1. निस्तार-चाडको अघि येशूले यस संसारलाई छाडेर पिताकहाँ फर्किने बेला आइपुग्यो भन्ने थाहा पाएर संसारमा भएका आफ्नाहरूलाई अन्तसम्मै प्रेम गर्नुभयो।
2. बेलुकीको भोजन हुँदै गर्दा शैतानले सिमोनको छोरो यहूदा इस्करियोतको मनमा येशूलाई धोका दिने विचार हालिसकेको थियो।
3. पिताले सबै थोक उहाँकै हातमा दिनुभएको छ र उहाँ परमेश्वरबाट आउनुभएको हो अनि परमेश्वरकहाँ जानुहुन्छ भन्ने कुरा येशूलाई थाहा थियो,
4. उहाँ भोजनबाट उठ्नुभयो, लुगा एकातिर राखेर तौलिया लिनुभयो र कम्मरमा बेर्नुभयो,
5. तब उहाँले बाटामा पानी खन्याउनुभयो र चेलाहरूका खुट्टा धुँदै तौलियाले पुछ्न थाल्नुभयो।
6. जब उहाँ सिमोन पत्रुसको अगाडि आइपुग्नुभयो, तिनले येशूलाई भने, ‘‘प्रभु, के तपाईंले मेरा खुट्टा धुनुहुने?’’
7. येशूले तिनलाई भन्नुभयो, ‘‘म के गर्दैछु, तिमी अहिले बुझ्दैनौ तर पछि बुझ्नेछौ।’’
8. पत्रुसले उहाँलाई भने, ‘‘हुँदैन, तपाईंले मेरा खुट्टा कहिल्यै धुनु हुनेछैन, तपाईंलाई म मेरा खुट्टा धुनु दिँदैदिन्नँ ।’’ येशूले तिनलाई जवाफ दिनुभयो, ‘‘यदि मैले तिम्रा खुट्टा धोइनँ भने मसित तिम्रो कुनै सम्बन्ध हुँदैन।’’
9. सिमोन पत्रुसले भने, ‘‘त्यसो भए प्रभु, मेरा खुट्टा मात्रै होइन, मेरा हात र शिरसमेत धोइदिनुहोस्।’’
10. येशूले जवाफ दिनुभयो, ‘‘नुहाइसकेको व्यक्तिले खुट्टा मात्र धोए पुग्छ, किनकि ऊ शुद्धै हुन्छ । तिमीहरू शुद्ध छौ तर सबै त होइन।’’
11. किनकि आफूलाई पक्राउनेलाई उहाँले चिन्नुभएको थियो, यसैकारण उहाँले ‘तिमीहरू सबै शुद्ध छैनौ’ भन्नुभयो।
12. तिनीहरूका खुट्टा धोइसकेपछि उहाँले आफ्नो लुगा लगाउनुभयो र आफ्नो ठाउँमा बसेर तिनीहरूलाई भन्नुभयो, ‘‘मैले तिमीहरूलाई के गरेको छु, के तिमीहरू जान्दछौ?
13. तिमीहरू मलाई गुरु र प्रभु भन्दछौ, तिमीहरूले ठीकै भन्दछौ, किनभने म उही हुँ।
14. यदि म तिमीहरूका प्रभु र गुरु भएर पनि तिमीहरूका खुट्टा धोएको छु भने तिमीहरूले पनि एक-अर्काको खुट्टा धुनुपर्छ।
15. किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु र जस्तो मैले तिमीहरूका निम्ति गरेँ, तिमीहरूले पनि त्यसै गर।
16. साँचो साँचो म तिमीहरूलाई भन्दछु, दास आफ्नो मालिकभन्दा ठूलो हुँदैन, न त खबर पुर्याउने पठाउनेभन्दा ठूलो हुन्छ।
17. यदि तिमीहरूले यी कुरा जान्यौ र ती गर्यौ भने तिमीहरू धन्यका हौ।
18. तिमीहरू सबैको विषयमा म भन्दिनँ। मैले चुनेकाहरूलाई म चिन्दछु, तर धर्मशास्त्रको यो कुरा पूरा होस् भनेर यसो भएको हो: ‘मसँग रोटी खानेले मेरो विरुद्धमा लात्ती उठायो।’
19. ‘म उही हुँ’ भनी तिमीहरूले विश्वास गर भनेर त्यो घटना हुनुभन्दा अघि अर्थात् अहिलेबाट नै तिमीहरूलाई भन्दछु।
20. साँचो साँचो म तिमीहरूलाई भन्दछु, मैले पठाएकोलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ र मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ।’’
21. येशूले यी कुरा भनिसक्नुभएपछि आत्मामा विचलित हुँदै गम्भीर भएर भन्नुभयो, ‘‘साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ ।’’
22. तब उहाँले कसको विषयमा भन्नुभएको होला भनी शङ्का गर्दै चेलाहरूले एक-अर्कालाई हेरे।
23. येशूले अति नै प्रेम गर्नुहुने चेलाहरूमध्ये एक जना उहाँको छातीमा अडेस लागेका थिए।
24. सिमोन पत्रुसले तिनै चेलालाई इशारा गर्दै भने,‘‘उहाँले कसको विषयमा भन्नुभएको हो, सोधन।’’
25. येशूको छातीमा अडेस लाग्नेले उहाँलाई सोधे, ‘‘प्रभु, त्यो को हो?’’
26. येशूले जवाफ दिनुभयो, ‘‘जसलाई म रोटीको टुक्रा चोपेर दिन्छु, त्यही हो।’’ अनि उहाँले रोटी चोपेर सिमोन इस्करियोतको छोरा, यहूदालाई दिनुभयो।
27. यहूदाले त्यो रोटी खाइसक्नेबित्तिकै शैतान त्यसभित्र पस्यो । तब येशूले त्यसलाई भन्नुभयो, ‘‘तिमीले जे गर्नुछ, चाँडै गरिहाल।’’
28. अब भोजनमा बस्नेहरू कसैले पनि उहाँले त्यसलाई कुन उद्देश्यले त्यसो भन्नुभयो, सो बुझेनन्,
29. किनभने कसै-कसैले यहूदासित थैली छ, यसैकारण येशूले त्यसलाई चाडको निम्ति जे कुरा चाहिन्छ सो किनोस् अथवा त्यसले गरीबहरूलाई केही देओस्, भन्नुभएको हो भनी सम्झे।
30. तब रोटीको टुक्रा लिएपछि त्यो तुरुन्तै बाहिर निस्क्यो। त्यसबेला रात परेको थियो।
31. यसकारण यहूदा बाहिर गएपछि येशूले भन्नुभयो, ‘‘अब मानिसको पुत्र महिमित भएको छ र परमेश्वर उसमा महिमित हुनुभएको छ।
32. यदि परमेश्वर उसमा महिमित हुनुभयो भने परमेश्वरले उसलाई आफैमा महिमित तुल्याउनुहुनेछ र तुरुन्तै महिमित तुल्याउनुहुनेछ।
33. साना बालकहरू हो, अब केही बेर मात्र म तिमीहरूसँग छु। तिमीहरूले मलाई खोज्नेछौ, ‘म जहाँ जान्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ, जसरी यो मैले यहूदीहरूलाई भनेको थिएँ, अब तिमीहरूलाई पनि भन्दछु।
34. म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिन्छु: तिमीहरू एक-अर्कालाई प्रेम गर। जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यसरी नै प्रेम गर।
35. यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्यौ भने यसैद्वारा सबै मानिसहरूले तिमीहरू मेरा चेलाहरू हौ भनी जान्नेछन्।’’
36. सिमोन पत्रुसले भने, ‘‘प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ?’’ येशूले जवाफ दिनुभयो, ‘‘म जहाँ जाँदैछु, त्यहाँ तिमी अहिले आउन सक्दैनौ। तर पछिबाट तिमीले मलाई पछयाउनेछौ।’’
37. पत्रुसले उहाँलाई भने, ‘‘प्रभु, म किन अहिले नै तपाईंको पछि लाग्न सक्दिनँ? म आफ्नो जीवन तपाईंको निम्ति अर्पण गर्नेछु।’’
38. येशूले जवाफ दिनुभयो, ‘‘के तिमीले, आफ्नो जीवन मेरोनिम्ति अर्पण गर्नेछौ? साँचो साँचो म तिमीलाई भन्दछु, तिमीले मलाई तीनपल्ट इन्कार नगरेसम्म भाले बास्नेछैन।’’
|