1. यी कुरापछि येशूले फेरि पनि आफूलाई तिबेरियास समुद्रको छेउमा चेलाहरूकहाँ यसरी प्रकट गर्नुभयो :
2. सिमोन पत्रुस, दिदुमस भनिने थोमा, गालीलको कानानगरका नथानेल, जब्दियाका दुई छोराहरू र उहाँका चेलाहरूमध्ये अरु दुई जना एकसाथ थिए।
3. सिमोन पत्रुसले तिनीहरूलाई भने, ‘‘म माछा मार्न जान्छु।’’ तिनीहरूले उनलाई भने, ‘‘हामी पनि तिमीसितै जान्छौं।’’ तिनीहरू गए र तुरुन्तै एउटा डुङ्गामा चढे, अनि त्यो रात तिनीहरूले एउटै पनि माछा पक्रेनन्।
4. बिहान मिर्मिरेमा चेलाहरूले येशूलाई किनारमा उभिरहनुभएको देखे तर उहाँ, येशू नै हुनुहुन्छ भनी तिनीहरूले चिनेनन्।
5. येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘बालक हो, के तिमीहरूसँग केही माछा छ?’’ तिनीहरूले जवाफ दिए, ‘‘छैन।’’
6. उहाँले तिनीहरूलाई भन्नुभयो, ‘‘जाल डुङ्गाको दाहिनेपट्टि हान र पाउनेछौ।’’ तब तिनीहरूले जाल हाने, अनि माछाहरूको थुप्रोले गर्दा तिनीहरूले जाल तान्न सकेनन्।
7. तब येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, ‘‘उहाँ त प्रभु पो हुनुहुँदोरहेछ !’’ जब पत्रुसले ‘उहाँ प्रभु हुनुहुँदोरहेछ’ भन्ने सुने, तब तिनले आफ्नो वस्त्र कम्मरमा बेह्रे (किनकि काम गर्दा तिनले वस्त्र खोलेका थिए) र समुद्रमा हामफाले।
8. अरु चेलाहरू माछाले भरिएको जाल तान्दै सानो डुङ्गामा चढेर किनारमा आए (किनकि तिनीहरू किनारबाट लगभग एक सय मिटरजति टाढा थिए)।
9. तिनीहरू किनारमा आइपुग्दा रोटी र भुङ्ग्रोमाथि माछा राखिएको देखे।
10. येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘तिमीहरूले अहिले पक्रेका केही माछा यहाँ ल्याओ।’’
11. सिमोन पत्रुस डुङ्गामा चढेर एक सय त्रिपन्नवटा ठूलठूला माछाले भरिएको जाल किनारमा तान्दै ल्याए र धेरै माछा मारे तापनि जाल फाटेन।
12. येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘आएर खाओ।’’ अनि उहाँ प्रभु हुनुहुन्छ भनी जानेर चेलाहरूमध्ये कसैले पनि ‘‘तपाईं को हुनुहुन्छ?’’ भनी उहाँलाई सोध्ने आँट गरेनन्।
13. येशू आएर रोटी लिई तिनीहरूलाई दिनुभयो र त्यसरी नै माछा पनि दिनुभयो।
14. मृतकबाट पुनर्जीवित हुनुभएपछि येशू चेलाहरूकहाँ देखा पर्नुभएको यो तेस्रोपल्ट हो।
15. अनि तिनीहरूले खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्नुभयो, ‘‘ए यूहन्नाको छोरो सिमोन, के तिमी मलाई यिनीहरूभन्दा बढ्ता साँचो प्रेम गर्छौ?’’ पत्रुसले भने, ‘‘ज्यू प्रभु, तपाईं जान्नुहुन्छ, म तपाईंलाई प्रेम गर्छु।’’ उहाँले भन्नुभयो, ‘‘मेरा थुमाहरूलाई खुवाऊ।’’
16. येशूले दोस्रोपल्ट तिनलाई भन्नुभयो, ‘‘ए यूहन्नाको छोरो सिमोन, के तिमी मलाई साँचो प्रेम गर्छौ?’’ पत्रुसले भने, ‘‘ज्यू प्रभु, तपाईंलाई थाहा छ, म तपाईंलाई प्रेम गर्छु।’’ येशूले तिनलाई भन्नुभयो, ‘‘मेरा भेडाहरूको हेरचाह गर।’’
17. येशूले फेरि तेस्रोपल्ट पत्रुसलाई भन्नुभयो, ‘‘ए यूहन्नाको छोरो सिमोन, के तिमी मलाई प्रेम गर्छौ?’’ पत्रुस दु:खित भए, किनकि उहाँले तेस्रोपल्ट तिनलाई ‘के तिमी मलाई प्रेम गर्छौ ?’ भन्नुभयो। तिनले उहाँलाई भने, ‘‘प्रभु, तपाईं सब कुरा जान्नुहुन्छ, म तपाईंलाई प्रेम गर्दछु भनी तपाईंलाई थाहै छ।’’ येशूले तिनलाई भन्नुभयो, ‘‘मेरा भेडाहरूलाई चराऊ।
18. साँचो साँचो म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ, तब तिमी आफैले पटुका कस्थ्यौ, जहाँ मन लाग्यो त्यहीँ जान्थ्यौ तर बूढो भएपछि तिमीले आफ्ना हात पसार्नेछौ अनि अर्को एक जनाले तिम्रो पटुका कसिदिनेछ र तिमीलाई मन नलागेको ठाउँमा लैजानेछ।’’
19. कुन किसिमको मृत्युद्वारा तिनले परमेश्वरको महिमा गर्नेछन्, त्यसको सङ्केत गर्दै उहाँले यो भन्नुभएको थियो। यति भनेर उहाँले तिनलाई भन्नुभयो, ‘‘मेरोपछि लाग !’’
20. पत्रुसले पछि फर्केर हेर्दा येशूले प्रेम गर्नुहुने चेलालाई पछि-पछि आउँदै गरेका देखे। तिनले नै बेलुकीको भोजनको समयमा उहाँको छातीमा ढल्केर, ‘‘प्रभु, तपाईंलाई धोका दिने चेला को हो?’’ भनी सोधेका थिए।
21. तिनलाई देखेर पत्रुसले येशूलाई सोधे, ‘‘प्रभु, यिनले के गर्नेछन् त?’’
22. येशूले जवाफ दिनुभयो, ‘‘यदि म नआउन्जेल यिनी बाँचिरहून् भन्ने इच्छा मैले गरेँ भने पनि तिमीलाई यसको के चासो? तिमी मेरोपछि लाग !’’
23. यसरी ‘तिनी मर्दैनन्’ भन्ने कुरा भाइहरूको बीचमा फैलियो तापनि येशूले तिनी मर्नेछैनन् भनी भन्नुभएको थिएन। ‘‘यदि म नआउन्जेल यिनी बाँचिरहून् भन्ने इच्छा मैले गरेँ भने पनि तिमीलाई यसको के चासो?’’ मात्र भन्नुभएको थियो।
24. यी कुराको विषयमा गवाही दिने र लेख्ने चेला यिनै हुन् अनि हामी जान्दछौं कि तिनको गवाही सत्य छ।
25. येशूले गर्नुभएका अरु पनि धेरै कामहरू छन्, यदि ती सबै एक-एक गरी विस्तृतरूपमा लेखिएका भए, मेरो विचारमा लेखिएका ती पुस्तकहरू संसारमा अटाउने थिएनन्।
|