1. अब तिमी धनीहरू हो, तिमीहरूमाथि आइपर्ने दु:ख-कष्टको निम्ति डाँको छोड्दै रोओ।
2. तिमीहरूका धन सडेका छन् र तिमीहरूका पोशाकहरू माउले खाएका छन्।
3. तिमीहरूका सुनचाँदीमा कस लागेको छ र त्यही कस तिमीहरूका विरुद्धमा साक्षी हुनेछ र आगोले जस्तै तिमीहरूको शरीर खानेछ। तिमीहरूले आखिरी दिनहरूका निम्ति धन साँचेका छौ।
4. हेर, तिमीहरूका खेतबारीमा बाली काट्नेहरूका ज्याला, जुन तिमीहरूले रोकेर राखेका थियौ, त्यसले तिमीहरूको विरुद्धमा चित्कार गर्नेछ र ती बाली काट्नेहरूको पुकारा सेनाहरूका कप्तान परमप्रभुको कानमा पुगेको छ।
5. तिमीहरू यस पृथ्वीका सुखविलास र मोजमज्जामा मस्त भएर जिएका छौ। बलिका दिनको निम्ति तिमीहरूले आफ्नो हृदयलाई पोसेका छौ।
6. तिमीहरूले धर्मी मानिसलाई दोषी ठहराएर मारेका छौ र तिनले विरोध गरेनन्।
7. यसैले भाइहरू हो, प्रभुको आगमन नभइञ्जेल धैर्य गर। हेर, किसानले भूमिको बहुमूल्य फसलको निम्ति अघिल्लो र पछिल्लो झरी नहोउञ्जेलसम्म धैर्य धारण गरेर पर्खिरहन्छ।
8. तिमीहरू पनि धैर्य धारण गर र आफ्नो हृदयलाई बलियो पार, किनकि प्रभुको आगमन नजिक छ।
9. भाइहरू हो, आफै दोषी नठहरिनको निम्ति तिमीहरू एउटाले अर्काको विरुद्धमा गनगन नगर। हेर, न्याय गर्ने ढोकामा नै हुनुहुन्छ।
10. भाइहरू हो, कष्ट भोगाइ र धैर्यको उदाहरणको निम्ति प्रभुको नाउँमा बोल्ने अगमवक्ताहरूलाई हेर।
11. हेर, हामी धैर्य धारण गर्नेहरूलाई धन्यको भन्छौं। तिमीहरूले अय्यूबको सहनशीलताको बारेमा सुनेका छौ र प्रभुका व्यवहारको परिणाम देखेका छौ कि उहाँ कति दयालु र कृपालु हुनुहुन्छ।
12. मेरा भाइहरू हो, सबै कुराभन्दा बढी स्वर्ग वा पृथ्वी वा अरु कुनै कुराको नाउँ लिएर शपथ नखाओ तर न्यायमा नपर्नलाई तिमीहरूको ‘हो,’ ‘हो’ नै होस् र ‘होइन’ ‘होइन’ नै होस्।
13. के तिमीहरूमा कसैले कष्ट भोगिरहेको छ? त्यसले प्रार्थना गरोस्। के कोही आनन्दित छ? त्यसले प्रशंसाको भजन गाओस्।
14. के तिमीहरूमा कोही बिरामी छ? त्यसले मण्डलीका एल्डरहरूलाई बोलाओस्। तिनीहरूले प्रभुको नाउँमा त्यसलाई तेलले अभिषेक गरी त्यसको निम्ति प्रार्थना गरून्।
15. अनि विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ र प्रभुले त्यसलाई निको पार्नुहुनेछ। यदि त्यसले पापै गरेको छ भने पनि त्यसलाई क्षमा हुनेछ।
16. यसकारण तिमीहरू एउटाले अर्कोसँग आ-आफ्ना पाप स्वीकार। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धर्मी मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।
17. एलिया हामीजस्तै स्वभाव भएका मानिस थिए, अनि तिनले पानी नपरोस् भनेर भक्तिसाथ प्रार्थना गरे र पृथ्वीमा तीन वर्ष छ महिनासम्म पानी परेन।
18. तिनले फेरि प्रार्थना गरे र आकाशबाट पानी बर्सियो र भूमिले उब्जनी दियो।
19. मेरा भाइहरू हो, यदि तिमीहरूमध्ये कोही सत्यताबाट तर्केर गएको छ र कसैले त्यसलाई फर्काएर ल्यायो भने
20. उसले यो जानोस् कि जसले एक जना पापीलाई कुमार्गबाट फर्काएर ल्याउँछ, त्यसलाई मृत्युबाट बचाउनेछ र असङ्ख्य पापलाई ढाक्नेछ।
|