1. तेस्रो दिन गालीलको कानानगरमा एउटा विवाह थियो। येशूकी आमा त्यहाँ थिइन्।
2. येशू र उहाँका चेलाहरू पनि त्यस विवाहमा निम्त्याइएका थिए।
3. अङ्गुरमद्य सिद्धिएपछि येशूकी आमाले उहाँलाई भनिन्, ‘‘तिनीहरूसित अङ्गुरमद्य सिद्धिएछ।’’
4. येशूले तिनलाई भन्नुभयो, ‘‘हे नारी, किन मलाई समावेश गर्नुहुन्छ ? मेरो समय अझै आएको छैन ।’’
5. तर उहाँकी आमाले नोकरहरूलाई भनिन्, ‘‘उनले जे भन्छन्, त्यो गर्नू।’’
6. त्यहाँ यहूदी रीतिअनुसार चोख्याउनका लागि हरेकमा प्राय: एक सय लिटर पानी अटाउने छवटा ढुङ्गाका घ्याम्पाहरू राखिएका थिए ।
7. येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘यी घ्याम्पाहरू पानीले भर ।’’ तिनीहरूले घ्याम्पाहरूको मुखसम्मै पानीले भरे।
8. उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘अब त्यसबाट अलिकति उघाएर भोजका मुखियाकहाँ लैजाओ।’’ तिनीहरूले, उहाँले अह्राएबमोजिम गरे।
9. जब भोजका मुखियाले अङ्गुरमद्य बनाइएको पानी चाखे तब यो कहाँबाट आयो भन्ने थाहा पाएनन् तर पानी उघाउने नोकरहरूलाई यो कुरा थाहा थियो। उनले दुलहालाई बोलाए
10. र भने, ‘‘प्राय: मानिसले पाहुनालाई पहिले कडा अङ्गुरमद्य पिउन दिन्छन् र पिउनेहरूले मस्तसित पिएपछि कमसल खालको दिन्छन् तर तपाईंले त पछिसम्म पनि कडा अङ्गुरमद्य राखिछाड्नुभएको रहेछ।’’
11. उहाँले गर्नुभएका आश्चर्यकर्ममध्ये गालीलको कानानगरमा गरिएको यो चिन्ह पहिलो थियो। यसबाट उहाँले आफ्नो महिमा देखाउनुभयो र उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे।
12. येशू त्यस विवाह-भोजपछि आफ्नी आमा, भाइहरू र चेलाहरूसँग कफर्नहुममा जानुभयो र त्यहाँ केही दिन बस्नुभयो।
13. यहूदीहरूको निस्तार-चाड नजिकै थियो र येशू यरूशलेममा जानुभयो।
14. उहाँले मन्दिर परिसरमा गोरु, भेडा र ढुकुर बेच्ने तथा पैसा सटही गर्नेहरूलाई देख्नुभयो,
15. तब उहाँले डोरीको कोर्रा बनाउनुभयो र ती सबैलाई, तिनीहरूका भेडा र गोरुहरूलाई समेत मन्दिरबाट लखेट्नुभयो अनि टेबुल पल्टाएर पैसा पनि छरपस्ट पारिदिनुभयो।
16. तब ढुकुर बेच्ने ती मानिसहरूको नजिक गएर उहाँले भन्नुभयो, ‘‘यी सबै चीज यहाँबाट बाहिर लैजाओ, मेरा पिताको घरलाई बजार नबनाओ।’’
17. चेलाहरूले धर्मशास्त्रमा लेखिएको यो कुरा सम्झिए, ‘‘तपाईंका घरको जोशले मलाई जलाउनेछ ।’’
18. त्यसपछि यहूदीहरूले उहाँलाई सोधे, ‘‘यो काम गर्न तपाईंसँग हामीलाई देखाउने के आश्चर्यमय चिन्ह छ ?’’
19. येशूले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो, ‘‘त्यसो भए ठीक छ, यो मन्दिर नष्ट पार र तीन दिनमा म फेरि यसलाई खडा गर्नेछु।’’
20. तिनीहरूले चकित हुँदै भने, ‘‘यो मन्दिर बनाउन छयालीस वर्ष लागेको थियो अनि के तिमी तीन दिनभित्रै यसलाई खडा गर्न सक्छौ?’’
21. तर येशूले आफ्नै शरीरको मन्दिरका बारेमा कुरा गरिरहनुभएको थियो।
22. उहाँले भन्नुभएको त्यो कुरा उहाँ मृत्युबाट जीवित हुनुभएपछि मात्र चेलाहरूले सम्झे र तिनीहरूले येशूले बोल्नुभएको वचन र धर्मशास्त्रमा विश्वास गरे।
23. उहाँले निस्तार-चाडको अवसरमा यरूशलेममा गर्नुभएका आश्चर्यकर्महरू देखेर धेरै मानिसहरूले उहाँको नाउँमा विश्वास गरे।
24. तर येशूले ती मानिसहरूमाथि विश्वास गर्नुभएन, किनकि उहाँलाई ती कस्ता मानिसहरू हुन् भन्ने कुरा थाहा थियो ।
25. उहाँलाई मानिसको विषयमा कसैको गवाहीको आवश्यकता थिएन, किनकि मानिसको मनमा के हुन्छ भनी उहाँले जान्नुहुन्थ्यो।
|