1. येशूले जाँदै गर्नुहुँदा एक जना जन्मैदेखिको अन्धो मानिसलाई देख्नुभयो।
2. चेलाहरूले उहाँलाई सोधे, ‘‘गुरुज्यू, यो मानिस कसको पापले गर्दा अन्धो जन्मेको हो? के त्यसको आफ्नै पापले गर्दा हो कि त्यसका आमा-बुबाले गरेको पापले गर्दा ?’’
3. येशूले जवाफ दिनुभयो, ‘‘न त यस मानिसले, न यसका आमा-बुबाले गरेका पापले गर्दा हो। तर परमेश्वरका कामहरू यसमा प्रकट होऊन् भनी यसो भएको हो।
4. मैले, मलाई पठाउनुहुनेको कामहरू दिन छँदै गरिहाल्नुपर्छ। रात आउँदै छ, तब कसैले काम गर्न सक्दैन।
5. जब म संसारमा छु, म संसारको ज्योति हुँ।’’
6. यी कुरा भनेपछि उहाँले भुइँमा थुक्नुभयो अनि थुकले माटोको हिलो बनाएर अन्धा मानिसका आँखाहरूमा लगाइदिनुभयो।
7. अनि उहाँले त्यसलाई भन्नुभयो, ‘‘जाऊ र सिलोआम(सिलोआमको अर्थ ‘पठाइएको’ भन्ने हुन्छ)को तलाउमा गएर धोऊ।’’ त्यो तलाउमा गयो र आँखा धोयो अनि देख्नसक्ने भएर आयो।
8. त्यसका छरछिमेकी र त्यसलाई भीख मागेको देख्नेहरूले भने, ‘‘बसेर भीख माग्ने मानिस के यही होइन र?’’
9. कसै-कसैले भने, ‘‘यो त्यही हो।’’ अरुहरूले भने, ‘‘होइन, तर यो त्यहीजस्तो देखिन्छ।’’ तर उसले भन्यो, ‘‘म, उही हुँ।’’
10. तब तिनीहरूले त्यसलाई सोधे, ‘‘तेरा आँखाहरू कसरी खोलिए त?’’
11. त्यसले जवाफ दियो, ‘‘येशू भन्ने एउटा मानिसले मेरा आँखामा माटो मुछेर लगाइदिनुभयो र ‘सिलोआमको तलाउमा पखाल’ भन्नुभयो । मैले गएर पखालेँ र देख्नसक्ने भएँ ।’’
12. तिनीहरूले त्यसलाई सोधे, ‘‘उनी कहाँ छन्?’’ त्यसले भन्यो, ‘‘मलाई थाहा छैन।’’
13. तिनीहरूले पहिले अन्धा भएको त्यस मानिसलाई फरिसीहरूकहाँ ल्याए।
14. जुन दिन येशूले हिलो बनाएर त्यसका आँखा खोलिदिनुभएको थियो, त्यो विश्राम-दिन थियो।
15. फेरि फरिसीहरूले त्यसलाई सोधे, ‘‘तँ कसरी देख्ने भइस्?’’ त्यसले तिनीहरूलाई भन्यो, ‘‘उहाँले मेरा आँखाहरूमा हिलो लगाइदिनुभयो, अनि मैले धोएँ र म देख्ने भएँ।’’
16. यसकारण फरिसीहरूमध्ये कतिले भने, ‘‘त्यो मानिस परमेश्वरबाटको होइन, किनभने त्यसले विश्राम-दिन पालन गर्दैन।’’ अरुहरूले भने, ‘‘कसरी पापी मानिसले यस्तो चिन्हहरू गर्नसक्छ र?’’ अनि तिनीहरूको बीचमा मतभेद भयो।
17. तिनीहरूले त्यसलाई फेरि सोधे, ‘‘तेरा आँखा खोलिदिने त्यस मानिसको विषयमा तँ आफै के भन्छस्?’’ त्यसले जवाफ दियो, ‘‘उहाँ अगमवक्ता हुनुहुन्छ।’’
18. त्यसको विषयमा यहूदीहरूले त्यसका आमा-बुबालाई बोलाएर नसोधुन्जेल त्यो अन्धो थियो र देख्ने भयो भन्ने कुरामा विश्वास गरेनन्।
19. तब तिनीहरूले उनीहरूलाई यसो भन्दै सोधे, ‘‘के यो तिमीहरूको छोरो हो, जो ‘अन्धो जन्मेको थियो’ भनी तिमीहरू भन्दछौ? तब कसरी उसले अहिले देख्छ त?’’
20. त्यसका आमा-बुबाले तिनीहरूलाई जवाफ दिए, ‘‘हामी जान्दछौं, यो हाम्रै छोरो हो र यो अन्धै जन्मेको थियो।
21. तर अब यसले कसरी देख्तछ हामी जान्दैनौ, अथवा यसका आँखाहरू कसले खोलिदिए, त्यो पनि हामी जान्दैनौ, यसको उमेर पुगेको छ, यसैलाई सोध्नुहोस्, आफ्नो विषयमा त्यो आफै बोल्नेछ।’’
22. त्यसका आमा-बुबाले यी कुरा भने, किनकि उनीहरू यहूदीहरूसँग डराउँथे, किनभने यहूदीहरूले येशूलाई ख्रीष्ट भनी स्वीकार गर्नेहरूलाई सभाघरबाट निकाल्ने अघिबाटै मतो गरिसकेका थिए।
23. यसैकारण त्यसका आमा-बुबाले भने, ‘‘यसको उमेर पुगेको छ, यसैलाई सोध्नुहोस्।’’
24. तब तिनीहरूले त्यस मानिसलाई फेरि बोलाएर भने, ‘‘परमेश्वरलाई महिमा देऊ। हामी जान्दछौं कि त्यो मानिस पापी हो।’’
25. त्यसले जवाफ दिँदै भन्यो, ‘‘उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्न, म जान्दिनँ, एउटा कुरा मात्र म जान्दछु, कि म अन्धो थिएँ, अब देख्तछु।’’
26. तब तिनीहरूले त्यसलाई भने, ‘‘उसले तँलाई के गर्यो? उसले तेरा आँखाहरू कसरी खोलिदियो?’’
27. त्यसले भन्यो, ‘‘हेर्नुहोस्, मैले अघि नै भनेँ, तपाईंहरूले सुन्नुभएन। फेरि किन सुन्न चाहनुहुन्छ? के तपाईंहरू पनि उहाँका चेला बन्न चाहनुहुन्छ?’’
28. तब तिनीहरूले त्यसलाई हप्काउँदै भने, ‘‘तँ पो उसको चेला होस्, तर हामी त मोशाका चेलाहरू हौं।
29. परमेश्वर मोशासित बोल्नुभयो,त्यो हामीलाई थाहा भएकै कुरा हो, तर त्यो मानिस कहाँबाट आएको हो त्यो हामीलाई थाहा छैन।’’
30. त्यस मानिसले तिनीहरूलाई भन्यो, ‘‘कस्तो अचम्मको कुरा, तपाईंहरूले उहाँ कहाँबाट आउनुभएको हो भनेर पनि जान्नुहुन्न, तापनि उहाँले मेरा आँखा खोलिदिनुभयो।
31. हामीलाई थाहा छ कि परमेश्वरले पापीहरूलाई सुन्नुहुन्न। तर उहाँले ईश्वरभक्त र उहाँको इच्छा पालन गर्ने मानिसका कुरा सुन्नुहुन्छ।
32. आजसम्म कसैले जन्मैको अन्धाको आँखा खोलिदिएको कुरा कहिल्यै सुनिएको छैन।
33. यदि उहाँ परमेश्वरबाट नआउनुभएको भए त उहाँले केही पनि गर्न सक्नुहुने थिएन।’’
34. तिनीहरूले त्यसलाई भने, ‘‘तँ त पूर्णरूपले पापैमा जन्मिएको थिइस् । के तँ हामीलाई सिकाउँछस्?’’ यसो भनेर तिनीहरूले त्यसलाई बाहिर निकालिदिए। आत्मिक अन्धोपन
35. तिनीहरूले त्यसलाई बाहिर निकालिदिएको कुरा येशूले सुन्नुभयो र त्यसलाई भेट्टाएपछि भन्नुभयो, ‘‘के तिमी मानिसको पुत्रमाथि विश्वास गर्छौ?’’
36. त्यसले जवाफ दियो, ‘‘प्रभु, उहाँ को हुनुहुन्छ? म पनि उहाँमा विश्वास गर्नसकूँ।’’
37. येशूले त्यसलाई भन्नुभयो, ‘‘तिमीले उसलाई देखेका छौ र तिमीसँग बोल्ने उही हो।’’
38. त्यसले येशूलाई भन्यो, ‘‘प्रभु, म विश्वास गर्छु।’’ अनि त्यसले उहाँलाई दण्डवत् गर्यो।
39. येशूले त्यसलाई भन्नुभयो, ‘‘म न्याय गर्नको निम्ति संसारमा आएँ, यसैले कि नदेख्नेहरूले देखून् र देख्नेहरू अन्धा होऊन्।’’
40. उहाँसँग भएका फरिसीहरूले यी कुरा सुने र उहाँलाई सोधे, ‘‘के हामी पनि अन्धा हौं र?’’
41. येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘यदि तिमीहरू अन्धा हुँदा हौ त तिमीहरूमा पाप हुने थिएन तर अब हामी देख्छौं भनी तिमीहरू भन्छौ। यसकारण तिमीहरूका पाप रहिरहन्छ।
|