान हुनुभएको छ।
3. यसैले पापीहरूबाट उहाँको विरुद्धमा भएका यतिका वादविवाद सहनुहुनेलाई विचार गर र तिमीहरू शिथिल नहोओ र हरेस नखाओ।
4. तिमीहरूले अझसम्म पापको विरुद्धमा लडेर रगताम्मे हुनेगरी विरोध गरेका छैनौ।
5. तिमीहरूले त्यस अर्तीलाई भुलेका छौ, जसले छोराछोरीसित झैँ तिमीहरूलाई सम्बोधन गर्दछ, ‘‘हे मेरो छोरा, परमप्रभुको ताडनालाई हलुका नसम्झ, उहाँबाटको दण्डमा रेस नखाऊ,
6. किनकि जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ, त्यसैलाई ताडना दिनुहुन्छ र आफूले ग्रहण गर्नुभएको हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्छ।’’
7. तिमीहरू ताडनाको निम्ति नै कष्ट सहन्छौ। परमेश्वरले तिमीहरूसँग छोरालाई झैँ व्यवहार गर्नुहुन्छ। किनकि बुबाले ताड्ना नदिएको कुन छोरो हुन्छ र?
8. तर यदि सबै जना सहभागी भएको त्यो ताडना तिमीहरूले पाएका छैनौ भने त तिमीहरू आफ्ना बुबाका साख्खै छोराछोरीहरू होइनौ, तर व्यभिचारमा जन्मेका सन्तान हौ।
9. यसबाहेक हामीलाई ताडना दिने हाम्रा सांसारिक पिताहरू थिए र हामीले तिनीहरूलाई आदर गर्यौं भने के हामी आत्माका पिताको अधीनमा बसेर जिउनु पर्दैन र?
10. किनकि तिनीहरूले असल ठानेझैँ केही समयको निम्ति हामीलाई ताडना दिए तर उहाँले हामी उहाँको पवित्रताको सहभागी बनौं भनेर हाम्रो भलाइको निम्ति ताडना दिनुहुन्छ।
11. कुनै पनि ताडना अहिलेलाई आनन्दमय हुँदैन तर दु:खदायी हुन्छ, तापनि ताडनाद्वारा तालिम पाएकाहरूका लागि यसले पछि गएर धार्मिकताको शान्तिपूर्ण फल उत्पन्न गराउँछ।
12. यसकारण लत्रेका हातहरू र दुर्बल घुँडाहरू बलिया बनाओ।
13. आफ्ना खुट्टाहरूका निम्ति सोझो बाटो बनाओ, यसैले कि तिमीहरूका लङ्गडो खुट्टाका जोर्नीहरू नखुस्कोस्, तर निको होस्।
14. सबै मानिसहरूसित शान्तिमा बस्ने र पवित्र हुने कोशिश गर, पवित्रताबिना कुनै मानिसले परमेश्वरलाई देख्नेछैन।
15. ध्यान देओ, कुनै मानिस परमेश्वरको अनुग्रहबाट वञ्चित नहोस्, नत्र त तीतोपनको जरो टुसाएर त्यसले फूट ल्याउला र धेरै जनालाई बिटुलो पार्ला।
16. कोही पनि एसावजस्तो एकछाक भोजनको निम्ति आफ्नो जन्मको अधिकार बेच्ने दुराचारी र भक्तिहीन व्यक्ति नहोस्।
17. तिमीहरूलाई थाहै छ, पछिबाट आशीर्वाद पाउन खोज्दा पनि ऊ अस्वीकृत भयो किनकि उसले पश्चात्ताप गर्ने मौका पाएन, यद्यपि उसले रुँदै त्यसको खोजी गरेको थियो।
18. तिमीहरू छुन सकिने पर्वतको छेउमा आएका छैनौं, जहाँ आगोको ज्वाला, कालो बादल, हुरी-बतास र घोर अन्धकार छ।
19. तुरहीको चर्को सोर र वचनको आवाज थियो, जुन आवाज तिनीहरूले सुन्दा ‘अब फेरि अरु बढ्ता एकै वचन नभनियोस्’ भनी तिनीहरूले विन्ती गरेका थिए।
20. किनभने ‘‘यदि कुनै जनावरले त्यो पर्वत छोए, त्यसलाई ढुङ्गाले हानेर मार्नू’’ भन्ने आज्ञा तिनीहरूले सहन सकेनन्।
21. अनि त्यो दृश्य यति भयानक थियो कि मोशाले पनि ‘‘म डरले काम्दछु’’ भनेका थिए।
22. तर तिमीहरू त सियोन पर्वतमा, जीवित परमेश्वरका शहर, स्वर्गका यरूशलेम, असङ्ख्य स्वर्गदूतहरूको जमातमा,
23. सर्वसाधारण सभामा र स्वर्गमा नाउँ लेखिएका पहिले जन्मेकाहरूका मण्डलीमा, सबैका न्यायकर्ता परमेश्वरकहाँ, सिद्ध पारिएका धर्मी मानिसहरूका आत्माहरूकहाँ
24. अनि नयाँ करारका मध्यस्थ येशूकहाँ, र हाबिलको रगतभन्दा अझ राम्रो गरी बोलिदिने रगतको छिट्काउमा आएका छौ।
25. होशियार बस, जो बोल्दै हुनुहुन्छ, उहाँलाई तिमीहरू इन्कार नगर। किनकि यदि पृथ्वीमा चेताउनी दिनेलाई इन्कार गर्नेहरू उम्केनन् भने स्वर्गबाट चेताउनी दिनुहुनेबाट मुख फर्काउने हामी कसरी उम्कन सक्छौं?
26. अनि जसको आवाजले त्यसबेला पृथ्वी काँप्यो तर अब उहाँले यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, ‘‘अझ एकपल्ट, पृथ्वी मात्र होइन तर स्वर्गलाई समेत म हल्लाउनेछु।’’
27. अनि ‘अझ एकपल्ट’ भन्ने वचनले यो देखाउँछ कि हल्लाउन सकिने कुरा अर्थात् सृष्टि भएका कुरा हटाइनेछन्, तर हल्लाउननसकिने कुरा स्थिर रहनेछन्।
28. यसकारण, हल्लाउन नसकिने राज्य पाएकोमा हामी कृतज्ञ होऔं। त्यसैले हामी भक्ति र भयसाथ परमेश्वरलाई ग्रहणीय हुने आराधना चढाऔं।
29. किनभने हाम्रा परमेश्वर भस्म पार्ने आगो हुनुहुन्छ।
|