1. त्यहाँ फरिसीहरूमध्येका एक, निकोदेमस नाउँ भएका यहूदीहरूका शासक थिए,
2. तिनी राती येशूकहाँ आए र उहाँलाई भने, ‘‘गुरुज्यू, हामी जान्दछौं कि तपाईं परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनुभएन भने तपाईंले गर्नुभएका यी चिन्हहरू कसैले पनि गर्न सक्दैन।’’
3. येशूले जवाफ दिनुभयो, ‘‘साँचो साँचो म तिमीलाई भन्दछु, कोही मानिस नयाँ गरी नजन्मिएसम्म परमेश्वरको राज्य देख्न सक्दैन।’’
4. निकोदेमसले छक्क पर्दै भने, ‘‘बूढो भइसकेको मानिस फेरि कसरी जन्मिन सक्छ? के ऊ आफ्नी आमाको गर्भमा दोस्रोचोटि पसेर जन्मिनु सक्छ र?’’
5. येशूले जवाफ दिनुभयो, ‘‘साँचो साँचो म तिमीलाई भन्दछु, कोही मानिस पानी र आत्माद्वारा नजन्मिएसम्म परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन।
6. त्यो, जो शरीरबाट जन्मिन्छ, शरीर नै हो र त्यो, जो आत्माबाट जन्मिन्छ, आत्मा नै हो।
7. ‘तिमी नयाँ गरी जन्मिनुपर्छ’ भन्ने मेरो भनाइमा अचम्म नमान।
8. जसरी तिमी हावा चलेको सुन्दछौ तर त्यो कहाँबाट आउँछ र कहाँ जान्छ भनि भन्न सक्दैनौ, त्यसरी नै आत्माबाट जन्मिएको हरेक मानिस पनि त्यस्तै हुन्छ।’’
9. निकोदेमसले भने, ‘‘कसरी यी कुरा हुन सक्छन्?’’
10. येशूले जवाफ दिनुभयो, ‘‘तिमी इस्राएलको शिक्षक भएर पनि यी कुरा बुझ्दैनौ?
11. साँचो साँचो म तिमीलाई भन्दछु, हामीले जानेका कुरा बोल्दछौं, देखेका कुराको साक्षी दिन्छौं तर पनि तिमीले हाम्रो साक्षी स्वीकार गर्दैनौ।
12. यदि मैले सांसारिक कुराभन्दा त तिमीहरू विश्वास गर्दैनौ भने स्वर्गका कुरा गर्दा कसरी विश्वास गरौला ?
13. स्वर्गबाट ओर्लिआएको मानिसको पुत्रबाहेक अरु कोही पनि स्वर्गमा उचालिएको छैन।
14. जसरी मोशाले उजाड-स्थानमा सर्पलाई उचाले त्यसरी नै मानिसको पुत्र पनि उचालिनुपर्दछ।
15. यसैले कि जसले विश्वास गर्छ, त्यसले उहाँमा अनन्त जीवन पाओस्।
16. किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले एकमात्र पुत्रलाई दिनुभयो, जसले उहाँमा विश्वास गर्छ, नाश हुनेछैन तर अनन्त जीवन पाउँदछ,
17. किनकि परमेश्वरले संसारलाई दोषी ठहर्याउन आफ्नो पुत्रलाई पठाउनुभएन तर पुत्रद्वारा संसार बचाइयोस् भनी पठाउनुभयो ।
18. उहाँमा विश्वास गर्नेको न्याय हुँदैन, उहाँमाथि विश्वास नगर्नेको न्याय अघिबाटै भएको छ किनभने उसले परमेश्वरको एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन।
19. न्याय यही हो कि संसारमा ज्योति आएको छ, मानिसहरूले ज्योतिलाई भन्दा अन्धकारलाई रुचाए, किनकि तिनीहरूका कामहरू दुष्ट थिए।
20. हरेक जसले दुष्ट काम गर्छ, उसले ज्योतिलाई घृणा गर्छ र ज्योतिमा आउँदैन, नत्र त उसका कामहरू प्रकट हुन्छन्।
21. तर जसले सत्य काम गर्दछ, ऊ ज्योतिमा आउँछ, यसैले कि उसका कामहरू परमेश्वरमा गरिएका हुन् भन्ने कुरा प्रकट होऊन्।’’ यूहन्नाको अन्तिम गवाही
22. यी कुरा भइसकेपछि येशू र उहाँका चेलाहरू यहूदियामा आए र उहाँले तिनीहरूसँग त्यहाँ केही समय बिताउँदै गर्दा बप्तिस्मा दिनुभयो।
23. यूहन्नाले पनि सालीमको नजिक एनोनमा बप्तिस्मा दिइरहेका थिए, किनभने त्यहाँ प्रशस्त पानी थियो र मानिसहरू उनीकहाँ आएर बप्तिस्मा लिन्थे,
24. किनभने यूहन्ना अझसम्म झ्यालखानमा परेका थिएनन्।
25. त्यही बेला यूहन्नाका चेलाहरूको एक जना यहूदी अगुवासँग शुद्धीकरणको बारेमा वादविवाद भयो।
26. तिनीहरूले यूहन्नाकहाँ आएर भने, ‘‘गुरुज्यू, हेर्नोस् त,यर्दनपारि तपाईंसँग हुने,तपाईंले नै साक्षी दिएका, ती मानिसले बप्तिस्मा दिइरहेका छन् र सबै उनैकहाँ गइरहेका छन्।’’
27. यूहन्नाले जवाफ दिए, ‘‘मानिसलाई स्वर्गबाट नदिइएसम्म त्यसले कुनै कुरा पाउन सक्दैन।
28. ‘म ख्रीष्ट होइनँ तर उहाँको अघि पठाइएको हुँ’ भनी मैले भनेको कुराको साक्षी तिमीहरू छौ।
29. जससँग दुलही छ, दुलहा त्यही हो। तर दुलहाको साथी, जो ऊसँग रहन्छ र उसको कुरा सुनेर अत्यन्त आनन्दित हुन्छ, त्यसैमा मेरो आनन्द पूरा भएको छ।
30. उहाँ बढ्नुपर्छ तर म घट्नुपर्छ।
31. जो माथिबाट आउनुहुन्छ, उहाँ सबैभन्दा उच्च हुनुहुन्छ, पृथ्वीबाट आउने पृथ्वीकै हो र पृथ्वीकै कुरा बोल्छ। स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ।
32. उहाँले जे देख्नु र सुन्नुभएको छ, त्यसैको साक्षी दिनुहुन्छ तर कसैले पनि उहाँको साक्षी ग्रहण गर्दैन।
33. जसले उहाँको साक्षी ग्रहण गरेको छ, त्यसले ‘परमेश्वर सत्य हुनुहुन्छ’ भनी छाप लगाइसकेको छ,
34. किनकि परमेश्वरबाट पठाइएकाले परमेश्वरकै वचन बोल्दछ, किनभने उहाँले बिनानाप आत्मा दिनुहुन्छ ।
35. पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र सबै थोक उहाँकै हातमा दिनुभएको छ।
36. पुत्रमा विश्वास गर्नेसित अनन्त जीवन छ र पुत्रमा विश्वास नगर्नेले जीवन देख्नेछैन तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ।’’
|