1. हप्ताको पहिलो दिन बिहानै मिर्मिरेमा मरियम मग्दलिनी चिहानमा आइन् र चिहानको मुखमा राखिएको ढुङ्गो हटाइएको देखिन्।
2. तिनी त्यहाँबाट दौडिन् अनि सिमोन पत्रुस र येशूले प्रेम गर्नुहुने चेलाकहाँ आइन् अनि तिनीहरूलाई भनिन्, ‘‘तिनीहरूले प्रभुको लाशलाई चिहानबाट लगेछन् र कहाँ राखेका छन् हामीलाई थाहा छैन।’’
3. सिमोन पत्रुस र अर्को चेला चिहान भएतिर दौडेर गए।
4. ती दुवै सँगसँगै दगुरे अनि त्यो अर्को चेलाले पत्रुसलाई उछिनेर चिहानमा पहिले आइपुगे।
5. तिनले निहुरेर हेरे, त्यहाँ सुतीको कात्रो मात्रै लत्रिएको देखे, तर तिनी भित्र पसेनन्।
6. तब तिनको पछि-पछि सिमोन पत्रुस आइपुगे र चिहानभित्र पसे। तिनले पनि कात्रो मात्रै त्यहाँ पडिरहेको देखे।
7. उहाँको शिरमा बाँधिएको रुमाल कात्रोसँग होइन तर अलग्गै एक ठाउँमा पट्टयाएर राखिएको थियो।
8. तब चिहानमा पहिले आइपुग्ने अर्को चेला पनि भित्र पसे र त्यो देखेर तिनले विश्वास गरे,
9. किनभने उहाँ मृतकबाट पुनर्जीवित हुनुपर्छ भन्ने धर्मशास्त्रको वचन अहिलेसम्म तिनीहरूले बुझेका थिएनन्।
10. त्यसपछि ती चेलाहरू आ-आफ्ना घर गए।
11. तब मरियम रुँदै चिहानबाहिर उभिरहेकी थिइन् र रुँदै तिनले निहुरेर चिहानभित्र हेरिन्।
12. अनि जहाँ येशूको लाश राखिएको थियो, त्यहाँ सेता वस्त्र लाएका दुई स्वर्गदूतहरूलाई एउटा शिरतिर, अनि अर्को पाउतिर बसिरहेको तिनले देखिन्।
13. उनीहरूले तिनलाई भने, ‘‘हे नारी, तिमी किन रुन्छयौ?’’ तिनले उनीहरूलाई भनिन्, ‘‘तिनीहरूले मेरा प्रभुलाई लगेछन् र उहाँलाई कहाँ राखेका छन्, म जान्दिनँ।’’
14. यति भनि सकेर तिनले पछाडि फर्केर हेरिन् र आफ्नो पछि कोही उभिरहेको देखिन्, उहाँ येशू हुनुहुन्थ्यो तर तिनले उहाँलाई चिनिनन्।
15. येशूले तिनलाई ‘‘हे नारी, तिमी किन रुन्छयौ? तिमी कसलाई खोज्दैछयौ?’’ तिनले उहाँलाई बगँैचामा काम गर्ने माली भनी ठानेर सोधिन्, ‘‘हजूर, यदि तपाईंले उहाँको लाशलाई यहाँबाट लैजानुभएको भए, कहाँ राख्नुभएको छ? मलाई भनिदिनुहोस् र म उहाँलाई लैजानेछु।’’
16. येशूले भन्नुभयो, ‘‘हे मरियम !’’ तिनी उहाँतिर फर्किन् र भनिन्, ‘‘रब्बोनी (अर्थात् गुरुज्यू)!’’
17. येशूले तिनलाई भन्नुभयो, ‘‘मलाई नछोऊ, किनभने म अझै माथि पिताकहाँ गएको छैनँ। बरु मेरा भाइहरूकहाँ जाऊ र तिनीहरूलाई भनिदेऊ, म मेरा र तिमीहरूका पिता अनि मेरा र तिमीहरूका परमेश्वरकहाँ माथि जान्छु।’’
18. मरियम मग्दलिनी आइन् र भनिन्, ‘‘मैले प्रभुलाई देखेँ !’’ अनि तिनले, उहाँले भन्नुभएको कुरा चेलाहरूलाई बताइन्।
19. हप्ताको पहिलो दिन साँझमा येशूका चेलाहरू यहूदीहरूको डरले ढोका थुनेर बसिरहेका बेला अचानक येशू तिनीहरूका माझमा आएर उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, ‘‘तिमीहरूलाई शान्ति होस् !’’
20. यति भनिसक्नुभएपछि उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा देखाउनुभयो। तिनीहरू प्रभुलाई देखेर अत्यन्तै खुशी भए।
21. तब येशूले फेरि तिनीहरूलाई भन्नुभयो, ‘‘तिमीहरूलाई शान्ति होस्, जसरी मेरा पिताले मलाई पठाउनुभयो, त्यसरी नै म पनि तिमीहरूलाई पठाउँछु।’’
22. अनि यसो भनेर उहाँले तिनीहरूमाथि श्वास फुकिदिनुभयो र तिनीहरूलाई भन्नुभयो, ‘‘पवित्र आत्मा लेओ।
23. यदि तिमीहरूले कसैको पाप क्षमा गर्यौ भने तिनीहरूलाई क्षमा हुनेछ। यदि तिमीहरूले तिनीहरूका पाप क्षमा गरेनौ भने तिनीहरूका पाप क्षमा हुनेछैन।’’
24. येशू देखा पर्नुभएको बेला बाह्रमध्येका एक, दिदुमस भनिने थोमा तिनीहरूको बीचमा थिएनन्।
25. यसकारण अरु चेलाहरूले तिनलाई भने, ‘‘हामीले प्रभुलाई देख्यौं !’’ तर तिनले तिनीहरूलाई भने, ‘‘जबसम्म म उहाँका हातमा काँटीहरूका डोब देख्दिनँ र आफ्नो औँला ती काँटीहरूका डोबमा राख्दिनँ अनि आफ्नो हात उहाँको कोखामा हाल्दिनँ तबसम्म म विश्वास गर्नेछैनँ। ’’
26. त्यसको आठ दिनपछि उहाँका चेलाहरू फेरि कोठाभित्र थिए र तिनीहरूसँग थोमा पनि थिए। ढोकाहरू बन्द भएकैमा येशू आउनुभयो, बीचमा उभिएर भन्नुभयो, ‘‘तिमीहरूलाई शान्ति होस् !’’
27. तब उहाँले थोमालाई भन्नुभयो, ‘‘तिम्रा आैंलाहरू यहाँ हाल, मेरा हातहरू हेर। तिम्रा हात मेरा कोखामा हाल। अबदेखि उसो शङ्कालु नहोऊ तर विश्वास गर।’’
28. थोमाले उहाँलाई भने, ‘‘मेरा प्रभु र मेरा परमेश्वर !’’
29. तब येशूले तिनलाई भन्नुभयो, ‘‘तिमीले मलाई देख्यौ, त्यसकारण विश्वास गर्यौ ? तर मलाई नदेखिकन पनि विश्वास गर्नेहरू धन्यका हुन्।’’
30. येशूले आफ्ना चेलाहरूका अघि अरु पनि धेरै चिन्हहरू गर्नुभयो, जुन यस पुस्तकमा लेखिएका छैनन्।
31. तर तिमीहरूले येशू नै परमेश्वरका पुत्र ‘ख्रीष्ट’ हुनुहुन्छ भनी विश्वास गर अनि विश्वास गरेर उहाँको नाउँमा जीवन पाओ भनी यी लेखिएका हुन्।
|