1. तिमीहरूका बीचमा झगडा र लडाइँ कहाँबाट आउँछ? के तिमीहरूका अङ्गहरूमा सङ्घर्ष गर्ने अभिलाषाबाट नै होइन र?
2. तिमीहरू अभिलाषा गर्दछौ र पाउँदैनौ, यसैले तिमीहरू हत्या गर्दछौ। तिमीहरू ईर्ष्या गर्दछौ र पाउँदैनौ, त्यसैले तिमीहरू झगडा र लडाइँ गर्दछौ। तिमीहरूसित हुँदैन, किनकि तिमीहरू माग्दैनौ ।
3. तिमीहरू माग्छौ तर पाउँदैनौ, किनकि तिमीहरू आफ्नै अभिलाषाको निम्ति गलत अभिप्रायले माग्दछौ।
4. हे व्यभिचारी हो, संसारसितको मित्रता परमेश्वरसितको शत्रुता हो भन्ने के तिमीहरूलाई थाहा छैन? त्यसकारण जो संसारको मित्र हुने इच्छा गर्दछ त्यो परमेश्वरको शत्रु हुनेछ।
5. अथवा के तिमीहरूको धर्मशास्त्रले व्यर्थमा यसो भन्दछ भन्ने सोच्दछौ: ‘‘हामीमा परमेश्वरले राख्नुभएका आत्माको निम्ति उहाँ तीव्र डाह राख्नुहुन्छ।’’
6. तर उहाँले अझ बढ्ता अनुग्रह दिनुहुन्छ, त्यसकारण, उहाँ यसो भन्नुहुन्छ, ‘‘परमेश्वरले घमण्डीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।’’
7. यसकारण परमेश्वरको अधीनमा बस। शैतानको विरोध गर र त्यो तिमीहरूबाट भाग्नेछ।
8. परमेश्वरको नजिक आओ र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ, हे पापीहरू हो, तिमीहरूका हातहरू शुद्ध पार, हे दोमनकाहरू हो , तिमीहरूका हृदय पवित्र पार।
9. दु:खित होओ, शोकित होओ र रोओ, तिमीहरूका हाँसो शोकमा र तिमीहरूका आनन्द दु:खमा परिणत होस्।
10. प्रभुको उपस्थितिमा आफैलाई नम्र तुल्याओ र उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ।
11. हे भाइहरू हो, एक-अर्काको विरुद्धमा नबोल, किनकि भाइको विरुद्धमा बोल्ने वा भाइको न्याय गर्नेले व्यवस्थाको विरोध र न्याय गर्छ, तर यदि तिमीले व्यवस्थाको न्याय गर्यौ भने तिमी व्यवस्था पालन गर्ने होइन तर यसका न्यायाधीश हौ।
12. व्यवस्थादाता र न्यायाधीश एकै जना मात्र हुनुहुन्छ, जो बचाउन र नाश गर्न सक्षम हुनुहुन्छ, तर आफ्नो छिमेकीको न्याय गर्ने तिमी को हौ?
13. अब यसो भन्नेहरू हो ‘आज कि भोलि हामी फलानो शहरमा जाऔँला र त्यहाँ एक वर्ष बिताउँला, किनबेच गरौंला र नाफा कमाउँला।’
14. तापनि भोलि के हुने हो, तिमीहरू जान्दैनौ, तिम्रो जीवन के हो? तिमीहरू केवल वाफजस्ता हौ, जो केही क्षण देखा पर्छ र बिलाइहाल्छ।
15. यसको सट्टामा तिमीहरूले यसो भन्नुपर्थ्यो, ‘यदि प्रभुको इच्छा भयो भने हामी बाँचौंला र यस्तो वा उस्तो गरौंला।’
16. तर अहिले तिमीहरू आ-आफ्ना शेखीमा घमण्ड गर्छौ, त्यस्तो सबै शेखी दुष्टता हो।
17. त्यसकारण जसले भलाइ गर्न जानेर पनि गर्दैन, उसको निम्ति त्यो पाप हो।
|