1. त्यसकारण हामीले जे सुनेका छौं त्यसमा अझ बढी ध्यान दिनुपर्छ, नत्र त हामी यसबाट बहकिएर जानेछौं।
2. यदि स्वर्गदूतहरूद्वारा बोलिएको वचन त स्थिर रह्यो, अनि हरेक अपराध र अनाज्ञाकारिताले उचित दण्ड पायो भने,
3. झन् हामीले यति महान् मुक्तिको वास्ता राख्दैनौं भने हामी कसरी उम्कौंला? जुन मुक्तिको प्रचार पहिले प्रभुबाट शुरु भयो र उहाँलाई सुन्नेहरूद्वारा हाम्रा निम्ति यो कुरा पुष्टि गरियो।
4. परमेश्वरले चिन्हहरू, अचम्मका कामहरू र विभिन्न आश्चर्यकर्महरूद्वारा अनि उहाँको आफ्नो इच्छाअनुसारका पवित्र आत्माका वरदानहरू दिएर यस कुराको गवाही पनि दिनुभयो।
5. हामीले अहिले कुरा गर्दै आएको त्यो आउँदो संसारलाई परमेश्वरले स्वर्गदूतहरूको अधीनमा राख्नुभएन।
6. धर्मशास्त्रको कुनै एक ठाउँमा भनिएको छ, ‘‘मानिस के हो र तपाईं त्यसको विचार राख्नुहुन्छ? अनि मानिसको पुत्र को हो र तपाईं उहाँको फिक्री गर्नुहुन्छ?
7. तपाईंले उहाँलाई स्वर्गदूतहरूभन्दा केही कम दर्जाको तुल्याउनुभयो, तपाईंले उहाँलाई महिमा र आदरको मुकुट पहिराउनुभयो अनि आफ्ना बाहुलीका कामहरूमाथि उहाँलाई खटाउनुभयो।
8. तपाईंले सबै थोक उहाँको पैतालामुनि राखिदिनुभयो।’’ परमेश्वरले हरेक कुरा उहाँको अधीनमा राखिदिँदा कुनै पनि कुरा उहाँको अधीनबाहिर रहनदिनुभएन। तैपनि हामीले वर्तमान समयमा सबै कुरा उहाँको अधीनमा भएको देख्दैनौं।
9. तर हामी येशूलाई देख्तछौं, जसलाई केही बेरको निम्ति स्वर्गदूतहरूभन्दा केही कम दर्जाको तुल्याइयो र परमेश्वरको अनुग्रहद्वारा सबैको निम्ति उहाँले मृत्यु चाख्नुभएको होस् भनेर मृत्युको कष्टको कारण महिमा र आदरको मुकुट पहिराइयो।
10. किनकि परमेश्वर, जसका निम्ति र जसद्वारा सबै कुरा अस्तित्वमा छन्, धेरै सन्तानहरूलाई महिमामा ल्याउँन कष्टद्वारा तिमीहरूका मुक्तिका कर्तालाई सिद्ध तुल्याउन उहाँको निम्ति उचित थियो।
11. किनभने उहाँले पवित्र तुल्याउनुहुनेहरू र पवित्र तुल्याइसक्नुभएकाहरू, दुवै एउटै पिताबाटका हुन्, जुन कारणले गर्दा उहाँ तिनीहरूलाई आफ्ना भाइ-बहिनीहरू भन्न लाज मान्नुहुन्न
12. उहाँले यसो भन्नुहुन्छ, ‘‘मेरा भाइ-बहिनीहरूको बीचमा तपाईंको नाउँ म घोषणा गर्नेछु, सभाको बीचमा म तपाईंको प्रशंसा गर्नेछु।’’
13. र फेरि, ‘‘म उहाँमा मेरो भरोसा राख्नेछु,’’ अनि उहाँ फेरि भन्नुहुन्छ,‘‘हेर, म र परमेश्वरले मलाई दिनुभएका छोराछोरीहरू ।’’
14. छोराछोरीहरू रगत र मासुको सहभागी भएका हुनाले, मृत्युद्वारा नै मृत्युको शक्ति हुने शैतानलाई शक्तिहीन पार्नलाई उहाँ आफै पनि त्यसको सहभागी हुनुभयो।
15. यसैले कि मृत्युको डरले सारा जीवनभरि दासत्वमा परेका सबैलाई छुटकारा दिनसक्नुभएको होस्।
16. किनकि साँच्ची नै उहाँले स्वर्गदूतहरूको होइन, तर अब्राहामका सन्तानको स्वभाव लिनुभयो ।
17. त्यसकारण, मानिसहरूका पापको निम्ति मिलाप हुनलाई परमेश्वरसम्बन्धी कुरामा उहाँ कृपालु र विश्वसनीय प्रधान पूजाहारी बन्नसकून् भनेर, सबै कुरामा उहाँका भाइ-बहिनीहरूजस्तो बनाइनुपरेको थियो।
18. किनकि उहाँ आफै पनि परीक्षित भई दु:ख भोग्नुभएकोले गर्दा परीक्षामा पर्नेहरूलाई सहायता गर्न उहाँ सक्षम हुनुहुन्छ।
|