1. यसकारण, स्वर्गका बोलावटमा सहभागी भएका पवित्र भाइ-बहिनी हो, हामीले दृढस्वीकार गरेका प्रेरित र प्रधान पूजाहारी येशूलाई विचार गर।
2. जसरी मोशा परमेश्वरको सम्पूर्ण घरमा विश्वसनीय थिए, त्यसरी नै उहाँ आफूलाई नियुक्त गर्नुहुनेप्रति विश्वसनीय हुनुहुन्थ्यो।
3. तर मोशाभन्दा येशू अझ बढी महिमा पाउने योग्यको हुनुहुन्छ, जसरी घरभन्दा घर बनाउने व्यक्ति प्रशंसा पाउने योग्यको हुन्छ।
4. किनकि हरेक घर बनाउने कोही न कोही व्यक्ति हुन्छ, तर सबै कुरा बनाउनुहुने परमेश्वर नै हुनुहुन्छ।
5. अब पछिबाट बोलिने कुराका साक्षी हुनका निम्ति मोशा एक दासको रूपमा उहाँको सम्पूर्ण घरमा विश्वसनीय थिए।
6. यदि हामी हाम्रो आशा र हाम्रो आनन्दको गर्वलाई अन्त्यसम्मै बलियो गरी पक्रेर राख्छौं भने हामी उहाँका घर हौं, जुन घरमा ख्रीष्ट एक पुत्रको रूपमा विश्वसनीय हुनुहुन्थ्यो।
7. तसर्थ जसरी पवित्र आत्मा भन्नुहुन्छ, ‘‘आज तिमीहरूले उहाँको आवाज सुन्यौं भने,
8. उजाड-स्थानमा परीक्षाको समयमा विद्रोहको दिनमा गरेजस्तै आफ्ना हृदयलाई कठोर नपार,
9. जहाँ तिम्रा पुर्खाहरूले मेरो परीक्षा गरे र चालीस वर्षसम्म मेरा कामहरू देखे।
10. यसकारण त्यस पुस्तासँग म दु:खित भएँ र भनेँ, ‘तिनीहरूका हृदय सधैँ बरालिन्छन्, तिनीहरूले मेरा मार्ग चिनेका छैनन्।’
11. यसकारण मैले मेरो क्रोधमा शपथ खाएँ, ‘तिनीहरू मेरो विश्राममा कहिल्यै प्रवेश गर्नेछैनन्’।’’
12. भाइ-बहिनीहरू हो, होशियारी होओ। तिमीहरूमध्ये कुनै दुष्ट अविश्वासी हृदयले, तिमीहरूलाई जीवित परमेश्वरबाट फर्काएर टाढा नलैजाओस्।
13. जबसम्म ‘‘आजको दिन’’ भन्ने कुरा छ, तबसम्म एउटाले अर्कोलाई अर्ती देओ र पापको छलछामले तिमीहरू कसैको हृदय कठोर नहोस्।
14. किनकि यदि हामीले हाम्रो शुरुको भरोसा अन्त्यसम्मै दह्रोसँग पक्री राख्यौं भने, हामी ख्रीष्टमा सहभागी भएका छौं।
15. जस्तो भनिएको छ, ‘‘आज तिमीहरूले उहाँको आवाज सुन्यौ भने तिनीहरूले मलाई विद्रोहको दिनमा झैँ, आफ्नो हृदय कठोर नपार।’’
16. अनि परमेश्वरको आवाज सुनेर पनि उहाँलाई रिस उठाउनेहरू को थिए? के साँच्ची नै मोशाद्वारा मिश्रदेशबाट बाहिर डोर्याइएकाहरू नै होइनन् र?
17. अनि कोसँग उहाँ चालीस वर्षसम्म क्रोधित हुनुभयो? के ती पाप गर्नेहरूसँग नै होइन, जसका मृत शरीर उजाड-स्थानमा लडेका थिए ?
18. कोसँग उहाँले तिनीहरू उहाँको विश्राममा पस्नेछैनन् भनी शपथ खानुभयो, के ती अनाज्ञाकारीहरूसँग नै होइन र?
19. यसकारण हामी देख्तछौं कि तिनीहरू अविश्वासको कारण पस्न सकेनन्।
|