1. हे मेरा भाइहरू हो, पक्षपातरहित आचरणसहित हाम्रा महिमित प्रभु येशू ख्रीष्टमा विश्वास राख।
2. किनकि यदि कुनै मानिस सुनको औंठी र राम्रो वस्त्र लगाएर तिमीहरूको सभामा आयो र कुनै एउटा गरीब पनि झुत्रो वस्त्र लगाएर आयो
3. अनि तिमीहरूले त्यो राम्रो वस्त्र लाउनेलाई विशेष आदर गरेर, ‘यहाँ राम्रो ठाउँमा बस्नुहोस्’ भन्छौ र त्यस गरीबलाई ‘तँ त्यहीँ उभिबस्’ अथवा ‘मेरो पाउनेर बस्’ भन्छौ भने,
4. के तिमीहरू आफ्नैबीचमा पक्षपाती र कुविचारले न्याय गर्ने ठहरिएनौ र?
5. हे मेरा भाइहरू हो, सुन, के परमेश्वरले यस संसारका गरीबहरूलाई विश्वासमा धनी र उहाँलाई प्रेम गर्नेहरूको निम्ति उहाँले प्रतिज्ञा गर्नुभएका राज्यको उत्तराधिकार बनाउनलाई चुन्नुभएको होइन?
6. तर तिमीहरूले गरीबलाई तुच्छ ठानेका छौ। के धनीहरूले तिमीहरूलाई अत्याचार गर्दैनन् र ? के तिमीहरूलाई अदालतमा घिसारेर लैजाँदैनन् र?
7. के तिनीहरूले त्यस उत्तम नाउँको निन्दा गर्दैनन्, जुन नाउँले तिमीहरू बोलाइएका छौ?
8. तापनि, यदि तिमीहरूले साँच्चै पवित्रशास्त्रअनुसार, ‘‘तिमीले आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर’’ भन्ने राजकीय व्यवस्था पूरा गर्यौ भने तिमीहरूले असल गर्दछौ।
9. तर यदि तिमीहरूले पक्षपात गर्यौ भने, तिमीहरूले पाप गर्दछौ र व्यवस्थाद्वारा अपराधी ठहरिन्छौ।
10. किनकि जो कसैले सम्पूर्ण व्यवस्था पालन गर्दछ, तर पनि एउटै कुरामा चुक्यो भने ऊ सबै कुरामा दोषी ठहरिन्छ।
11. किनकि जसले ‘‘व्यभिचार नगर’’ भन्नुभयो, उहाँले ‘‘हत्या नगर’’ पनि भन्नुभयो, अब तिमीले व्यभिचार नगरे तापनि हत्या गर्यौ भने तिमी व्यवस्था भङ्ग गर्ने हुन्छौ।
12. यसकारण, तिमीहरूको बोली र व्यवहार स्वतन्त्रताको व्यवस्थाबमोजिम न्याय पाउनेहरूका जस्तै होस्।
13. किनकि जसले दया देखाएको छैन, उसको न्याय दयाबिना नै हुनेछ; दया न्यायमाथि विजयी हुन्छ !
14. मेरा भाइहरू हो, यदि कुनै मानिसले ‘मसित विश्वास छ ’ भन्छ, तर काम गर्दैन भने, यसबाट के लाभ? के त्यसको विश्वासले त्यसलाई बचाउन सक्छ र?
15. यदि कुनै भाइ वा बहिनी नाङ्गो छ र त्यसलाई दिनहुँको भोजनको अपुग छ
16. र तिमीहरूमध्ये कसैले त्यसलाई, ‘शान्तिसित जाऊ, न्यानो गरी बस, पेटभरि खाऊ’ मात्र भन्छ, तर त्यसको शरीरलाई चाहिने कुरा दिँदैन भने त्यसबाट के लाभ हुन्छ र?
17. यसरी नै विश्वास पनि कामरहितको छ भने स्वयम् मरेतुल्य हुन्छ।
18. तर कसैले भन्ला ‘तिमीसित विश्वास छ, मसित काम छन्। कामबिनाको तिम्रो विश्वास मलाई देखाऊ र मैले गरेको कामद्वारा म आफ्नो विश्वास तिमीलाई देखाउनेछु।’
19. परमेश्वर एकमात्र हुनुहुन्छ भनी तिमी विश्वास गर्छौ, त्यो असल हो। भूतात्माहरूले पनि त विश्वास गर्छन् र थरथर काम्छन्।
20. ए मूर्ख हो, कामबिनाको विश्वास व्यर्थ हुन्छ भनी के तिमी जान्दैनौ?
21. आफ्नो पुत्र इसहाकलाई वेदीमा अर्पण गर्दा के हाम्रा पुर्खा अब्राहाम उनका कामद्वारा धर्मी ठहरिएका होइनन् र?
22. तिमी देख्तछौ, कसरी उनका कामसँगसँगै विश्वासले कार्य गरिरहेको थियो र उनका कामद्वारा विश्वास सिद्ध पारियो।
23. अनि धर्मशास्त्रको यसो भन्ने वचन पूरा भयो, ‘‘अब्राहामले परमेश्वरमा विश्वास गरे अनि यो उनको निम्ति धार्मिकता गनियो’’ र उनी परमेश्वरका मित्र कहलिए।
24. तिमी देख्तछौ कि मानिस विश्वासद्वारा मात्र होइन, तर कामद्वारा धर्मी ठहरिँदो रहेछ।
25. त्यसैगरी राहाब वेश्याले पनि जब जासुसहरूलाई सत्कार गरिन् र अर्कै बाटो पठाइदिइन् तब के उनी कामद्वारा धर्मी ठहरिएकी होइनन् र?
26. किनकि जसरी आत्माबिना शरीर मरेको हुन्छ, त्यसरी नै कामबिना विश्वास मरेको हुन्छ।
|